बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पछाडि बस्ने यात्रुलाई अनिवार्य हेलमेट : असफल नियमको पुनः प्रयोग !

सरोकारवालाको आशंका – दालमे कुछ काला हे !
सोमबार, ०६ जेठ २०७६, १३ : ०७
सोमबार, ०६ जेठ २०७६

ट्राफिक विज्ञ भन्छन्, ‘दुर्घटनाको क्षति कम गर्ने कि दुर्घटना न्यूनीकरण’ ?

महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुलाई मध्यनजर गर्दै अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने नियम फेरि लगाउने बताएपछि यसबारे पक्ष र विपक्षमा बहस शुरु भएको छ ।

आइतबार महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने नियम पुनः लागु गर्ने तयारी थालेको जानकारी दिएका थिए ।

एसएसपी पन्तले पत्रकार सम्मलेन गर्दै दुई पाङ्ग्रे सवारी साधनमा चालकको भन्दा पछाडि बस्ने यात्रुको ‘अन द स्पट’ मृत्यु हुने संख्या बढी देखिएको भन्दै पछाडि बस्ने यात्रुले पनि हेलमेट अनिवार्यरुपमा लगाउनु पर्ने नियम लागु गर्न लागेको तर्क अघि सारेका थिए ।

तर, सरोकारवालाहरुले भने प्रहरीले पहिले नै असफल भइसकेको प्रयोगलाई पुनः लागु गर्न खोज्नुमा ‘दालमे कुछ काला हे’ भन्ने टिप्पणी गरिरहेका छन् । कतै हेल्मेट व्यवसायीको दबाबमा त यस्तो नियम ल्याउन लागिएको होइन भन्दै सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेका छन् ।

आर्थिक पक्षबाट हेर्दा सरोकारवालाहरुको प्रश्न केही हदसम्म जायज पनि देखिन्छ । मोटरसाइकलको लट नम्बरलाई आधार मान्ने हो भने काठमाडौँमा मात्र अहिले कम्तिमा पनि १० लाख बढी मोटरसाइकलहरु दर्ता छन् । यस्तोमा आईएसओ मान्यप्राप्त एउटा हेलमेटको अनुमानित औसत मूल्य दुई हजार रुपैयाँ राख्ने हो भने प्रत्येक मोटरसाइकलले थप एउटा हेलमेट किन्दा राजधानीमा मात्र २ अर्बको आर्थिक कारोबार हुने देखिन्छ । देशभर २५ लाखभन्दा बढी दुई पाङ्ग्रे सवारी रहेका छन् । यही अर्बको खेलमा ‘कतै कमिशनको चक्कर त छैन ?’ सरोकारवालाहरुको आशंका रहेको छ ।

अर्कोतर्फ ट्राफिक विज्ञहरु पनि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणको साटो दुर्घटना भएपछिको समाधान गर्ने उल्टो बाटोमा लागेको बताउँछन् । ट्राफिक प्रहरीका पूर्व निरिक्षक सीताराम हाछेथु भन्छन्, ‘हेलमेटले गर्ने काम भनेको दुर्घटना हुँदा टाउको जोगाउने मात्र हो । हेलमेट लगाए पनि अन्य भागमा चोट लाग्ने जोखिम उत्तिकै हुन्छ । के अब जिउको सबैभागमा सुरक्षा कवच अनिवार्य गर्ने ?’

उनी भन्छन्, ‘हेलमेट अनिवार्य गर्नेभन्दा पनि दुर्घटना न्यूनीकरण कसरी गर्नेतिर ट्राफिक प्रहरीको ध्यान केन्द्रीत हुनुपर्छ ।’ दुर्घटना न्युनिकरणका उपायमा ट्राफिक प्रहरीले ध्यान दिए दुईवटा हेलमेटबारे बहस नै गर्नु नपर्ने उनको भनाई छ ।

हेल्मेटले धेरथोर राहत त पक्कै दिन्छ । मोटरसाइकल चालक मिलन पोखरेल भन्छन्, ‘दुर्घटनामा त चालक मात्रै घाइते हुने कुरो हुँदैन । पछाडी बस्ने यात्रु असुरक्षित नै हुन्छन् ।’

दुई पाङ्ग्रे सवारी साधन अत्याधिक दुर्घटना हुने गरेको भन्दै मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनुपर्ने नियम ल्याउनु सही नै भएको उनको भनाई छ ।

१७ वर्षअघि पनि थियो

महाशाखाले ल्याउन लागेको यो नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो ।

तर, उक्त नियम हटेको १४ वर्षपछि ट्राफिक प्रहरीले पुनः पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

तत्कालीन सरकारले २०५९ सालमा दुई पाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो ।

त्यतिबेला पनि उक्त निर्णयको व्यापक विरोध भयो । जसोतसो ३ वर्षसम्म टिक्यो । अन्ततः व्यापक विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने निर्णय ल्यायो ।

तत्काल कार्यान्वयन हुँदैन

दुई पाङग्रे सवारी साधन पछाडि बस्ने यात्रुलाई ऐनमै अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था रहेकाले त्यसैको आधारमा यो नियम ल्याउन लागिएको उनले बताए ।

यता महाशाखा प्रमुख एसएसपी पन्तले उच्च गुणस्तरको हेल्मेट प्रयोग गरेमा केही हदसम्म सवारी दुर्घटनामा कमी आउने बताए । उनले भने, ‘यो नियम तत्काल कार्यान्वयन भने हुँदैन ।’

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकाय बीचको समन्वय र सहकार्य पश्चात मात्र कार्यान्वयन हुने एसएसपी पन्तले बताए ।

यस्तो छ ऐन

सवारी तथा यातायात व्इवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारी बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ’ भन्ने उल्लेख भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप