शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

मङ्गलबार, ०७ जेठ २०७६, ११ : ३२
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । 

मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार स्थानीय शव मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हाे ।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेकाे छ । 

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान साेझ्याएकाे छ । 

केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनुसार आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारीले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । 

सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको प्रवक्ता पोखरेलले जानकारी दिए । सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ ।

मकुन्डो लगाएर आएको हतियारधारीको समूहले ९ जनाको नै विभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता (इन्सपेक्टर) अनिल पौडेलले जानकारी दिए । उनका अनुसार हत्या के कारणले गरेको खुल्न सकेको छैन । 

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । 

यता घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको प्रवक्ता पोखरेलले जानकारी दिए । 

यस्तै सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप