शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनिल कपुरले भने, ‘श्रीमतीसँग म्यागजिनको कभरमा आउन उनको खुट्टै ढोगिसकेको छु’

सोमबार, ०६ जेठ २०७६, १० : ५१
सोमबार, ०६ जेठ २०७६

अनिल कपुर र उनकी श्रीमती सुनिताको विवाह भएको ३५ वर्ष पुगेको छ । १९ मे सन् १९८४ मा १० वर्षसम्म एक–अर्कालाई डेट गरेपछि उनीहरुले विवाह गरेका थिए । आफ्नो विवाहको वर्षगाँठमा एक समाचार एजेन्सीसँगको कुराकानीमा अनिलले आफ्नो प्रेम जीवनका साथै वैवाहिक जीवनबारे पनि कुरा गरे । उनका अनुसार सुनितासँग म्यागजिनको कभरमा पोज दिनका लागि उनले श्रीमतीको करिब करिब खुट्टासमेत ढोगिसकेका छन् ।

अनिलले भने, ‘म उनको निर्णयको सम्मान गर्छु’

सुनिता मिडियासँग किन लजाउँछिन् भन्ने प्रश्नमा उनले विवाहको वर्षगाँठमा एक बयान पनि दिउ । जवाफमा अनिलले भने, ‘उनी मिडियासँग लजाउँदिनन्, कुरा मात्र गर्न चाहन्नन् । साधारण जीवन बाँच्न चाहन्छिन् र म उनको निर्णयको सम्मान गर्छु । तर कहिलेकाँही यो मेरोविरुद्ध समेत जाने गर्छ । म आफूलाई जनताको सामुन्ने राख्न चाहन्छु । केही म्यागजिन कभर सुट होस् भन्ने चाहन्छु जसमा लेखिएको होस् ‘ह्याप्पी फ्यामिली’, ‘अनिल कपुरकी श्रीमती’ । मैले धेरै कोसिस गरेँ । यस्तो कभर पाउनका लागि मैले लगभग उसको खुट्टा नै ढोगिसकेको छु ।’

चार पोइन्टमा थाहा पाउनुहोस् अनिलले थप के भने ?

सुनिताको आवाजसँग प्रेम भएको थियोः

अनिलले भने, ‘मलाई सबैभन्दा पहिले उनको आवाज मनपर्‍यो । म सोच्थेँ, हे भगवान ! कति मिठो आवाज हो । कस्तो राम्रोसँग अंग्रेजी बोल्छिन् । उच्चारण त अति नै राम्रो छ । पहिलो पटक उनलाइ राजकपुरको घरमा भेटेको थिएँ । उनी निकै आकर्षक थिइन्, अझ भनौं निकै सेक्सी पनि । उनले गोगो चश्मा लगाएकी थिइन् । त्यसपछि हाम्रो फोनमा कुरा हुन सुरु भयो र हामी साथी भयौं । सुरुमा हामी राम्रो साथी बन्यौं र त्यसपछि हामी प्रेममा पर्यौं । जब उनी मबाट टाढा हुन्थिन्, मलाई उनको याद आउन थाल्यो । जबसम्म उनीसँग कुरा हुँदैनथ्यो एउटा खालीपन महसुस हुन्थ्यो ।’

सुनिताले भनेकी थिइन्, ‘म तिम्रो लागि खाना बनाउदिनँ’

अनिल कपुर थप्छन्, ‘उनले मलाई स्पष्ट रुपमा भनेकी थिइन् कि उनी किचनमा जाने छैनन् । उनले मलाई भनेकी थिइन्, ‘म तिम्रो लागि खाना बनाउँदिनँ ।’ मैले कहिले पनि उनले मेरो लागि खाना बनाओस् भनेर आशा नै राखिनँ । म सोच्थेँ कि मेरो घरमा नोकर हुनुपर्छ र एउटा राम्रो शेफ पनि । म पंजाबी हुँ र खानाको शौखिन पनि । यसबाहेक मलाई लाग्थ्यो कि मेरो आफ्नो घर पनि होस् । म सधैं खुसी रहेँ । म भाडाको घरमा बस्यौं । जब म सानो थिएँ हाम्रो परिवार सानो स्थानमा बस्थ्यो । त्यसपछि एउटा कोठाको घरमा, त्यसपछि दुई बेडरुम र हल भएको घरमा । तर सबै भाडाका थिए । हामी घर खरिद गर्न सक्षम थिएनौं । उनलाई विवाहको प्रस्ताव गर्नुअघि मलाई एउटा सेफ र कुकको आवश्यकता थियो ।’

मानिसहरु विवाह नगर्न सुझाउँथेः

अनिलले थपे, ‘मानिसहरु मलाई विवाहका लागि रोक्थे । यो मेरो लागि सही होइन भन्थे । म यस्तो अवस्थामा थिएँ जहाँ प्रेम र करियरमध्ये एकलाई छान्नु थियो । मैले काम पाउन सुरु गरेको थिएँ तर मानिसहरुले मलाई भन्थे, ‘तिमीले राम्रो गरिरहेका छौ यो तिम्रो करियरको राम्रो सुरुवात हो । तिमी सफलताको सिढि चढिरहेका छौ तर तिमीले विवाह गरेपछि तल झर्नेछौ । ’ मैले उनीहरुलाई तल झर्न मलाई केही समस्या छैन तर म सम्झौता नगर्ने बताउँथे । उनी मेरो लागि निकै महत्वपूर्ण थिइन् । यो साँचो हो, म झुटो बोलिरहेको छैन ।’

सुनिता कहिले पनि फ्रि बसिनन्ः

अनिल कपुरलाई मान्ने हो भने सुनिता ती गृहिणीमध्ये होइनन् जो श्रीमान् काममा गएपछि घर बसेर बच्चाको जिम्मेवारी सम्हाल्छन् । उनी भन्छन्, ‘जब हामी एक–अर्कालाई डेट गरिरहेका थियौं, तब उनी मोडल थिइन् । उनी बैंकरकी छोरी भएपनि उनले सधैं आफैंले कमाएर आफ्नो खर्च पुर्याइन् । यसका लागि म उनको निकै सम्मान गर्छु । उनले मलाई भनेकी थिइन्, ‘जब म विवाह गर्नेछु तब एक जोडी कपडामा मात्र आउनेछु । कुनै गहना, पैसा, दाइजो ल्याउनेछैन । एउटा कुर्ता सुरुवाल वा साडी, त्यति मात्र ।  अरु हाम्रो लागि हामी आफैंले जोड्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप