केन्द्रीय संस्करण

अखिल क्रान्तिकारीका अन्तिम अध्यक्षलाई खुलापत्र

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline1

२०७६/०२/०३

आदरणिय अनेरास्ववियु ( क्रान्तिकारी)का प्रथम निर्वाचित तथा अन्तिम अध्यक्ष रञ्जित तामाङज्यू ! क्रान्तिकारी न्यानो अभिवादन ! लिएको छु ।

आराम छु आरामको कामना गर्छु सँगै आराम हुनुहन्छ भन्ने पूर्ण विश्वास छ ।

विशेष उल्लेखनीय ताजा खबर त केही पनि थिएन । तर पनि मैले राजनीतिक जीवनमा पहिलो पटक समातेको त्यो रातो रङ्गअकिंत झन्डा र त्यो बेलादेखि आजसम्म पनि उति नै आशा र आत्माविश्वास दिलाएको त्यो मुटुभन्दा प्यारो अनेरास्ववियु (क्रान्तिकारी) नामले आजबाट सम्भवत सदाका लागि बिदा लिँदै गर्दा मनमा त्यो झन्डा र नाम दुवैको उच्च नेतृत्व तपाईंले गर्दैगर्दा मनमा लागेका केही खुल्दुलीहरु कुनै आवेग र उत्तेजनामा नभइ संयम र शालीनतापूर्व बरु केही भावुक हुँदै तपार्ईं र तपाईंसँग जोडिएर काम गर्दाका तितामिठा अनुभूतिहरु तपाईंसँग साट्न किन किन मनमा हुटहुटी चलिरह्यो । त्यसैले यो पत्र कोर्दै छु ।

मैले यो झण्डा र नाम समातेर हिँडेको २०५८।०३।१४ गतेदेखि भएपनि तपाईंसँगको सहकार्य २०६३ पछिबाट नै हो । २०६२/०६३ को जनआन्दोलनसँगै काठमाडौँका सडक पार्टीमा अविरल क्रान्तिकारी जिन्दावाद भनेर पहिलो पटक सडकमा नारा लगाउने हाम्रै पुस्ता हो । र, म पनि एउटा त्यसको सिपाही । त्यही सिपाहीले काठमाडौँमा झण्डै १२ वर्ष यही झण्डा र व्यानरका लागि श्रम, समय र आफूसँग भएको सम्पूर्ण शक्ति खर्च गर्यो । हो यहीबीचमा भएका केही उतारचढाव पूर्ण स्मरणहरु र तपार्ईंसँगका सहकार्यका अनुभूतिहरु यो पत्रमा कोर्ने कोसिस गर्दैछु ।

आदरणीय नेता (दाइ) तपाईं २०६३ सालमा अनेरास्ववियु क्रान्तिकारीको काठमाडौँ जिल्ला समितिको सम्मेलनमा ताहाचल क्याम्पसमा उद्घाटन र परोपकार उ. मा.विको हलमा भएको बन्दसत्रबाट काठमाडौँ जिल्ला समितिको सदस्य हुँदै दुवैले राजनीतिक कार्यथलो काठमाडौँलाई नै बनाएपछि तपाईं हाम्रो सहकार्यको सुरुवात भए, दाइ कति गतिवान थियो है त्यो बेलाको हाम्रो दैनिकी विहान ५ बजेबाट सुरु हुने हाम्रो  दिनचर्या बेलुका काठमाडौँ सुतिसके पनि हामी जागै रहन्थ्यौँ । विहान  पलस टु संगठन क्याम्पस इकाइ समिति निर्माण, दिउँसो स्कूलहरुमा संगठन निर्माण, बेलुका पोस्टर टाँस्ने, भित्तेलेखन, त्यसपछि दिनभरिको समीक्षा । किति आत्मियता थियो, नेता कार्यकतामा कति हार्दिकता  थियो । सिङ्गो संगठन आफूलाई परेको हरेक व्यक्तिगत समस्या पनि कार्यकर्ताले आफ्नो नेतालाई ढुक्कसँग धक फुकाएर भन्न सक्थ्ये । कति लोकतन्त्र थियो हामीमा । विभिन्न भूगोल र परिवेशबाट आएका अनेक जातजातिमा कस्तो एकता दाइ सम्झदा त कति आनन्द थियो त्यो पल तपाईंहरुको नेतृत्वमा कति विश्वास हुन्थ्यो हामीलाई । न कुनै शंका न कुनै भय । बुढेसकालमा सन्तान प्राप्त गर्दा बाबुआमाले कस्तो अनुभूति गर्दा हुन ठीक त्यस्तै अनुभूति प्रकट हुन्थ्यो ।

 म फेरि पनि तपाईंलाई प्रश्न गर्छु कि तपाईंले कहाँ–कहाँ न्याय दिनुभयो । चाहेर गर्नु सक्नु भएन कि नचाहेर यो सब भयो ? अब भन्नु यी र यस्ता घटनाले तपाईंलाई अन्याय भयो होला ? आदरणीय नेता, अन्तिम अध्यक्ष अब म तपाईंलाइ कस्तो नेता भनु ? सुजन खरेलबाट सुरु भएको मेरो (हाम्रो) संगनको अन्तिम अध्यक्षको मूल्यांकन इतिहासले कसरी गर्ला ?

दाइ (प्यारो नेता)  तपाईंलाई याद छ है २०६३ मंसिरमा हाम्रा दुश्मनहरुको हातबाट पब्लिक युथ क्याम्पसमा सुरुमा तपाईं, हालका सहासचिव उत्तम अधिकारी लगायतलाई क्याम्पस प्राणङ्गण मै आँखा सुन्निने गरी, चिउडो बाङ्गिने गरी, दाँत झर्ने गरी कुटाई खानु भएको कसरी विर्सन सक्नुहुन्थ्यो र उत्पयकाकै  पहिलो लडाइँमा तपाईंको चिउँडो उछिटिएको थाहा छ है । आज १३ वर्ष भएछ । तपाईंलाई कुट्दा मजस्ता कजेलमा संगठन बनाउँदै गरेकाहरुलाई कस्तो पीडा भयो । साच्चै अजिव थियो त्यो वर्ग प्रेम । मेरो प्यारो नेता रञ्जित तामाङ सकुशल हुनु पर्यो भन्ने थियो । आखिर हामीलाई हाम्रो वर्ग प्रेमले यही त सिकायो । पूर्व अध्यक्ष नरेन्द्र न्यौपाने र हालका खानेपानी मन्त्री विना मगरको नेतृत्वमा भएको १८ जनाको टोली तपाईंहरुको रक्षार्थ ३ मिनेटमा निस्ट कलेज लैनचौरबाट पब्लिक युथ आइपुगेको यो पत्र कोर्दै गर्दा अहिले जस्तो झलझली हुन्छ । विचारा हामी नरेन्द्र न्यौपाने र विना मगर बाहेक १८ जना नकटेकाहरुले  नेविसंघका हुलसँग के सक्नु ? तत्कालीन अध्यक्ष लेखनाथ न्यौपाने दाइलाई आखै अगाडि नेविसंघका गुण्डाहरुले आक्रमण गर्दा हामी सबैको मन कति छियाछिया भयो होला । हामीले आफ्नो नेतृत्वको बचावट गर्न नसक्दा कति आफैलाई हिनताबोध  भाथ्यो ।

 विचारा युवाराज चौलागाई दाइ आज पनि त्यहाँको चोट चिउँडोमा बोकर हिँडिरहनु भएको छ । दाइ तपाईंलाई थाहा छ नी ? म र राजेन्द्र बरालको टाउको फुटेर सिधै वीर अस्पताल लगियो । तर कसले लग्यो त्यो मलाई याद छैन । तपाईंलाई याद भए भन्दनु होला ।  अँ साँची सरस्वति क्याम्पस पढ्ने एकजना मित्र थिए नि हरि पौड्याल भाग्ने हुँदा ३ तलामाथिबाट हामफाल्दा खुट्टा भाँचिएर ६ महिनासम्म बेड रेष्ट गर्नुपरेको थियो । दाइ त्यसपछि मलाई प्रत्यक्ष त केही थाहा छैन । दाइ तर यी घटनाहरु फिल्मको रिल झैँ घुमिरहन्छन् । तर मैले पछि सुन्दा त त्यो लडाइँ हामीले पो जितेछौँ । कति आनन्द आएको थियो यो खबर सन्न पाउँदा आधा मोर्चामा नै घाइते भएर हस्पिटल भर्ना हुँदा पनि जितियो भन्ने खबर सुन्न पाउँदा पनि आफैले जितेको अनुभूति हुन्थ्यो । अँ मेरो आदरणीय नेता एउटा खुसीको कुरा त्यो मोर्चा हामीलाई पछि गएर जिताउने टोलीका कमाण्डर त उनै रामप्रसाद सापकोटा ( दिपशिखा) हुन् । आज म साच्चै नयाँ खबरले खुशी छु । तिनै सफल मोर्चाका कमाण्डर आज देश भरिको  युवाहरुको कमाण्डर हुनुहुन्छ । मेरो वहाँसँग भेट नभएको निकै भयो । तपाईंको भेट हुन्छ होला भेटमा मेरो उहालाई न्यानो सलाम र बधाइ पनि सुनाई दिनु ल ।

 आदरणीय नेता तपाईं पनि साँच्चै नेता नै हो । तपाईंको बोलीका म हिजो पनि तारिफ गर्थे, आज पनि गर्छु र भोलि पनि गर्नेछु । त्यो भन्दा नि युवाहरुको मनोभाव बुझ्न तपाईंलाई सायदै अरुले भेटन मुस्कील छ । बोलीमा गति, योजनामा गति, कार्यशैलीमा गति सायद कमै नेतामा हुन्छ । यी गुणहरु कम छन् ? आफैलाई प्रश्न गर्न मन लाग्छ । यो छाप आजका दिनमा तपाईंकोबारेमा कसैले सध्यो भने यही हो म दाबीका साथ भन्छु । नेतादेखि कार्यकर्तासम्म अन्तरंग वार्ता गर्न सक्ने तपाईंको यो गुणको जीवनभर प्रशंसा गरेर पनि थाक्दिन । तर के यति गुण भएकै भरमा एक असल नेता भइन्छ त ? प्रश्न त जरुर उठ्छ नै । माक्र्सवाद भनेको द्वन्द्ववाद नै त हो । के तपाईं गुणैगुणले युक्त मान्छे हो त ? दाइ म तपाईंको जति नजिक जान्छु नि तपाईंमा म त्यति नै बढी कमजोर देख्छु । किन कि सायद समयसँग हामी परिवर्तन भएर पो हो कि ? अझ म ०६३/६४ को त्यो मेरो आदर्श पो तपाईंमा हुर्दै छु कि ? त्यो हिजाको भ्रातृत्व त्यो प्रेम । साँच्चै आकाश जमिन फरक किन यस्तो हुनपुग्यो ? कहिल्यै तपाईंले सोच्नुभएको छ ? दाई आज भोलि तपाईंलाई नेतृत्वले अन्याय गर्यो भन्नु हुन्छ रे ? अनुहार  पुस्तिकामा  तपाईंका भनाइहरु र तपाईंका भनाइहरु  र तपाईंलाई उद्धृत गर्दै लेखिएका समाचारहरु पढ्दा यस्तो पाउँछु । किन तपार्ईं जस्तो गुणयुक्त शक्तिवान नेतालाई आपत्त आइलाग्यो ? अनि किन तपार्ईंमाथि कसरी भयो आक्रमण ? यो आक्रमणमा को–को सहभागी छन् ? तपाईंको क्षमतालाई तपाईंको इतिहासलाई किन खान खोजेको ? तपाईंले कसको के बिगार्नु भो ? यसको उत्तर जरुर खोज्नु है भरथेक सबैको न्यायको लागि आज पनि यो ज्यान त्यति नै हाजिर छ, जति आन्दोलनताका सुरुका वर्षमा थियो । अहिले पनि दोहोर्याएर भन्छु । न आस्था डगमगाएको छ , न त इच्छाशक्ति अन्यायका विरुद्ध । मरे मरुँला झुकिन्न, यो आजसम्म बारबार  राख्दै आएको कसम हो । तर एउटा कुरा दाइ तपाईंलाई सोधुँला भन्दा भन्दै झण्डै बिर्सिएछु । साँच्ची तपाईं पनि हाम्रो महान तथा गौरवशाली संगठन अखिल क्रान्तिकारीको नेतृत्वको विभिन्न तहमा बसेर आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्नुभयो । इतिहासको पहिलो निर्वाचित र अन्तिम अध्यक्ष हुनु भयो । तपाईं नै कस्तो संयोगले पहिलो र अन्तिम । अनि नेतृत्वका विभिन्न चरणमा तपाईंले चाहिँ कतिलाई आफ्नो शिकार बनाउनु भएको छ, कुनै हिसाब छ ?

तपाईंका तिखा वचनहरुको पीडाले यो संगठनबाट कतिले हात धुनुपथ्र्यो होला । पछिल्लो चरणमा तपाईंमा विकास भएको  प्रशंसाबाहेक अरुको कुरै नसुन्ने बानीले कतिलाई परेशानी गरेको छ अनुमान गर्न सक्नुहुन्छ ? पछिल्ला निर्णयहरु तपार्ईं आफैलाई थाहा होला कतिको सामूहिक ढंगले गर्नु हुनुहन्थ्यो । र, आन्दोलनमा तपाईंसँग रहेका सयौँ कार्यकताको अवस्था कसरी चलिरहेको छ, तपाईंमा कुनै जानकारी छ ?

तपाईं निर्वाचित भइसकेपछि विद्यार्थी आन्दोलनले गरेका उपलब्धि के–के हुन् ? अँ, साच्चै निर्वाचित समितिका नेता कार्यकर्तालाई के सबैलाई जिम्मेवारी दिनु भयो कि छैन ? वालुवाटार सेवाको नतिजा प्रकाशन, वाइडबढी खरिद प्रकरण, खुल्ला मञ्च प्रकरणलगायतका विषयहरु जनजीविकाका सवाल हुन कि होइनन् ? गत वर्ष भएको कृषि क्याम्पसको आन्दोलन इकाइमा निरन्तर चलिरहँदा तपाईंले संगठनको तर्फबाट कति समयपछि विज्ञप्ति निकाल्नु भो ? यो र यस्ता अन्य थुप्रै प्रश्नको जवाफ आज तपाईंले दिन पर्छ कि पर्दैन । अनि यो तपार्ईंले संगो केन्द्रीय समितिको बैठकमाथि न्याय गर्नु भए कि अन्याय ? आफू अध्यक्ष भएर केन्द्रीय समितिको बैठक जम्मा एक पटक भयो । त्यो बैठकको ठोस योजना तथा कार्यक्रम कति सफल भए कति असफल भए ? तपाईंका सहयोद्धा भ्रष्टाचारको मुद्दामा मुछिँदा तपाईंले आजसम्म कुनै प्रतिक्रिया जनाउन सक्नुभएन, पक्ष या विपक्षमा । यसले आम नेता तथा कार्यकर्ता र लाखौँ विद्यार्थीहरुमा  कस्तो प्रभाव परेको छ, केही अनुमान गर्नु  भएको छ ? अझै तपाईंले सम्मेलन ताका एउटा साँच्चै आकर्षक नारा बनाउनु भएको थियो । ‘रहर लाग्दो भर लाग्दो अखिल क्रान्तिकारी’ आखिर यो नाराले कुन–कुन ठाउँमा आफ्नो घुम्टो खोल्न सक्यो ? मेरो नेता यस्ता अनगिन्ती प्रश्नको उत्तर तपाईंले दिनुपर्ने होइन र ? के प्रश्नको अवाफ तपाईंबाट कति सकारात्मक आउँला ?

 म फेरि पनि तपाईंलाई प्रश्न गर्छु कि तपाईंले कहाँ–कहाँ न्याय दिनुभयो । चाहेर गर्नु सक्नु भएन कि नचाहेर यो सब भयो ? अब भन्नु यी र यस्ता घटनाले तपाईंलाई अन्याय भयो होला ? आदरणीय नेता, अन्तिम अध्यक्ष अब म तपाईंलाइ कस्तो नेता भनु ? सुजन खरेलबाट सुरु भएको मेरो (हाम्रो) संगनको अन्तिम अध्यक्षको मूल्यांकन इतिहासले कसरी गर्ला ?

दाइ पत्र केही लामो जिज्ञासाहरुको पोको खोल्दा खोल्दै यस्तै हुन पुग्यो कृपया झर्को नमानी पढिदिनु चाँडै उत्तर पाउँ है । दाइ तपाईंमाथि अन्याय भयो भने त हामी छौँ नि बोल्ने तर तपाईंले अन्याय गर्दा कसले बोलिदिने ?

अन्त्यमा दाइ पार्टी एकता दिवसको पनि शुभकामना । मदन भण्डारी जो नेपाली बामपन्थी आन्दोलनको एउटा चम्किलो तारोको योजनाबद्ध रुपमा हत्या गरिएको दिन उहाँप्रति भावपूर्ण श्राद्धाञ्जली । पार्टी पनि आजको नेकपा अचम्मको छ । दुई संगठनहरुको एकता हुँदा सहयोद्धा संगठनको सह–सचिवलाई अध्यक्ष बनाएर भइराखेको अध्यक्षलाई सह–अध्यक्ष भन्न कति हिचकिचाउँदैन । मेरो विचारमा दुई संगठनहरुको एकता हुँदा रञ्जित तामाङले अध्यक्ष नपाउनु नौलो कुरा हुँदैनथ्यो तर अनौठो त यो छ कि महासचिव अध्यक्ष अध्यक्ष सह–अध्यक्ष । क्या वस्तुवादी आदार : हुन त सुन्दैछु मेरो पार्टी यस्तै छ । मेरो पार्टीको मेरो सरकार दोलखातिर महान शहिद रितबहादुर खड्कालाई शहिद भएको झण्डै १७ वर्षपछि पक्राउ पूर्जी जारी गर्दैछ रे । तिनै नेता बसेर गरेको एकताको निर्णयले आदरणीय प्रथम निर्वाचित तथा अन्तिम अध्यक्षलाई शहिद मात्र बनाउँदै छ । पक्राउ पूर्जी नै त काटेको छैन । त्यसैले धेरै केही नबोली बरु तपाईं ती हाम्रा आदरणीय नेतासँग चाँडै भेट गर्नुहुन्छ होला खास कुरा के हो मलाई पनि पत्रमा लेख्न नछुटाउनु है ?

तपार्ईंको पत्रको प्रतिक्षारत कार्यकर्ता

बद्री चुडाल

आठराई त्रिवेणी गाउँपालिका

वाड नं. २, फूलबारी ताप्लेजुङ

हाल काठमाडौं ।

 

 

 

 

कमेन्ट

  1. May 18, 2019, 8:55 p.m. sudip raut
    ani niji sixako birodh, xoraxori free ma !
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...