बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनसनरत नर्स भन्छिन् – ‘बेहोसीमा झुक्याएर अनसन तोडाउन जुस खुवाएको म मान्दिनँ’

वार्तामा बस्ने अरु नर्सले औषधि खाएका थिएनन् : नर्सिङ संघकी अध्यक्ष
मङ्गलबार, ०७ जेठ २०७६, १३ : २७
मङ्गलबार, ०७ जेठ २०७६

आइतबार साँझ नर्सिङ संघको पहलमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र नर्सिङ संघमा वैशाख २७ गतेदेखि अनसनरत नर्सले अनसन तोडे भन्दै नर्सिङ संघकी उपाध्यक्ष गंगा थापाले सहमति पत्रसहित सामाजिक सञ्जालमा राखिन् । सहमति पत्र नै सार्वजनिक भएपछि नपत्याउने कुरा नै आएन ।

वार्तामा बस्ने अरु नर्सले औषधि खाएका थिएनन् : नर्सिङ संघकी अध्यक्ष

तर, अहिले अनसनरत नर्सहरुले भने आफूहरुले अनसन नतोडेको बताएका छन् । अनसनरत नर्स डिकी शेर्पा भन्छिन्, ‘सो समयमा हामीलाई झुक्याएर अनसन तोडेको भनियो । हामी अहिले पनि अनसनमा छौँ ।’

वैशाख २७ गतेदेखि मानव अङ्ग प्रत्यारोपण केन्द्रकी नर्स डिकी शेर्पा अस्पतालले नर्सहरु प्रति गरेको व्यवहारको विरोधमा अनसन बस्दै आइरहेकी छिन् । अर्की सिनियर नर्स जीता बराल पनि देशभरको नर्सको समस्याको विषय उठान गर्दै नर्सिङ संघमा अनसन बस्दै आइरहेकी छिन् ।

आइतबार अनसन तोडियो भन्ने कुरा झुट भएको भन्दै दुवै नर्सहरुले अनसन जारी रहेको बताएका छन् ।

बेहोसीमा जुस खुवाइयो

नर्स डिकी शेर्पाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई निन्द्रा लाग्ने औषधि खुवाइएको थियो । सोही समयमा अनसन तोडाउन जुस खुवाएको र आफू होसमा नभएको बेलामा गरिएको सहमति मान्य नहुने उनी बताउँछिन् । नर्सको माग सम्बोधन नगरेसम्म अनसन जारी राख्ने उनको भनाई छ ।

विगत १२ दिन देखि अनसनरत दुवै जना नर्सको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ । औषधि लिएको बेलामा झुक्याएर अनसन तोडाउने अस्पतालले स्वास्थ्यमा पनि खेलवाड गर्ने भन्दै नर्स डिकी शेर्पालाई हिजो रातीनै ओम अस्पतालको आईसीयूमा सारिएको आन्दोलनरत नर्सहरुले बताए । अहिले उनको आईसीयूमा उपचार भइरहेको छ । 

वैशाख २७ गते बाट अनसनरत नर्स जीता बरालको स्वास्थ्य अवस्था पनि खस्कदै गएको अस्पतालले जनाएको छ । खानपान नियमित समयमा नभएपछि नर्स जीतालाई  छाती दुख्ने, ज्वरो आउने, रुघाखोकीको समस्या देखिएको छ ।

अब पनि सम्बन्धित निकायले अनसन तोड्न पहल नगरेको खण्डमा नर्सको स्वास्थ्य अवस्था झनै जटिल बन्ने डाक्टहरहरुको भनाई छ ।

वार्तामा बस्ने अरु नर्सले औषधि खाएका थिएनन्

यता, नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले रातोपाटीसँग कुरा गर्दै डिकीले निदाउने औषधि खाए पनि वार्तामा बसेका उनका ३ जना साथीहरुले औषधि नखाएको र होसमा नै सहमति भएको बताइन् । सहमतिपछि मात्र अनसन तोडिएको उनको भनाई छ ।

माग सम्बोधनको लागि वार्ता टोलीमा आन्दोलनरत नर्सको तर्फबाट नर्स रबिता सितिखु, प्रविना कार्की र सजना देउलासँग सहमति भएपछि नै अनसन तोडाउने काम भएको अध्यक्ष पोखरेलले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, नर्सिङ संघका अध्यक्ष तथा पदाधिकारी र नेपाल शेर्पा महिला संघको अध्यक्षसँगको छलफल पछि १० बुँदे सहमति भएको र त्यसपछि अनसन तोडिएको हुँदा झुट नभएको पोखरेलले दाबी गरिन् ।

सहमति लगत्तै मानव अङ्ग प्रत्यारोपण केन्द्रका नर्सहरुको १० प्रतिशत माग सम्बोधन भएको हुँदा अनसनरत नर्सले ‘अहिले अनसन तोडेको छैन’ भन्नुनै गलत भएको अध्यक्ष पोखरेलले रातोपाटीसँग बताइन् ।

यता, अर्का अनसनरत नर्स जीता बरालले भने देशभरको नर्सको समस्याको विषयमा अनसन बसेको हुँदा अहिले मन्त्रालयमा छलफल भइरहेको पनि अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

के–के भएको थियो सहमति ?

१.केन्द्रमा करारमा रहेका स्वाथ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मनत्रालयबाट प्राप्त नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने ।

२.केन्द्रका लागि आवश्यक विभागहरु आईसीयू तथा युरोलोजी लोकसेवा आयोगको परीक्षा सञ्चालन हुन अगावै स्थापना गरी सेवा विस्तार गर्ने र तत्पश्चात् कार्डियोलोजी, हेपाटोलोजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने । प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करामा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ति नपाएमा विस्तारित विभागहरुमा खाई पाई आएको करार नियुक्तीलाई निरन्तरता दिने ।

३. नेपाल सरकार स्वास्थ्य ऐन श्रम ऐनसँग बाझिएका यस केन्द्रको नियमावलीलाई परिमार्जन र संशोधन गर्न स्वास्थ्य तथा कर्मचारीहरुको सहभागितामा कार्यदल गठन गरी संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने

४. लोकसेवाको मौखिक अन्तर्वार्ता निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तर्वार्ता सञ्चालनका लागि अनुरोध गर्ने । यदि लोकसेवा आयोगबाट सहयोग प्राप्त नभएमा स्वास्थ्यकर्मी तथा कर्मचारीको परामर्शम निष्पक्ष समिति गठन गर्ने ।

५. लोकसेवा परीक्षा २०७६ साल कात्तिक महिनामा तिहारपछि सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीसहित यस केन्द्रको कार्यकारी निर्देशकले सम्बन्धित निकायम पहल गर्ने ।

६. केन्द्रमा नर्सिङ डाइरेक्टर तत्कालका लागि काजमा व्यवस्था गरी स्थायी दरबन्दीका लागि आवश्यक प्रक्रिया तत्काल प्रारम्भ गर्ने ।

७. केन्द्रको बोर्ड बैठकमा केन्द्रका नर्सिङ डाइरेक्टरको सहभागिता र प्रतिनिधित्व अनिवार्य गर्ने । नर्सिङ डाइरेक्टर नियुक्ति नभएको हकमा आवश्यकता अनुसार विज्ञ नर्सलाई आमन्त्रण गरिने ।

८. यस केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिको लागि केन्द्रका कार्यकारी निर्देशक तथा सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सम्बन्धित निकायमा पहल गर्ने ।

९. यो सहमतिामा दुवै पक्षबाट हस्ताक्षर भएपश्चात् यस केन्द्रमा आमरण अनसनमा बसेका स्वास्थ्यकर्मी डिक्की शेर्पा र विपि स्मृति अस्पताल बसुन्धरामा बसेका जिता बराललाई आमरण अनसन तोड्न अनुरोध गर्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने ।

१०. अनसन र आन्दोलनको क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सम्बन्धित अस्पतालबाट निःशुल्क उपचार गर्ने र गिरफ्तार भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तत्काल रिहा तथा मुद्धाहरु लगाएको भए फिर्ता गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप