मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाँचथर सामूहिक हत्या प्रकरण : गाउँले र आफन्तको साविती बयान

बुधबार, ०८ जेठ २०७६, ११ : ०६
बुधबार, ०८ जेठ २०७६

-रवीन्द्र काफ्ले

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको सामूहिक हत्यामा जिम्मेवार ठानिएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको आत्महत्याको विषयमा धेरै लख काटिँदैछ । सोमबार राति भएको घटनामा प्रहरीको प्रारम्भिक अध्ययनले दुवै परिवारको माखिमले हत्या गरेको निष्कर्ष निकालेको छ ।

बमबहादुरकी कान्छी छोरी मनकुमारीले श्रीमान मानबहादुरसँग तीन वर्षदेखि सम्बन्ध विच्छेदको माग गर्दै आएकी थिइन् । तीन वर्षसम्म सम्बन्ध विच्छेदका लागि तयार नभएका मानबहादुर केही साताअघि सम्बन्ध विच्छेदका लागि तयार भएका थिए । त्यही सम्बन्ध विच्छेदको परिणाममा यो घटना भएको धेरै स्थानीयवासी तथा आफन्तजनको ठम्याइ छ ।

यस विषयमा प्रहरीको सङ्घीय प्रहरी इकाई धरान, जिल्ला प्रहरी कार्यालय पाँचथरलगायतका निकायबाट अनुसन्धान सुरु भएको छ । बीभत्स हत्या गरिएका नौ जनासहित आत्महत्या गरेका माखिमको शव पोस्टमार्टमका लागि मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । हत्याकाण्ड कसरी हुन पुग्यो ? यस विषयमा शेर्मा र फियाकका छिमेकी तथा आफन्तसँग कुराकानी गरिएको छ ।

गणेशप्रसाद लुइटेल (स्थानीय शिक्षक एवं शेर्माका छिमेकी)

–यी दुवै परिवार साह्रै भद्र र आफ्नो सुतीखेती गर्दथे । धनराज शेर्मा गत वर्ष मात्रै विदेशबाट आएका थिए । बमबहादुरका छोरा नभएकाले धनराजसहित छोरी ज्वाइँहरुले सासूससुराको हेरचाह गर्थे । गत वर्षसम्म धनराजकी श्रीमती जस्मिता र छोरीहरु बमबहादुरको घरमा बस्थे । गत वर्ष नयाँ घर किनेपछि उनीहरु करिब डेढ किलोमिटर माथि नयाँ घरमा बसाइँ सरेका थिए ।

– बमबहादुरकी कान्छी छोरी तीन वर्षदेखि माइतीमा बस्थिन् । उनका श्रीमान यहाँ आउँदैने भन्ने सुन्थ्यौँ । हामीले पनि देखेका थिएनौँ । मनकुमारीले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न खोजेको कुरा गाउँमा प्रष्टै थियो । मानबहादुर भने सम्बन्ध विच्छेद गर्न तयार थिएनन् । तीन वर्षदेखि माइत बसेकी श्रीमती छोड्न नमान्ने मानबहादुरसँग धेरै आश्चार्य लाग्छ ।

–जस्मिता फियाक (शेर्मा)ले नयाँ घरमा ढाका बुन्न सिकाउँथिन् । अघिल्लो हप्ता मात्रै त्यहाँ किचनमा नुनमा सिसा हालिएको सुनियो । हामी पनि आश्चार्यमा पर्यौँ । बिरामी परेकाहरु उपचार गराएर फर्कंदैछन् ।

–“यो सबै मेरा साढुभाइको काम हो । म जसरी पनि त्यसलाई कानुनी कारबाही गराएर छाड्छु” भनेर सोमबार बेलुकी मात्रै धनराजले मलाई भनेका थिए । आज यस्तो भयो । यसबारे केही भन्न सक्ने अवस्था नै छैन ।

हरेन्द्र फियाक (स्थानीयवासी)

–सम्बन्ध विच्छेद गर्न मानबहादुरले मानेका थिएनन् । मलाई अनौठो लाग्छ, उनी किन श्रीमतीलाई छोड्न चाहँदैनथे ? उनीहरु एक्ला–एक्लै बसेको तीन वर्ष भइसकेको थियो । मानबहादुरमा केही गम्भीर मानसिक समस्या भएको हुनुपर्छ । हामीले सुनेअनुसार मानबहादुरलाई साढुदाइ धनराज शेर्माका कारण श्रीमतीसँग छुट्टिनुपर्छ भन्ने लागेको रहेछ । उसले नुनमा सिसा हाल्नु पनि त्यसैको परिणाम हो ।

– पछिल्लो पटक सम्बन्ध विच्छेदका लागि बकपत्र भइसकेको थियो । उसले नचाहेर श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुपरेको बदलामा दुई परिवार नै सिध्याउन खोजको हुनुपर्छ । तर त्यसले एक्लै सबैलाई मार्यो भनेर कसरी विश्वास गर्ने ? त्यो हुन सक्दैन ।

खम्बसिंह शेर्मा लिम्बू (धनराज शेर्माको भाइ)

– दाजुसँग ७, ८ दिनअघि फोनमा कुरा गरेका थियौँ । हँसिया, खुर्पा अर्जाप्न सराङडाँडा (पुख्र्यौली घर) आउँछु भनेको थियो । आज यस्तो भएछ । विदेश गएको, जान्ने बुझ्ने, परिवारलाई सहयोग गरेर छोरा नभएका सासू ससुराको स्याहार गर्ने दाइलाई यो हालतमा देख्नुपर्दा न बोल्न सक्छु न सोच्न नै । हामीले त उसको ससुरालीपट्टि के समस्या थियो ? के झैझगडा थियो ? सुनेका पनि थिएनौँ ।

रणबहादुर तुम्सा लिम्बू (बमबहादुरको अर्को ज्वाइँ)

– साली र साढु भाइको सम्बन्धबारे म धेरै जानकार छैन । मेरो घर टाढा भएकाले आइरहन पाउँदिन । सालीले डिभोर्स मागेको सुनेको थिएँ । साली र साढुभाइका जम्ल्याहा सन्तान जन्मेर मरेपछि साली माइतीमै बस्न थालेकी थिइन् । हामीलाई सम्बन्धबारे खासै खुलाएका थिएनन् । सासूससुरा तगडै हुनुहुन्थ्यो । ससुरा गोठालो जानुहुन्थ्यो । सासूले भातपानी (खाना बनाउने) गर्नुहुन्थ्यो ।

–हाम्रो सालो जेठान नभएकाले तीन ज्वाइँ र चार छोरी मिलेर सासू ससुरालाई सघाउँदै आएका थियौँ । अस्ती चैतमा आएर मकै छरेर म गएको थिएँ । साढु (चन्द्रराज शेर्मा)ले एकोहोरा गोढाउनु भएछ । म गएपछि एक पटक फोनमा कुरा गरेको थिएँ । आज हेर्छु यस्तो बेहाल छ । खै कसरी श्रीमतीलाई सम्हालौँ ? मसँग कुनै शब्द नै छैन । छरछिमेकीले जे भन्नुहुन्छ, त्यो कुरा साँचो हो । किनकि उहाँहरु यहीँ हुनुहुन्छ, दैनिक देख्नुहुन्छ ।

–हाम्रो परिवारसँग रिसइबी गर्ने कुनै पराया थिएनन् । न धन सम्पत्ति, न हामी ठूला मान्छे । तर आज सबै सोत्तर । यो काम आफ्नैबाट भएको भन्ने चाहिँ ठोकुवा नै हो । किनकि हामी कसैको केही विगार्न पनि नसक्ने मान्छे हौँ । माङ (भगवान)ले देख्नुभएको होला ।

हस्तराज फियाक (वडाध्यक्ष, मिक्लाजुङ गाउँपालिका वडा नं. ३)

– यो साह्रै सामान्य परिवार थियो । कसैको केही नविगार्ने । कोही बाहिरको मान्छेले यत्ति विघ्न नराम्रो गरी उनीहरुमाथि आक्रमण गर्ने कुरा त सोच्न पनि सकिन्न । जे–जे भयो आफन्तबाटै भयो ।

– मिति ठ्याक्कै थाहा भएन्, मानबहादुर र मनकुमारीको सम्बन्ध विच्छेदका लागि बकपत्र भइसकेको छ । विगतमा मानबहादुरले सम्बन्छ विच्छेद गर्न नमान्नु तर मनकुमारीले मानबहादुरलाई स्वीकार्न नसक्नु अचम्मको कुरा छ । आज मानबहादुर पनि झुण्डिएको भन्ने कुरा आयो । सबै कुरा प्रष्टै भए भन्ने देख्छु ।  

९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ

पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो

पाँचथरमा ९ जनाको विभत्स हत्या : यस्तो देखियो घटनास्थल 

सामूहिक हत्या प्रकरण : आत्महत्या गरेका मानबहादुरको श्रीमतीसँग खटपट ! 

ज्वाइँ झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी

आत्महत्या गर्ने ज्वाइँ नै थिए त ती नकाबधारी ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप