केन्द्रीय संस्करण

बुद्धजयन्ती र बौद्धदर्शनको अन्तरवस्तु

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0
नरनाथ पाण्डे

रातोपाटी

बुद्धजयन्ती र बुद्धजयन्तीको अवसरमा बुद्धका बारेमा केही कुरा जान्नु र स्मरण गर्नु हामी नेपालीको विशेष कर्तव्य भएको नाताले बुद्धका बारेमा केही कुरा उल्लेख गर्ने जमर्को गरिएको छ । नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनका समयका अधिकांश कुराहरु अलिखित नै थिए र उनको समयपश्चात उनले दिएका ज्ञानका कुराहरुलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने काम भयो ।

उनी जीवित छँदै आफूलाई भगवान नमान्न, नभन्न र पछि पनि त्यसो नगर्न सुझाएका थिए तर उनी संसारबाट बिदा भएपछि भने भगवान भनी पुजिन थाले । हिन्दूधर्मले समेत बुद्ध अवतार भनी विष्णुको एक अवतारका रूपमा स्वीकार गरेको छ भने उनको दर्शनबाट प्रभावितहरुले त बुद्ध धर्म नै मानिरहेका छन् । बुद्ध आफैले संसारमा कुनै भगवान नै छैनन् र भगवानका नाममा गरिने अनेक कार्यहरु वाहियात हुन् भन्ने गर्दथे र उनले कर्ममा मात्र विश्वास गर्दथे ।

उनका उपदेश र सिद्धान्तमा यस्तै कुराहरु नै बढी पाइने हुँदा उनलाई नास्तिक दर्शनका व्याख्याता मानिन्छ तर हाल उनी आफैँ एक भगवानका रूपमा पुजनीय छन् । यसका लागि उनले गरेका काम, उनले दिएका उपदेश र संसारलाई देखाएको उज्यालोका कारण लाइट अफ एसियाका नामले तथा भगवान गौतम बुद्धका नामले समेत उनलाई चिनिन्छ । यस आलेखमा बुद्धले प्रतिपादन गरेका सिद्धान्तमा के छ र उनको जीवनी कस्तो थियो भन्नेबारेमा समेत उल्लेख गरिएको छ । आशा छ, बौद्ध धर्म र बौद्ध दर्शनसँग सम्बन्धित पाठकहरुलाई यसबाट पक्कै फाइदा पुग्ने नै छ ।
  

 हिन्दू र चार्वाक दर्शनको बीचबाट अघि बढ्न खोजेको बौद्ध दर्शन गौतम बुद्धको उपदेशबाट प्रादुर्भाव भएको हो । तत्कालीन समयमा व्याप्त अन्धविश्वास तथा रुढिहरुको विरोधमा यो दर्शन आएको थियो । विशेष गरी त्यसबेला कर्मकाण्डमा हिंसाको विभत्स तान्त्रिक साधनको नामले नरवली दिने र पुरोहितको अहंकारको बीचमा गौतम बुद्धको अहिंसा, विनय, दया र करुणामा आधारित सिद्धान्त जनताहरुका लागि अमृत बराबर भएको थियो । ई.पू. ५६३ मा (आधिकारिक जन्ममिति) लुम्बिनीमा जन्मेका २४औँ पुस्ताका शाक्यमुनि बुद्ध वा राजकुमार सिद्धार्थ २९ वर्षको उमेरमा दरबार परित्याग गरी (महाभिनिष्क्रमण) बाहिर निस्केर करिब ६ वर्षको तपस्यापछि बोधी ज्ञान प्राप्त गरेपछि बुद्ध बने र बुद्ध दर्शनका रूपमा उनका उपदेश आए । वृद्ध, रोगी, सन्न्यासी र मृत्यु भएका मानिस देखेर दुखित भई दुःखबाट मुक्त हुन तपस्या गर्ने क्रममा गौतम बुद्धले ज्ञानको खोजी गरे । यस दर्शनले ४ आर्य सत्य र ८ मार्गहरुको साधना गर्नाले अज्ञानता नष्ट भई पूर्ण शान्ति (निर्वाण) प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्दै ८ मार्गको अनुसरण गर्न निर्देश (देशना) गर्दछ ।

    यसभन्दा अघि बुद्धका निजी जीवनका बारेमा केही कुरा बुझ्नु सान्दर्भिक हुनेछ । बुद्ध मायादेवीका कोखबाट जन्मेका हुन् । विभिन्न ग्रन्थहरुमा बुद्ध जङ्गलमा जन्मेको कुरा चर्चामा आएको छ । वास्तवमा पहिलो सन्तान मामाघरमा जन्माउनुपर्छ भन्ने तत्कालीन मान्यताअनुसार मायादेवी माइत जाने क्रममा बाटोमा नै सुत्केरी व्यथा लाग्दा लुम्बिनीको बगैँचामा बुद्ध जन्मिएका हुन् । बुद्ध जन्मेको ७ दिनपछि मायादेवीको मृत्यु भएको थियो । असिद नामक सन्न्यासीले यो बालक भविष्यमा बुद्ध बन्छ र बुद्ध नबनेमा चक्रवर्ती राजा हुन्छ भनेर भविष्यवाणी गरेका थिए । यस्तो भविष्यवाणी भएपछि बुद्धका पिता राजा शुद्धोदनले छोरा सन्न्यासी हुनसक्छ भनेर डराई सम्पूर्ण राजसी व्यवस्था दरबारभित्रै मिलाएका थिए । उनलाई बढी मनोरञ्जन र विलासिताको जीवन बिताउन लगाएका थिए ताकि कहिल्यै पनि बुद्धको विचार सन्न्यासीतर्फ नजाऊन् भनेर सबै व्यवस्था मिलाएका थिए । बुद्ध राजा नै बनुन् भनी रम्य, सुरम्य र सुरभ नामका ३ वटै ऋतुको आभास मिल्ने गरी र भोग विलासका सम्पूर्ण व्यवस्था दरबारभित्रै मिलाइएको थियो ।

यसैक्रममा उनको छिटो विवाह गरी पारिवारिक जिम्मेवारी प्रदान गर्ने उद्देश्यले देवदहकी राजकुमारी गोपा (उनलाई पछि यशोधरा वा भद्रकाव्यायिनी भनेर पनि चिनिन्छ) सँग १६ वर्षकै उमेरमा विवाह गराइयो । 
एक दिन बाटोमा घुम्न निस्केको बेला बुद्धले चतुरनिमित (४ वटा दुःख ः रोगी, वृद्ध, सन्न्यासी र मृत) देखे । संसारमा यस्तो दुःख पनि हुँदो रहेछ भनेर उनले पहिलो पटक थाहा पाए । यो कुराले उनको मनमा अशान्ति पैदा गर्यो । मानिस दुःखी छ र दुःख हटाउने उपाय के होला भन्ने कुराले उनको मन मस्तिष्कमा हानिरह्यो । यही क्रममा उनी २९ वर्षका भइसकेका थिए र उनको छोराको समेत जन्म भयो । दुःखको कारण हटाउने उपाय खोजी गर्ने क्रममा आफ्नो अवरोधका रूपमा छोरा आएकाले यो राहु हो र यसको नाम राहुल राख्नुपर्छ भनी नामकरण गरेका थिए । जे होस् गौतम बुद्धलाई कुनै पनि राजसी सुख सयल, सुविधा, घरपरिवार, श्रीमती बच्चा जस्ता आदि कुनै पनि कुराले उनको विचारलाई रोक्न सकेनन् र अन्ततः उनी २९ वर्षको उमेरमा दरबार परित्याग गरी ज्ञानको खोजीमा निस्किए ।
  

 दरबार परित्याग गरेर निस्किएपछि ६ वर्षसम्म कठोर तपस्या गरे । उनीसँगै ५ जना विद्वान पनि तपस्यारत थिए । पछि बुद्धले खाना नखाई यसरी शरीर सुकाएर कमजोर मनमस्तिष्कले कुनै ज्ञान प्राप्त नहुने निचोड निकाली मध्यमार्ग अपनाउने विचार गरे । त्यही दिन सुजाता नामक कन्याको हातबाट खीर खाए र बोधीवृक्षमुनि घाँसमा पलेँटी कसी तपस्या गरिरहेको बखत उनलाई सोही दिन ज्ञान प्राप्त भयो । खीर खाएकै दिन राति ३५ वर्षको उमेरमा ४ प्रहरमा उनलाई ४ वटा ज्ञान प्राप्त भएका थिए । ती ज्ञानहरु पूर्वानुस्मृति, दिव्यचक्षु ज्ञान, प्रतीत्यसमुत्पादक र सर्वज्ञाता ज्ञान हुन् । ज्ञान प्राप्त भइसकेपछि पनि बुद्ध ४ सप्ताहसम्म त्यही बोधीवृक्षमा नै रहेका थिए । संयोगको रूपमा बुद्धका जीवनमा भएका कुनै पनि महत्त्वपूर्ण घटनाहरु (जन्म, ज्ञानप्राप्ति, निर्वाण आदि) वैशाख शुक्ल पूर्णिमाका दिन नै भएका थिए ।
यस दर्शनले मुख्य प्रकाशमा ल्याएको सिद्धान्त ४ आर्यसत्य र दुःख निवारण गर्ने ८ मार्गहरु नै ज्ञानका प्रमुख सिद्धान्त हुन् । यसरी बौद्ध दर्शनमा उल्लेख गरिएका ४ आर्य सत्यहरु (चतुर आर्यसत्य) र दुःख निवारण गर्ने यी ८ मार्गहरु यसप्रकार छन् ।

१. संसारमा दुःख छ । जरामरण, शोक, विछोड आदिका कारण यस संसारमा दुःख छ र दुःखबाट कोही पनि अछुतो छैन ।
२. दुःखका कारणहरु छन् । दुःखका कारणलाई काम, भव र विभव भनी वर्गीकरण गरिएको छ । काम भन्नाले–मीठो खाने, भव भन्नाले– फेरि जन्म लिने र विभव भन्नाले– धन सम्पत्ति तृष्णाका कारण आर्जन गर्ने जस्ता कुराहरु नै दुःखका कारण हुन् । यही विभव कारणलाई नै प्रतीत्यसमुत्पादक÷ कार्य कारण सिद्धान्त भनिन्छ ।
३. दुःख नाश गर्न सकिन्छ । यसका लागि तृष्णालाई स्थान नै नदिएर दुःख हटाउन सकिन्छ भन्ने यस दर्शनको मूलभाव रहेको पाइन्छ ।
४. दुःख निवारण गर्ने उपायहरु छन् । अष्टाङ्ग मार्गमार्फत दुःखलाई निवारण गर्न पनि सकिन्छ भन्नु यस दर्शनको अर्को सिद्धान्त हो ।
दुःख निवारण गर्ने यी ८ मार्गहरु भनी बुद्ध दर्शनमा वर्णन गरिएको छ, जुन यस प्रकार छन् ।
१. सम्यक दृष्टि         २. सम्यक सङ्कल्प         ३. सम्यक वचन÷वाक 
४. सम्यक कर्म÷कर्मान्त     ५. सम्यक जीवन÷आजीविका     ६. सम्यक व्यायाम 
७. सम्यक विचार÷स्मृति     ८. सम्यक समाधि    

    अन्तमा, बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने कुरालाई अब आन्दोलनका रूप दिनु आवश्यक छैन । यसका असङ्ख्य प्रमाणहरुले नै यो कुराको पुष्टि गर्दछन् । जे होस्, यस दर्शनले विश्वमा शान्तिको ज्योति छर्ने काममा निकै महत्त्वपूर्ण योगदान दिएको छ । सबै कुरा भगवानले नै बनाएको हो र उनको इच्छा विपरीत केही पनि हुँदैन भन्ने त्यतिबेलाको मान्यताका बीच यो दर्शनले भगवान नै हुँदैन र सबैकुरा कर्मले गर्दछ भन्ने फरक विचार स्थापित गर्न सक्नु यस दर्शनको मुख्य विशेषता हो ।

यसरी प्राचीनकालमै आएको यो दर्शन निकै क्रान्तिकारी दर्शन भएकाले यसलाई संसारका अन्य दार्शनिकहरुले पनि निकै चासोपूर्वक अध्ययन गर्ने गर्छन् । यसरी नेपालमै जन्मिएका एक सपूत गौतम बुद्धले संसारलाई नै उज्यालो बाटो देखाउने सामथ्र्य राख्न सकेका छन्, यही नै हामी नेपालीका लागि गौरवको विषय पनि हो । बुद्धले दिएका ४ आर्यसत्य र अष्टाङ्ग मार्गमा बताइएका ज्ञानहरुलाई मात्र भए पनि यदि हामीले व्यवहारमा उतार्न सक्यौँ भने हामीले विश्वलाई नै नर्कबाट स्वर्ग बनाउन सक्छौँ । त्यसैले अहिलेको वैज्ञानिक युगमा आएर पनि बुद्धदर्शनको निकै सान्दर्भिकता रहेको प्रष्ट हुन्छ । 


कावासोती—८, नवलपुर 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...