शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेकै गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष लाग्ने

आइतबार, ०५ जेठ २०७६, ०६ : १४
आइतबार, ०५ जेठ २०७६

कञ्चनपुर - महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । 

१६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३-६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर, चैत ०७३-७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ । गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ । 

१० वर्षमा तीनवटा कम्पनीले झन्डै १३ किमि नहर तयार गरेका थिए । कुमार राजेन्द्र आशिष जेभी, कुमार नेपाल आदर्श केएम जेभी र लुम्बिनी राजेन्द्र डाँफे जेभीले १८ वटा पुल, पाँचवटा साइपन र ६ वटा फुटपाथ पुलसहित नहर बनाउँदा दुई अर्ब ४१ करोड ११ लाख ३८ हजार खर्च भइसकेको छ । ६५ हेक्टर जमिनको मुआब्जामा मात्रै ५१ करोड १४ लाख ६४ हजार, निर्माण कार्यका लागि एक अर्ब, ८२ करोड ५१ लाख ६६ हजार र अनुसन्धान तथा परामर्शमा सात करोड, ७८ लाख आठ हजार खर्च भएको छ । याे समाचार माेहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप