शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सूचना महामार्ग अभियान ‘डिजिटल नेपाल’ मा नयाँ फड्को

मङ्गलबार, ०७ जेठ २०७६, २२ : ४८
मङ्गलबार, ०७ जेठ २०७६

–प्रकाश सिलवाल

काठमाडौं- अभियानकै रुपमा थालनी भएको सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने निर्माण कार्य डिजिटल र समृद्ध नेपालको पूर्वाधारमा नयाँ फड्को सावित भएको छ ।

सूचना प्रविधिको युग सुहाउँदो सेवा र पहुँच विस्तारका लागि मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेटलगायतका अत्याधुनिक सञ्चार सेवालाई  उच्च  क्षमता  र  गुणस्तरयुक्त  बनाउन सूचना महामार्गले सेतुको भूमिका निर्वाह गर्नेछ । मुलुकभर  भरपर्दो  र  दिगो सञ्चार  सेवा  उपलब्ध  गराउन थालिएको  यस अभियानअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले मध्य पहाडी लोकमार्गमा पर्ने प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल टेलिकमलाई  दिएको छ । टेलिकमले पाँच वटा कम्पनीसँग  निर्माण सम्झौता गरी कार्यारम्भ गरेको छ ।

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  सोमबार धादिङको गल्छीमा प्राधिकरण र टेलिकमद्वारा आयोजित समारोहमा मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गरेका थिए । मुलुकभर यो महामार्ग निर्माणका लागि प्राधिकरणको रु नौ अर्ब विनियोजित छ ।

नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उक्त कोषको रकम अधिकतम् उपयोगी अप्टिकल फाइबर बिछ्याउने कामलाई तीव्रता दिने उल्लेख भएअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ¬‘डिजिटल नेपाल’ को खाका तयारीसँगै महामार्ग निर्माण थालेको हो ।

दूरसञ्चार ऐन, २०५३ बमोजिम ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि प्राधिकरणले एक कोष खडा गर्ने र अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको दुई प्रतिशतले हुन आउने रकम सो कोषमा जम्मा गर्नुपर्ने छ । सो कोषमा जम्मा भएको रकम नेपाल सरकारको दूरसञ्चारसम्बन्धी नीतिको अधिनमा रही सेवा प्रदायकमार्फत् ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि प्रयोग गरिने व्यवस्था रहेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कठिन भूबनोटका बीच महामार्गको निर्माण सहज नभए पनि डिजिटल नेपालको पूर्वाधार (कनेक्टिभिटी) मा सूचना  तथा प्रविधिका क्षेत्रमा अगुवाइ गर्ने चुनौती लिएर आफूहरु स्थलमा गएको बताए । रासससँग कुरा गर्दै उनले विद्युत्का खम्बा नभएका स्थानमा फरक एडिएसएस केवल र त्यो पनि नभएको ठाउँमा माइक्रो डाटा वेभ क्षमताको नेटवर्क स्थापना गरिने जानकारी दिए । उनले भने, “बजार प्रतिस्पर्धी छ, प्रविधि छिनछिनमा परिवर्तनशील छ ।

ग्राहकका चाहना पनि बढेका छन् । हामीले छिटो निर्णय गरेर त्यही गतिमा कार्यान्वयनमा सहज र सर्वसुलभ सेवा दिनुपर्नेछ । समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न यस क्षेत्रको नेतृत्व गर्दै हामी दगुरेर अघि बढ्नुपर्छ ।”

मुलुकका गाउँपालिका, विद्यालय र स्वास्थ्यचौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीतिअनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको हो । हाल जम्मा ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट पहुँच सूचना महामार्गको निर्माणसँगै सबै नेपालीसम्म पुगी सर्वोपरि विकास र आधुनिकीकरणमा सहयोग गर्नेछ ।

सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा आधुनिक विश्व नै एक गाउँ भएको सन्दर्भमा दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिका आधारमा विश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तक्र्रिया तथा सार्वजनिक सेवा तथा सूचना प्रवाहमा आधारभतू परिवर्तन आउन थालेको छ ।

राज्य र निजी क्षेत्रका सेवा डिजिटल, इन्टरनेट, भिडियो डाटामा अन्तर आबद्धता गर्न र केन्द्रीय प्रणालीमा जोड्न ट्रान्समिशन मिडियाको आधारस्तम्भका रुपमा महामार्गले काम गर्ने छ । यो निर्माणपछि प्रति वेभलेन्थ १०० गिगावाट प्रतिसेकेण्ड उच्च क्षमताको गति प्राप्त हुनेछ । एक फाइबरमा ८० वेभलेन्थ हुन्छ ।

‘डिजिटल पूर्वाधारको समृद्धिको आधार, हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ को नारा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत् प्राप्त हुने अन्य लाभका अतिरिक्त यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत थप पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको लागि यथेष्ट पूवार्धार निमार्ण गर्न सहज हुने अपेक्षा सरकारको गरेको छ ।

बोर्डब्याण्ड भएपछि शिक्षा क्षेत्रमा अन्तक्र्रियात्मकरुपमा इ लर्निङ, स्वास्थ्यमा टेलिमेडिसिन पद्धतिका साथै कृषि, पर्यटन, भूगोल आदिका सूचनामा सहज पहुँच पुग्ने छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार प्रदेश नं १ को ५०६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को एक हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेल्बेको ज्वाइन्ट भेन्चर तथा प्रदेश नं ३ को ५५५  किलोमिटरको  लागि  फाइबर  बिछ्याउने  काम  हङकङको  सीसीएसआइ (चाइना  कम्युनिकेसन सर्भिस इन्टरनेसनल) सँग  सम्झौता भएको छ । 

डिडब्लुडीएमओआइएस पेमेन्टका लागि हङकङको  सीसीएसआइसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिङ्गापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि दुई वर्षको छ ।

मध्य पहाडी लोकमार्गअन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म कूल दुई हजार १०७ (किलोमिटर अप्टिकल नेटवर्क जोड्ने योजना छ । उक्त  लोकमार्गमा छ  कोर  क्षमताको  अप्टिकल  फाइबर  बिछ्याइने  छ  । त्यसैगरी  लोकमार्गबाट  जिल्ला सदरमुकाम  जोड्ने  अप्टिकल  फाइबर ४८ कोर र  विभिन्न  नगरपालिका जोड्ने  अप्टिकल  फाइबर  २४  कोरका हुनेछन् । उक्त  सडक खण्डको  उत्तर–दक्षिण  क्षेत्रमा  पर्ने  प्रदेश  नम्बर  १,  २  र  ३  अन्तर्गतका  ३५  जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप