शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘हनुमान’ भर्ती गर्न खोज्दा सय दिनदेखि नेविसङ्घ नेतृत्वविहीन

नेताहरुले रचेको डिजाइनले नेविसङ्घ बन्धक बन्यो : निवर्तमान अध्यक्ष महर
मङ्गलबार, ०७ जेठ २०७६, १० : ३२
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नर्सरी (नेपाल विद्यार्थी सङ्घ) सयदेखि नेतृत्वविहीन अवस्थामा गुज्रिरहेको छ ।

महाधिवेशन गर्न नसकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११औँ निर्वाचित कार्यसमितिलाई राजीनामा दिन बाध्य पारिए पनि अहिलेसम्म नेविसङ्घले अर्को नेतृत्व पाउन सकेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवासहित नेविसङ्घ हेर्ने जिम्मेवारी पाएका पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले प्रत्येक सार्वजनिक कार्यक्रममा नेविसङ्घले छिट्टै नेतृत्व पाउने बताउँदैै आएका छन् ।

यद्यपि उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा नेताहरुबीच विवाद कायमै छ ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसङ्घ भङ्ग गर्न एक ठाउँमा उभिएका थिए । पौडेलको समर्थन पाएपछि सभापति देउवाले महर नेतृत्वको कार्यसमिति भङ्ग गरे । तर अहिले पौडेलले तदर्थ समितिको संयोजक आफूनिकट नेताले पाउनुपर्ने अडान राखेपछि देउवा समस्यामा परेका छन् ।

यता, सभापति देउवा निकट मानिएका नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञनेन्द्रबहादुर कार्की र एनपी साउदले पनि आफूनिकट नेताहरुलाई नेतृत्वमा ल्याउन दबाब दिइरहेका छन् ।

समिति भङ्गबारे यस्तो भन्छन् निर्वतमान अध्यक्ष महर

नेविसङ्घबाट पार्टी राजनीतिमा प्रवेश गरेका नेताहरुले नेविसङ्घमा गुट सञ्चालन गरेका कारण यस्तो अवस्था आएको निवर्तमा अध्यक्ष नैनसिंह महरको ठहर छ ।

उनले भने, ‘नेविसङ्घबाट पार्टीको केन्द्रीय तहमा गएका सबै नेताले नेविसङ्घका ८५ जना केन्द्रीय सदस्यलाई गुट उपगुटमा विभाजन गराउने काम गर्दै आएका छन् । यस्तो अवस्थामा नेविसङ्घ कसरी चलायमान हुन्छ ।’

आफूलाई असफल बनाउन नेताहरुले रचेको डिजाइनले नेविसङ्घलाई बन्धक बनाएको दाबी महरको छ ।

‘मलाई असफल देखाउन प्रमुख नेताहरुले जिल्ला अधिवेशन हुन मात्र बाँकी हुँदा पनि महाधिवेशन हुन दिएनन् । वरिष्ठ नेता राचन्द्र पौडेलले त सबैभन्दा बढी भूमिका खेले । मलाई असफल बनाउन वीरबहादुर बलायरबाहेक सबै नेताहरु हात धोएर लागे । उनीहरु यसरी किन लागे भन्दा त उनीहरुलाई आफ्ना मान्छे भर्ती गर्नु थियो,’ उनले भने, ‘निर्वाचनबाट आफ्ना मान्छे आउँदैनन् । निर्वाचनबाट त जो बलियो छ त्यही आउँछ । आलुतरकारी बोक्ने, भाषण फेसबुकमा सेयर गरिदिने मन्छे ल्याउन तदर्थ समिति बनाउनुपर्यो । त्यसकारण सबैले मेरो बहिर्गमनको बाटो खोज्न थाले । सबै नेतालाई आफ्ना भान्सेलाई नेविसङ्घमा भर्ती गर्नुछ, जसको चेपुवामा पार्टी सभापति पर्नुभएको देखिन्छ ।’

नेविसङ्घमा अराजक तत्त्व हाबी हुँदै गएकाले आफू राजीनामा दिन बाध्य भएको पनि महरले प्रष्ट पारे ।

‘मलाई पनि निकै कष्ट थियो । नेविसङ्घ जस्तो सङ्गठनमा टाइम सकिसकेपछि अध्यक्षका रूपमा बस्न निकै गाह्रो थियो । सङ्गठनमा निकै अराजक छ । सबै युवाहरुको कुरा पनि समेट्न गाह्रो नै हुन्छ । काम गर्न नसकिने भइसकेपछि पद ओगटेर किन बस्ने ?,’ उनले भने ।

पार्टीका लागि नेविसङ्घमा आफू राम्रो गर्दा पनि जस लिने समयमा आफूलाई राजीनामा दिन बाध्य बनाएको महरको गुनासो छ ।

उनले भने, ‘२२ जिल्लाको अधिवेशन, १ सय ५० भन्दा बढी पालिकाको अधिवेशन, ६५ प्रतिशतभन्दा बढी स्कुल र क्याम्पसको अधिवेशन गरेको थिएँ । तर कतैबाट पनि सहयोग नहुने, इन्टेन्सन बुझ्दाखेरी सबैले राजीनामा देओस् भन्ने देखियो । शेरबहादुर दाइको मनसाय तीन दिन अगाडि थिएन । उहाँ तीन दिन अगाडिसम्म महाधिवेशन नै गराउनुपर्छ भन्नुहुन्थ्यो । तीन दिन पछाडि उहाँ पनि अलमलिनुभयो । अनि राजीनामा दिए हुन्थ्यो भन्ने कुरा गर्न थाल्नुभयो ।’

पार्टी पराजित भएपछि पार्टीसँगै नेविसङ्घमा पनि विग्रह सुरु भएकाले आफूहरुले समयमा महाधिवेशन गर्न नसकेको महरको बुझाइ थियो ।

‘पार्टीले चुनाव हारिसकेपछि पार्टीभित्र नेताहरुबीच चर्काचर्की भयो र नेविसङ्घ पनि छिन्नभिन्न भयो । हिजो जस्तो जे भए पनि विवाद गरेर हुँदैन मिलाएर जानुपर्छ भन्यौँ । महाधिवेशन गराउनु पर्छ । ५२ सालपछि माओवादीले नेविसङ्घ भन्दा टाउको काट्थ्यो, जसका कारण सबै ठाउँमा नेविसङ्घको सङ्गठन थिएन,’ उनले भने, ‘त्यसपछिका १२ वर्षसम्म पनि नेविसङ्घ गाउँतिर गएको छैन । १२ वर्षको उत्पादनलाई नेविसङ्घमा इन्गेज गराउन साढे ६ लाख सदस्यता वितरण गरेँ । त्यो गरेपछि सङ्गठनभित्र चलायमान आएको थियो । पार्टीले ३२ वर्षमुनिकालाई नेतृत्वमा ल्याउने विधान पारित गरिदिएपछि सङ्गठनमा ठूलो उमङ्ग आएको थियो । भोजपुरदेखि बैतडीसम्ममा निर्वाचनमा लागेका थिए । पार्टीका नेताहरुलाई पचेन ।’

पार्टीले पदाधिकारीबिनाको तदर्थ समिति ल्याउन खोजेको सङ्केत गर्दै त्यसले नेविसङ्घमा भाड्भैलो हुने महरको दाबी छ ।

‘निर्वाचित समितिमा २५ प्रतिशत भद्रगोल थियो भने अब ७५ प्रतिशत भद्रगोल हुन्छ । अब ल्याइने तदर्थ समिति जस्तो ल्याए पनि जोसुकैलाई ल्याए पनि नेविसङ्घमा अझै बढी अराजकता आउँछ । अब नेताहरुबाट टीका थापेर आउनेले १० प्रतिशत मात्र समर्थन पाउँछ । सबैलाई अटाउन सक्ने अवस्था छैन,’ उनले भने । नेविसङ्घको विवादलाई केही मथ्थर पर्ना भए पनि ३२ वर्षमुनिबाट पदाधिकारीसहितको समिति ल्याउन महरको सुझाव छ ।

‘नेविसङ्घको विधानमा व्यवस्था भएअनुसार पदाधिकारीसहितको १ सय १ सदस्यीय कमिटी ल्याउनुपर्छ । त्यसले मात्र समयमा अहाधिवेशन गराउँछ । साथै देशभरका साथीहरुले योगदान दिएका छन् । प्रतिपक्षी सङ्गठनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ,’ उनले भने, ‘यस्तो अवस्थामा नेतृत्वले प्रादेशिक समिति पनि ल्याइदिनुपर्छ । त्योभन्दा यता उता गएपछि सङ्गठनलाई भलो गर्दैन ।’

जागरण अभियानमा नेविसङ्घको विवादले घोच्यो

यता पार्टीको जारी राष्ट्रिय जागरण अभियानमा पनि नेविसङ्घ विषयले आफूहरुलाई घोचिरहेको नेताहरु बताउँदै आएका छन् ।

नेविसङ्घभित्र प्रभाव जमाउँदै आएका नेता गगन थापा नेविसङ्घ समिति किन भङ्ग गरेको र अहिलेसम्म अर्को नेतृत्व किन नल्याएको भन्ने प्रश्नले हैरानी ब्यहोर्नुपरेको बताउँछन् ।

नेता थापाले भने, ‘विद्यार्थी साथीको पहिलो प्रश्न नेविसङ्घको कमिटी किन भङ्ग गरेको ? अनि अर्को कमिटी अहिलेसम्म किन नल्याएको ? भन्ने छ । पार्टी नेतृत्वलाई सोध्यो, हुँदैछ भन्नुहुन्छ । हामी नाजवाफ भएका छौँ । यत्रो समयसम्म हामीले पनि हुँदैछ भनेर कसरी भन्ने ? लाजमर्दो कुरा गरेर पनि भएन ।’

थापाले आक्रोश पोख्दै थपे, ‘नेविसङ्घको मात्र हो र ? भ्रातृ संस्थाहरुको हरिविजोग छ ।’

‘नेपाल विद्यार्थी सङ्घको निर्वाचन हुँदै थियो । केन्द्रमा हामीले भङ्ग गरिदियौँ, सकियो । सङ्गठनमा लागेका साथीहरु पनि पूरै निराश छन् । हामीसँग उनीहरु व्यापक रिसाएका छन् । यो सबै कुरा पनि नगर्ने यो देउवा अभियोजन जागरण अभियान भनिएको छ । यसले के परिमाण दिन्छ ?’

पार्टी प्रवेशको नाका लथालिङ्ग बनाएर नेतृत्वले के गर्न खोजेको हो भन्ने थापाको प्रश्न छ ।

‘महाधिवेशन गर्ने कुराको माहोल बनेको थियो,  त्यो सबै भङ्ग भएको छ । नेपाल विद्यार्थी सङ्घ नेपाली काँग्रेस पार्टी प्रवेश गर्ने मुख्य नाका मानिन्छ । तर पार्टी नेतृत्वले निर्वाचित कार्यसमिति किन भङ्ग गरेको होला भनेर निराश छन् । नेविसङ्घको यस्तो हालत बनाएर पार्टी नेतृत्वले के गर्न खोजेको हो ?,’ थापाले प्रश्न मिश्रित आक्रोश पोखे ।

यता नेविसङ्घका पूर्वअध्यक्षसमेत रहेका नेता प्रदीप पौडेलले नेविसङ्घ र भ्रातृ संस्थाहरूलाई अस्तव्यस्त बनाएको भन्दै कार्यकर्ताले आक्रोश पोखेको बताए ।

तर महर नेतृत्वको समिति भङ्गका लागि पार्टी केन्द्रीय समिति बैठकमा प्रस्ताव पेस गरेका उपसभापति निधि सबै पक्षलाई मिलाए केही दिनभित्र नेविसङ्घले नेतृत्व पाउने बताउँछन् । सय दिनसम्म नेविसङ्घले किन नेतृत्व पाउन सकेन भन्ने प्रश्नमा उनले आफू पनि अनभिज्ञ रहेको तर्क गरे ।

निधिले ‘चाँडै’ समस्या समाधान हुने दाबी गरिरहँदा नेविसङ्घले जेठ अन्तिम साता वा असारको पहिलो साताभन्दा अगाडि नेतृत्व पाउने सम्भावना छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप