शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब विद्यालयमा पनि निर्वाचन (भिडियोसहित)

आइतबार, ०५ जेठ २०७६, १७ : २२
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– विद्यालयहरुले मतदाता शिक्षासहित निर्वाचन प्रणालीको जानकारी दिने उद्देश्य साथ कक्षा संयोजक र सहसंयोजक चयनका लागि निर्वाचन गराउन थालेका छन् । राजधानी काठमाडौंको एक स्कुलले आईतबार कक्षा तथा विषयगत संयोजक, सहसंयोजक चयनका लागि विद्यालय परिसरमा नै राष्ट्रिय निर्वाचन जस्तै निर्वाचन गर्यो ।

छात्रा र छात्रका लागि छुट्टाछुट्टै लाइन, निर्वाचन अधिकृतको कार्यालय, मतदाताको नामावली रुजु गर्ने निर्वाचन अधिकारीहरु, मतपेटिका, गोप्य मतदान गर्ने स्थान लगायतको संरचना र तयारी राष्ट्रिय निर्वाचनकै जस्तै थिए । निर्वाचन अधिकृत पनि विद्यार्थी, मतदाता पनि विद्यार्थी, अनि निर्वाचनको पर्यवेक्षण गरि प्रतिवेदन तयार पार्ने पनि विद्यार्थी ।

विभिन्न समूहमा विभाजित भएर विद्यार्थीले निर्वाचनका लागि गर्नुपर्ने सबै भूमिका निर्वाह गरिरहेका देखिन्थे । थापाथलिस्थित भिएस निकेतनका विद्यार्थीहरु निर्वाचनमा भाग लिइरहेका थिए । उम्मेदवार विद्यार्थीले तत्कालका लागि कक्षा संयोजक, अतिरिक्त क्रियाकलाव संयोजक वा क्लब संयोजकको उम्मेदवारी भएपनि यसले सिकाएको ज्ञानले भविष्यमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

निर्वाचनमा कक्षा ५ देखि ९ सम्मका ५० विद्यार्थीले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । छात्रा र छात्र तर्फबाट स्कुलका सहसंयोजक १÷१ जना, ४ वटा क्लबका संयोजक र सहसंयोजक तथा कक्षागत संयोजक, सहसंयोजक लगायत अतिरिक्त क्रियाकलापका विभिन्न ५० पदमा छात्रा÷छात्र निर्वाचित हुनेछन् । स्कुलकी प्रिन्सिपल गीता चौधरीले निर्वाचन प्रणालीबाट विषयगत संयोजक चयन गर्दा प्रजातान्त्रिक हुने र यस क्रममा अबलम्बन गरेका प्रक्रियाले विद्यार्थीमा निर्वाचन प्रणालीको शिक्षा पनि दिने भएकाले निर्वाचन गरिएको बताइन् । 

विद्यार्थीलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचनको जस्तै गरि एकसाताको निर्वाचन कार्यतालिका सार्वजनिक गरि सब प्रक्रिया पुरा गरिएको स्कुलका संयोजक विनोद पोख्रेलले जानकारी दिए । 

आईतबारको मतदानका लागि अघिल्लो आईतबारदेखि नै विद्यार्थीहरु निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । समर्थक र प्रस्तावकसहित उम्मेदवार, दाबी विरोध, प्रचारप्रसार र मतदानको कार्यक्रममा सहभागी हुदा विद्यार्थीहरु दंग थिए । निर्वाचन प्रक्रियाबाट कुनै पनि पदमा चयन हुँदा विद्यार्थीले निर्वाचन शिक्षाको व्यवहारिक ज्ञान पाउनुको साथै स्वच्छ प्रतिष्पर्धा प्रणालीको पनि अभ्यास हुने विश्वास स्कुलले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप