मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाँचथर सामूहिक हत्याकाण्ड : ‘पारिवारिक कलहले भयानक दुर्घटना’

बुधबार, ०८ जेठ २०७६, २० : ३७
बुधबार, ०८ जेठ २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ । अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् ।

उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही गाउँपालिका–७ लिम्बाका ३१ वर्षीय मानबहादुर माखिमले आत्महत्या गरेपछि घटना फिल्मी शैलीमा झैँ थप रहस्यमय बनेको छ । 

यद्यपि प्रारम्भिक अनुसन्धान र प्रमाणले भने घटना पारिवारिक कलहका कारण भएको र आत्महत्या गर्नेबाटै हुन पुगेको देखिएको प्रहरीको दाबी छ । 

आज राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापालेसमेत प्रारम्भिक तथ्यलाई पुष्टि हुने गरी पारिवारिक बेमेलकै कारण घटना भएको देखिएको बताए । उनले घटनाको सूक्ष्म अध्ययन भइरहेकाले दोषी पहिचान हुने आश्वासनसमेत दिए । 

घटना घटाउनमा मानबहादुर एक्लै थिए वा अरु पनि संलग्न थिए भन्नेबारेमा भने प्रहरीले यकीन गर्न सकेको छैन । विभत्स घटनाबाट भागेर जोखिएकी १४ वर्षीय सीता खजुमको बयानलाई नै मुख्य आधार बनाएर प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । 

आत्महत्या गरेका मानबहादुरको शव नजिकै रगत लागेको खुकुरी, टिसर्ट, लाइट फेला परेकाले पनि अनुसन्धान उनीमाथि नै केन्द्रित गरेको छ । प्रमाणले उसैले घटना घटाएको जस्तो देखिने तर सबै कोणबाट अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै सबै कुरा खुल्ने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए । 

उनका अनुसार जिल्ला सदरमुकामबाट घटनास्थल झण्डै ५५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । ग्रामीण कच्ची बाटोबाट त्यहाँ पुग्न सकिन्छ ।

जिल्लास्थित प्रहरी कार्यालय, सङ्घीय प्रहरी एकाइ धरान, प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली अनुसन्धानमा खटिएको छ । अनुसन्धानमा कुकुरसमेत परिचालन गरिएको छ । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपाने ल्याब टेष्टमा झुण्डिएर मरेका व्यक्तिको कपडामा लागेको रगत र घटनास्थलमा देखिएको रगत मेल खायो भने घटना उनैले घटाएको पुष्टि हुने भएकाले सबै कोणबाट अनुसन्धान जारी रहेको बताउँछन् । 

उनले आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट शव परीक्षण गरी आफन्तलाई बुझाइएको बताए । 

आत्महत्या गरेका मानबहादुरको ससुरा र साढुका परिवार घटनामा परेका छन् । ससुरा बमबहादुर फियाखसहित परिवारका चार र साढु धनराज शेर्माको परिवारका पाँच जनाको विभत्सरुपमा हत्या भएको हो । जेठ ६ गते राति सुतिरहेका बेला घटना भएकाले र प्रतीकार गर्नसक्ने मान्छेसमेत नहुँदा उनीहरु दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले पारिवारिक झगडाले भयानक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । 

उनी पनि मङ्गलबार दिनभर घटनास्थलको अनुसन्धानमा सक्रिय थिए । अनुसन्धानमा समस्या नआओस् भनेर यसपटक घटनाको प्रकृति मुचुल्का उठाउँदा चिकित्सकको टोलीसमेत लगेको थियो । 

शव परीक्षण रिपोर्टले मानबहादुरले आफैँ झुण्डिएर आत्महत्या गरेको पुष्टि भएको छ । उत्पन्न हुनसक्ने भ्रम चिर्नका लागि पनि प्रहरीले घटनास्थलमा चिकित्सक टोली लगेको थियो ।

मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो । मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ । 

पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् । पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । 

श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताए । 

अनुसन्धान साँघुरियो : प्रहरी प्रवक्ता 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सूक्ष्मरुपमा अनुसन्धान भइरहेकाले अनुसन्धान साँघुरिँदै गएको बताए । पोखरेलले भने, ‘आत्महत्या गरेको व्यक्ति र अपराधमा परेका व्यक्तिको रिलेसनका विषयमा सूक्ष्म अध्ययन भइरहेको छ, अहिले नै यसै भन्न मिल्दैन, अनुसन्धान भने साँघुरिएको छ ।’

यसपाली प्रहरी अली सजक भएर अनुसन्धानमा लागेको छ । निर्मला काण्डमा अलिकती हतारिँदा परिणाम नकारात्मक निस्किएकाले पनि अहिले प्रहरी सचेत हुँदै घटनाका विवरण सार्वजनिक गरिरहेको छ । पोखरेलले आत्महत्या गर्ने व्यक्ति र मृतक परिवारका बीचमा विषय जोडिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप