शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुर–शेखर जुहारी शृङ्खला, गगनको चासो !

शुक्रबार, १० जेठ २०७६, १० : ४८
शुक्रबार, १० जेठ २०७६

काठमाडौँ– काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचको आरोप प्रत्यारोप चुलिँदै गएको छ । सार्वजनिक रूपमा देउवा र शेखरको आरोप पत्यारोपले महाधिवेशन सम्मुखमा आएको झल्को दिन्छ ।

तर नियमित समयमा महाधिवेशन भए २०७७ फागुनमा १४औँ महाधिवेशन हुनेछ । तर विशेष कारण देखाउँदै एक वर्ष म्याद थप गर्न पाउने व्यवस्था विधानले सभापतिलाई दिएकाले उनको कार्यकाल झन्डै दुई वर्ष बाँकी छ । नेताहरू भने अहिले ने अस्वस्थ प्रतिपर्धामा उत्रिन थालेका छन् ।

शेरबहादुर– शेखरबीचको जुहारी शृङ्खला

प्रजातान्त्रिक विचार समाजद्वारा गत शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले नेताहरूबीच आपसमा बोलचाल नै नहुनु पराजित मानसिकताको उपज भनेको थिए ।

‘पार्टीमा आन्तरिक प्रतिस्पर्धा त हुन्छ तर यहाँ दुस्मनी हुन थालिसक्यो । बोलचाल नै बन्द भइसक्यो । काँग्रेसले काँग्रेसलाई नै हराउने गरी अन्तरघात भएपछि कहाँ चुनाव जित्न सकिन्छ ?,’ प्रश्न मिश्रित आक्रोश पोखेका थिए ।

आफ्नो आलोचना हुने गरेकोप्रति गुनासो गर्दै पार्टीभित्र विगतमा भन्दा अहिले प्रजातन्त्र आएको देउवाको दाबी थियो । ‘गिरिजाबाबु, सुशील सभापति हुँदा चुइँक्क बोल्न नसक्नेहरू अहिले बोल्न पाएका छन् । पार्टीमा अहिले विगतका भन्दा प्रजातन्त्र आयो नि !,’ उनको भनाइ थियो ।

त्यसको भोलिपल्ट काँग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा शेखर कोइरालाले सभापति देउवाका उक्त अभिव्यक्ति राजनीतिक संस्कार र नैतिकताअनुसार नभएको जिकिर गरेका थिए ।

देउवाले आफूमाथि आलोचना गर्नेहरू पराजित मानसिकताबाट ग्रस्त रहेको भनेपछि कोइरालाले भने ‘नेताका आलोचना नगर्ने हो भने काँग्रेस कस्तो लोकतन्त्र चाहन्छ ? पार्टी ठीक ढङ्गले चलेन भन्नु कसरी पराजित मानसिकता हुन्छ । पार्टी सभापतिले यस्तो अभिव्यक्ति दिनु राजनीतिक संस्कार र नैतिकताअनुसार हुँदैन ।’

 उनले थपे, ‘म त गुटमा विश्वास गर्दिनँ । सभापति भएर गुट चलाउने ? अझै बोलचाल गर्ने वातावरण छैन भन्ने ? बोलचाल गर्ने वातावरण सभापतिले बनाउनुपर्याे नि ? जागरण अभियानका क्रममा पार्टी नेतृत्वबारे कसैले बोले अनुशासन समितिमा कारबाहीका लागि लेखी पठाउन भनी कानुन व्यावसायीलाई जिम्मेवारी दिइएको छ । काँग्रेसभित्र यस्तो काम लोकतन्त्र विरोधी हो ।’

जागरणका क्रममा सरकारमाथि बढी खनिने गरेका कोइरालाले उक्त कार्यक्रमा देउवाको कार्यशैलीप्रति आक्रोश पोख्दै भने ‘नेविसङ्घ नेतृत्वबिना चलेको महिनौँ बित्यो, तरुण दललाई चारजनाले चलाउनुपरेको छ । यसरी तदर्थवादमा भ्रातृ सङ्गठन र पार्टी चलाउनु हुँदैन । हामी जागरण अभियानमा छौँ तर जागरण कसलाई किन चाहिएको छ ? नेतृत्वलाई, हामीलाई कि, तपाईंहरूलाई ? तपाईंहरू (कार्यकर्ता) त यसै जागरुक हुनुहुन्छ । बरु झगडा गरिरहने हामीलाई नै जागरण चाहिएको छ । विधानको संशोधित व्यवस्थाअनुसार पार्टीका संरचना नबन्दा कसका लागि जागरण चलाउने भन्ने प्रश्न उठेको छ ।’

माला काउन्टर

वीरगन्जमा गत फागुन ४ गते जीपी कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टी महान्त्री सशांक कोइराला, नेता शेखर कोइराला र नेतृ सुजाता कोइरालाले १ सय २१ किलोको एउटै माला पहिरिएका थिए ।

 उनीहरूले जबरजस्त रूपमा एउटै माला पहिरिएर आफूहरू एक भएको सन्देश दिने प्रयास गरेका थिए । कार्यक्रममा सुजाताले भनेकी थिइन्, ‘भाषण गरेर पार्टी चल्दैन, काम गरेर नेता बन्न सकिन्छ । भन्नेले नमिलेको भन्छन् तर हामी तीन कोइराला एक छौँ । अरूले टाउको नदुखाए हुन्छ ।’ त्यसको चार दिनपछि अर्थात फागुन ८ गते देउवा दलबलका साथ  बाराको सिमरा पुगेका थिए ।

उनले कोइराला परिवारका तीन जना सदस्यले पहिरिएको भन्दा ३० किलोभन्दा बढीको माला पहिरिए । दियालो होटलको उद्घाटन गर्न वीरगन्ज जाने क्रममा देउवालाई नेपाली काँग्रेस जीतपुरसिमरा नगरसमितिले एक सय ५१ किलोको माला लगाएको थियो । यद्यपि प्रतिक्रिया भने जनाएका थिएन ।

हैसियत र संस्कारको लडाइँ

फागुन ८ गते नै वीरगन्जमा पर्सा जिल्ला स्तरीय कार्यकर्ता भेलाको सम्बोधनमा पार्टी कोइराला परिवारको ‘बपौती’ नभएको टिप्पणी गरेका थिए ।

‘कसैको कोइराला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज छ । थर मिल्यो भन्दैमा सभापति बन्न पाउनैपर्छ भन्न पाइन्छ ? हो, काँग्रेसमा बीपी र गिरिजाप्रसाद कोइरालाको योगदान छ । यसलाई हामीले स्वीकार्दै आएका छौँ । पार्टीमा योगदान नगर्ने अनि कार्यकर्तामा भ्रम छर्दै हिँड्ने ? काँग्रेसका लागि शेखरको योगदान के छ ? उनी कति दिन जेल बसे ? सडकमा मण्डलेले मेरो टाउको फुटाउँदा र जेलमा बस्दा शेखर कहाँ थिए ? शेखरले जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?’ शेखरप्रति देउवाको आक्रोश थियो ।

देउवाको उक्त अभिव्यक्ति आएको पछिल्लो दिनमै विभिन्न सञ्चार माध्यममा देउवामा राजनीतिक संस्कार नभएको शेखरको प्रतिक्रिया थियो ।

उनी यतिमै रोकिएनन् । फागुन १३ गते विराटनगरमा सार्वजनिक रूपमै देउवालाई राजनीतिक संस्कार देखाएर अभिव्यक्ति दिन सुझाव दिए ।

पार्टी कोइराला परिवारको बपौती होइन भन्ने देउवाको अभिव्यक्तिप्रति प्रतिप्रश्न गर्दै शेखरले भने, ‘सभापति देउवालाई थाहा हुनुपर्ने हो काँग्रेस कोइरालाहरूले मात्र बनाएको पार्टी होइन भनेर । यो पार्टी धेरै साथीको योगदानबाट बनेको हो । धेरै काँग्रेसीको रगतले सिञ्चित भएर बनेको पार्टी हो ।’

देउवाले हैसियत के छ भन्नेबारे उनले आक्रोशित हुँदै भनेको थिए, ‘म को हुँ भन्ने मलाई राम्रो हेक्का छ । मेरो राजनीतिक संस्कार छाड्न म सक्तिनँ, बरु कोइराला परिवारको संस्कारलाई अझै राम्रो बनाउनुपर्छ । सभापतिले मेरो र मेरो परिवारबारे जे बोल्नुभएको छ, त्यो उहाँको राजनीतिक संस्कार होला । मैले कहिल्यै सभापतिको मानमर्दन गरेको छैन । तर काँग्रेस कमजोर हुँदै जानु पार्टी नेतृत्व असफल भएको भन्ने मेरो टिप्पणी हो ।’

देउवा–शेखर आरोप प्रत्यारोपमा गगनको चासो

वीरगन्जमा देउवाले शेखरको विषयमा दिएको अभिव्यक्तिबारे केन्द्रीय कार्यसमितिमा समेत चर्चा भएको थियो ।

फागुन १२ गते केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीभित्रका असहमति केन्द्रीय समितिभित्रै नगरी सार्वजनिक कार्यक्रममा नै नेताहरूबीच आरोप प्रत्यारोपको प्रवृत्तिले आम कार्यकर्तामा नकरात्मक सन्देश भन्दै नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

‘होला मसहित अन्य कतिपय नेताले पनि बाहिर आफ्ना असहमति राख्यौँ र सभापतिजीले पनि राख्नुभएको समाचार आयो । यसरी आपसका असहमति पार्टीभित्रैको फोरममा राखेर पार्टीभित्र अनुशासन र मर्यादा कायम नगर्ने हो भने यसले पार्टी कार्यकर्ता र आम जनतामा निराशा छाउँछ,’ बैठकमा थापाले भनेका थिए ।

थापाको प्रश्नको जवाफमा सभापति देउवाले आफूले शेखर कोइरालालाई पटक पटक पार्टीभित्रको विषय बाहिर नबोल्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर आफूले बोलेको बताएका थिए ।

‘मैले दुई पटक त शेखरलाई मेरै घरमा बोलाएर तपाईं जस्तो व्यक्तिले बाहिर मिडियामा विवादित कुरा नगर्नुहोस् भनेर सम्झाएँ । उहाँलाई मैले के गरिनँ ? हातै जोडेर तपाईंले सभापतिको विषयमा केही भए भित्रै भन्नुहोस्, बाहिर मिडियामा सार्वजनिक रूपमा नबोल्नुहोस् । सभापति व्यक्ति होइन, संस्था हो भनेँ । तर उहाँलाई हात खुट्टा ढोग्ने गरी भन्दा पनि बोल्न नछोडेपछि म बाध्य भए र हामी हिजो जेल पर्दा र टाउको फोरिँदा उहाँ कहाँ हुनुहुन्थ्यो भने,’ देउवाको भनाइ थियो ।

बैठकको उक्त कुरा देउवाले फागुन २३ गते कोइरालाकै गढ विराटनगर पुगेर पनि बताएका थिए । ‘मैले दुई पटकसम्म बोलाएर मेरो र पार्टीविरुद्धमा नबोल्नका लागि शेखरलाई भनेको छु तर उहाँले मान्नुभएन । मेराविरुद्ध अभियान नै चाल्ने काम भयो ।’

यद्यपि शेखर भने देउवाझैँ राजनीतिक संस्कार बिर्सिएर आरोप प्रत्यारोपमा नलागेको दाबी गर्छन् ।

शेखरमा गिरिजा प्रवृत्ति

यता देउवा खेमाका एकजना नेता शेखरमा गिरिजा प्रवृत्ति हाबी हुँदै गएको बताउँछन् ।

ती नेताले भने, ‘शेखर कोइरालामा पनि गिरिजाबाबुको जस्तै प्रवृत्ति देखियो । गिरिजाबाबुले तत्कालीन पार्टी सभापति कृष्णप्रासद भट्टराईलाई हराउन आधा घण्टा भाषण गरेको थिए । आफूनिकटका नेतालाई पनि खटाएका थिए । आज शेखरमा पनि त्यही प्रवृत्ति देखियो ।’

कोइराला परिवारले काँग्रेस नेतृत्वमा अरूलाई देखिनसहने गरेको ती नेताको भनाइ छ ।

‘कोइराला परिवारले काँग्रेस नेतृत्व आफूबाट पर सरेको स्वीकार नै सक्दैनन् । हिजो पनि कोइराला थर नभएको व्यक्ति नेतृत्वमा आउँदा खेदो खन्ने काम हुन्थ्यो । आज पनि भइरहेको छ,’ ती नेताले भने, ‘सुशील कोइरालाले अहिलेका सभापति शेरबहादुर देउवाको भन्दा पनि बेला–तरिकाले पार्टी सञ्चालन गरेको थिए । त्यतिबेला पनि शेखर केन्द्रीय सदस्य थिए । चुइँक्क पनि बेलेनन् । यतिबेला मात्र सभापतिलाई राजनीतिक संस्कार सिकाइरहेका छैन ।’

शेरबहादुर र शेखरबीचको आरोप प्रत्यारोपबारे राजनीतिक विश्लेषक पुरञ्जन आचार्य शेखरको सक्रियातालाई देउवाले आफूमाथिको चुनौती देख्नुले खडा गरेको समस्याका रूपमा अथ्र्याउँछन् । ‘शेखरले सभापति आकाङ्क्षासहित कार्यकर्तामा सम्पर्क बढाउँदै गएको देखिन्छ । उहाँ देशभर खट्ने गरेका छन । साथै सभापति शेरबहादुर देउवाको आलोचना पनि गर्दै आएका  छन् । देउवाविरोधी खेमामा अन्यभन्दा उहाँको सक्रियता बढी नै छ,’ उनले भने ।

महामन्त्री सशांक कोइरालाको मौन समर्थन पाएका देउवाले शेखरबाट पनि सोही अपेक्षा गरेको र त्यो नहुँदा आक्रामक बन्दै गएको आचार्यको बुझाइ छ ।

 उनले भने, ‘देउवाले शेखरबाट सहयोगको अपेक्षा गरेका थिए तर शेखर भने सभापति देउवा र महामन्त्री सशांक भएको निष्कर्षमा पुगेका देखिन्छन् । उहाँले सभापतिका खुलेर दाबी गरिनसके पनि देउवाको विकल्प रामचन्द्र होइनन् भन्ने बुझेको सङ्केत बेलाबेला कोइराला परिवारबाट एक जना सभापति लड्छौँ भन्नेर दिइराख्नुभएको छ । साथै राजनीतिमा एक डेढ दशकदेखि मात्र सक्रिय भएकाले उनले सभापतिमा दाबी गर्ने बेला भएको छैन भन्ने देउवाको भनाइ हुन सक्छ । देउवा फेरि सभापतिमा उठ्ने बताउँदै आएका छन् । उहाँहरूलाई १४औँ महाविधेशन लागिसकेको छ ।’

यतिबेला नै महाधिवेशनको रन्को लाग्नु र शेखरले सभापतिमा आकाङ्क्षा समय अनकुलन भएको आचार्यको तर्क छ । महाधिवेशनको समयमा झैँ देउवा र शेखरले यसरी आरोप प्रत्यारोपमा उत्रिनु पार्टीका लागि राम्रो होइन । अनि शेखरले सभापतिको आकाङ्क्षा राखे पनि जित्न चुनौती छ । शेखर बीपीका छोरा भएको भए स्वतः सभापतिमा जित्ने थिए । उनीसँग कोइराला परिवारको सानो लिगेसी छ । त्यसै कारण काँग्रेसमा सभापतिको आकाङ्क्षा राख्न खट्ने, कार्यकर्तामा सम्पर्क गर्नैपर्ने चुनौती उनलाई देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप