शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैनिक जवान हत्या प्रकरणः भागाभागपछि गाउँ नै सुनसान, ६ जना पक्राउ

सोमबार, ०६ जेठ २०७६, १६ : ५७
सोमबार, ०६ जेठ २०७६

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

वैशाख २८ गते राती २५ वर्षीय सैनिक जनाव अनिश कुमार सिंहको चोरीको आरोपमा कुटपिट गरी हत्या भएको थियो ।

कुटपिटमा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको र  अन्य ४ जनालाई सोधपुछ गरी आवश्यक परेको बेला प्रहरीमा उपस्थित हुने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए ।

अनुसन्धानमा असर गर्ने भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । प्रवक्ता खरेलले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै दोषीलाई चाँडोभन्दा चाँडो अनुसन्धानको दायरामा ल्याइने बताए ।

गत वैशाख २८ गते राती सोही वडाको छिमेकी गाउँ तेनुवापटीमा वीरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा केही स्थानीय युवाले सिंहलाई विजुलीको खम्वामा हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

कुटाइबाट सख्त घाइते सिंहको उपचारको क्रममा छाउनीस्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो ।

सिंहको गत शुक्रबार सलामीसहित अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि समारोहमा तीनै अंगका सुरक्षाकर्मी तथा प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।

तेनुवापट्टीमा भागाभाग

सिरहाको वडियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ अहिले अहिले सुनसान छ  ।

सैनिक जवान सिंहलाई नियन्त्रणमा लिइ कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुषहरु गाउँ छोडेर भागेका हुन् ।

युवा तथा पुरुषहरु फरार भएपछि गाउँमा महिला, बालबालिका र वृद्धहरुमात्र रहेका छन् ।

नयाँ कोही गाउँ पुग्नासाथ उनीहरुको आँखामा एक खालको त्रास देखिने गरेको छ ।

चोरीको आरोप लगाउने वीरेक्षणको घरमा यतिबेला ताला लागेको छ ।

परिवारको ६ बुँदे माग

घटना भएको दिन प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि घेराऊ र सडक अवरोध खुला गरिएको थियो ।

परिवारले प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे माग पनि प्रस्तुत गरेका छन् । जसमा परिवारको सदस्यलाई सेनामा रोजगारीको ग्यारेन्टी तथा दोषी पत्ता लगाई कडा कारवाहीको माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप