शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिकित्सकको लापरबाहीले बिरामीको आन्द्रामा प्वाल पर्‍यो

आइतबार, ०५ जेठ २०७६, १५ : २९
आइतबार, ०५ जेठ २०७६

श्याम रानामगर 
पोखरा – चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् । 

पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुन(१८)लाई पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्क छेवैको ‘निदान आयुर्वेद क्लिनिक’ भर्ना गरिएको थियो । 

क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्या पनि भएको बताए । सोअनुसार फिस्टुलाको अप्रेसन भयो । अप्रेसनपछि ठिक होला भनेको त व्यथा झनै बढ्न थाल्यो । बिरामीको व्यथा झनै बढ्न थालेपछि डाक्टरले वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरे । 

मनिपालमा भिडियो एक्स–रे गरेर हेर्दा बिरामीको ठुलो आन्द्रामा प्वाल परेको देखियो । आन्द्रामा प्वाल परेर पनि फोहोर यताउति निस्केको भिडियो रिपोर्टले देखाएको बिरामीका ठुुला बुबा चक्रबहादुर पुनले बताए । उनले क्लिनिकले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै बिरामीमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरे । 

बिरामीको भविष्यको जिम्मेवारी लिनुपर्ने साथै उपचारको सम्पूर्ण खर्च क्लिनिकले बेहोर्नु पर्ने माग गर्दै आफन्तले क्लिनिकमा ताला समेत लगाइ दिएका छन् । आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्की’ले गरेको थियो । आन्दोलनका अगुवा खेम पुनमगरले माग सुनुवाई नभएमा वृहत संघर्षमा उत्रिने चेतावनी दिए । ‘आज हामीलाई पर्यो भोली अरुलाई पर्न सक्छ । त्यसैले न्यायप्रेमीहरु एकजुट भएर न्यायका लागि लडौं,’ उनले भने, ‘यदी हाम्रो माग सुनुवाई भएन भने वृहत आन्दोलनमा उत्रिन्छौं ।’ 

आजै प्रदेश प्रमुख, सामाजिक विकास, मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले सुनाए । 

क्लिनिकका सञ्चालक र डाक्टर प्रफुल्लालाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप