शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभाव : खोरमा थुनिएका बालकको उद्दार (भिडियो)

आइतबार, ०५ जेठ २०७६, १० : १५
आइतबार, ०५ जेठ २०७६

काठमाडौंँ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित शुभकामना चोक नजिकै बाख्रा थुन्ने खोरमा नरकीय जीवन जिउन बाध्य भएका ११ वर्षीय बालकको उद्दार भएको छ । 

शनिबार रातोपाटीमा ‘काठमाडौंमै बाख्रा थुन्ने खोरमा बालक, सहयोगको अपील’ शीर्षकमा समाचार प्रकाशित भएसँगै अधिवक्ता तथा समाजसेवी राजु थापा र स्थानीय राजेश खकुरेलको पहलमा आइतबार मानव सेवा आश्रमले बालकको उद्दार गरेको हो ।  

विगत २ महिनादेखि काठको खोरमा थुनिँदै आएका नुवाकोटको तारकेश्वर गाउँपालिका–६ स्थित खड्गभज्याङका ११ वर्षीय मन्दीप दुवाडीको सामाखुसीमा रहेको आश्रमले उद्दार गरेको हो ।

मानसिक सन्तुलन गुमाएका मन्दीपलाई तारेकश्वर नगरपालिकाका वडा नम्बर १० का वडाअध्यक्ष अमृत थापाको रोहबरमा आश्रमलाई जिम्मा लगाइएको हो । 

सो क्रममा वडाध्यक्ष थापाले मन्दीपको उद्दार गरेकोमा मानव सेवा आश्रमलाई धन्यवाद दिँदै वडाबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता जनाए ।

हाल मन्दिपलाई मानवसेवा आश्रमको सामाखुसी शाखामा राखिएको छ । आजबाटै स्वास्थ्य परीक्षण गराई उपचार सुरुवात गरिने मानवसेवा आश्रमका ३ नं. प्रदेश संयोजक सुमन बर्तौलाले बताए । 

बर्तौलाले आफूहरुले समस्यामा परेका आफन्त नभएका, सडकमा वेवारिसे अवस्थामा रहेका र असक्त तथा असाहयहरुलाई मानवीयताको आधारमा उद्दार गर्ने गरेको बताए । 

उनले मन्दीपलाई पनि मानवियताको आधारमा उद्दार गरेको भन्दै आवश्यकता अनुसार आश्रममा राखिने जानकारी दिए । उनले भने, ‘पछि परिवारले सक्दो अवस्था रह्यो भने पठाइदिन सक्छौं । नत्र आश्रममै राखिराख्छौं ।’

काठमाडौंमै बाख्रा थुन्ने खोरमा बालक, सहयोगको अपील

मन्दीपका हजुरबुबा लिलाबल्लभ दुवाडीले नातीको उद्दार गरेकोमा आश्रमसहित रातोपाटीलाई धन्यवाद दिँदै उद्दारबाट केही भएपनि राहत मिलेको बताए । 

बालकलाई मानव सेवा आश्रमको जिम्मा लगाउँदा रातोपाटीका डेस्क सम्पादक राजकुमार सिग्देल र  समाचार बाहिर ल्याउने स‌ंवाददाता सुजन पन्त, स्थानीय राजेश खकुरेल, अधिवक्ता तथा समाजसेवी राजु थापालगायतको उपस्थिति रहेको थियो । 

मन्दीप जन्मजातनै शारीरिक र मानसिक रुपमा अपाङ्ग हुन् । बर्बराउने, रिसाउने, हाँस्ने, डराउने व्यवहार गर्ने मन्दीप बोल्न सक्दैनन् । 

के हो मानवसेवा आश्रम ?

मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट यस मानवीय सेवा शुभारम्भ गरेको थियो ।

बेवारिसे मानवहरु तथा विभिन्न कारणहरुबाट परिवारको सामर्थभित्र नरहि बाँधेर, थुनेर वा अमानवीय तरिकाबाट राखिएका मानवहरुरहित राष्ट्र नेपाल निर्माणको उद्देश्यसहित आश्रम शुभारम्भ भएको हो । 

आश्रमले २०८२ सालभित्र कोही पनि मानिस खुला आकाशमुनि कष्टपुर्ण जीवनपायन गर्न नपर्ने बताएको छ ।

सामाजिक संस्था मानवसेवा आश्रमले हालसम्म १८०० बढी घरबारविहिन, बेसहारा तथा असहाय मानवहरुलाई सेवा दिइसकेको छ भने ६ प्रदेशको १२ ओटा जिल्लामा १४ स्थानमा यसका शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप