शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्फामा फेरि रडाको

सोमबार, ०६ जेठ २०७६, १६ : ३१
सोमबार, ०६ जेठ २०७६

काठमाडौं– विधि र विधानको विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) मा फेरि रडाको सुरु भएको छ । एक बर्षअघि एन्फा नेतृत्वमा पुगेको कर्माछिरिङ शेर्पा समूहको काम गर्ने शैलीप्रति जिल्ला संघ र एन्फाका पदाधिकारीले नै असन्तुष्टी व्यक्त गर्न थालेका छन् ।

एक साताअघि मात्र एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य पूर्णमान चित्रकार र रत्न श्रेष्ठले एन्फा विधान विपरित चलेको भन्दै कार्यसमितिको बैठक बहिस्कार गरेका थिए । एन्फा नेतृत्वले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृत भएको विधान अहिलेसम्म उपलब्ध नगराएको र विधान छ, भनेर सबैलाई भ्रममा पारेको ती पदाधिकारीको आरोप थियो ।

एन्फा नेतृत्वले विधानको विषयमा जिल्ला संघ र क्लबहरुलाई अहिलेसम्म जानकारी नदिएको ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापाले बताए । ‘एन्फाको २०७५ साउन ३० गते चितवनमा भएको साधारण सभाले पारित गरेको विधान हामीले पाएका छैनौं । त्यसपछि गत चैतमा विराटनगरमा भएको विशेष साधारण सभामा जिल्लाबाट तीन जना प्रतिनिधि गएकोमा दुई जनामात्र बस्ने भनियो । नयाँ विधानअनुसार दुई जना होला भन्ने हामीले पत्यायौं । तर एन्फाको नयाँ विधान राखेपबाट पास भएको रहेनछ,’ थापाले भने ।   

विधानअनुसार एन्फा कार्यसमिति बैठक आह्वान गर्न कम्तिमा १४ दिन अवश्यक हुन्छ । राखेपमा भएको विधानमा पनि त्यही छ । नयाँ विधानमा भने कार्यसमितिको बैठक आह्वान गर्न कम्तिमा सात दिन आवश्यक हुन्छ भन्ने थियो । तर, एन्फाले राखेपबाट नयाँ विधान पास भइसक्यो भनेर हामीलाई झुक्याउने काम गरिरहेको छ,’ थापाले भने ।

नयाँ विधान नभएकै कारण एन्फा कार्यसमितिको एक साताअघि बसेको बैठकको वैधानिकतामा प्रश्न उठेको थापाले बताए । उपाध्यक्ष खड्का सहित तीन पदाधिकारीले बैठक बहिस्कार गरेपछि पुनः १४ दिनको म्याद पूरा गरेर जेठ १७ गतेका लागि अर्को बोलाइएको पनि थापाले बताए । एन्फाका कार्यसमितिको एक साता अघिको बैठकले उपाध्यक्ष पंकज नेम्वाङलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत नियुक्त गर्दै विभिन्न निर्णय समेत गरेको थियो ।

थापाले विधिको चर्को कुरा गरेर एन्फा हाँक्न पुगेका पदाधिकारीले झनै घिनलाग्दो काम गरिरहेको आरोप पनि लगाए । उनले विगतमा भन्दा एन्फामा आर्थिक हिनामिना धेरै बढेको बताए । ‘एन्फाको भइरहेको भवन रेनोभेट गर्ने भन्दै तीन करोड ५१ लाख रुपैयाँ आफुखुशी खर्च गर्न लागियो ।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा उजुरी दिएपछि अहिले काम रोकिएको छ । त्यो पैसालले त नयाँ भवन बन्छ । काम चलिरहेको भवन रङ्ग्याएर करोडौं सक्ने योजना अहिले विफल भएको छ,’ थापाले भने । उनले एन्फा नेतृत्वलाई सबै जिल्ला तथा ए, बी र सी डिभिजन क्लबहरुलाई राखेपबाट स्वीकृत भएको विधान भए तत्काल उपलब्ध गराउन माग पनि गरेका छन् ।

यसअघि पनि एन्फा अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका पदाधिकारीले एन्फामा कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएर आएपछि आर्थिक अनियमितता र भष्ट्राचार मौलाएको आरोप लगाएका थिए । उनीहरुले पत्रकार सम्मेलन मार्फत शेर्पा समूहले चुनाव जित्नका लागि ठूलो धनराशी खर्च गरेको प्रमाण स्वरुप आर्थिक लेनदेनको अडियो टेप समेत सार्वजनिक गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप