शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब करको दायरा बढाउनुपर्छ : राज्यमन्त्री यादव

शुक्रबार, १० जेठ २०७६, १८ : ४८
शुक्रबार, १० जेठ २०७६

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐन अन्य देशको तुलनामा उत्कृष्ट भएको भन्दै अब करको दायरा बढाउनुपर्ने बताए । 

शुक्रबार राजधानीमा आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रण र यसको सेवनले क्यान्सर तथा मुटुरोग उपचार लागत खर्चसम्बन्धि अनुसन्धानात्मक प्रस्तुतीकरण तथा पैरवी बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 

त्यस्तै कार्यक्रममा सूर्तिजन्य पदार्थको कर बढाउनका लागि सरोकारवाला निकायले नेपाल सरकारलाई आग्रह गरेका छन् । आर्थिक वर्ष नजिकिँदै गर्दा उनीहरुले सूर्तिजन्य पदार्थको कर बढाउन सरकारलाई आग्रह गरेका हुन् । 

प्रत्येक वर्ष सूर्तिजन्य पदार्थ सेवनबाट लागेको रोग उपचारका लागि नेपाल सरकारले ४३ अरव खर्च गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २५ देखि ३० हजार नेपालीको मृत्युको कारक सूर्तिजन्य पदार्थ भएको हुँदा कर बढाउँदा पदार्थको सेवन कम हुने बक्ताहरुले बताएका हुन् ।

सूर्तिजन्य पदार्थ सेवनबाट हृदयघात ४ प्रतिशत, दम १४ प्रतिशत, फोक्सोको क्यान्सर १६ प्रतिशत हुने सम्भावना  भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बताए । ग्रामिण क्षेत्रका अधिकांश नागरिकले सूर्तिजन्य पदार्थ सेवन गर्ने भएको हुँदा जनचेतनामुलक कार्यक्रम सरकारले सञ्चालन गर्न आवश्यक रहेको पनि डा. कोइरालाले औल्याए ।

सो कार्यक्रममा बोल्दै वरिष्ठ छातिरोग विशेषज्ञ डा. रमेश चोख्यानीले सूर्तिजन्य पदार्थबाट छाती तथा फोक्सो सम्बन्धि रोग लाग्ने सम्भावना बढी भएको हुँदा यसको नियमन गर्नुपर्ने बताए । उनले गर्भवति महिला, बालबालिका, वृद्धा, युवा कुनै पनि वर्गका लागि यसले असर गर्ने भएको हुँदा सबै नागरिकलाई प्रयोग नगर्नको लागि आग्रह गरे । 

सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगलाई सरकारले कडाईका साथ तोकिएको कर लागू गर्नुपर्ने र कानून तिव्रताका साथ कार्यान्वयनमा ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका हुन् । कानुन, न्यायका सभापति कृष्णभक्त पोखरेलले सूर्तिजन्य पदार्थ नियन्त्रण निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । 

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सम्बन्धित निकाय लाग्नुपर्ने भन्दै आफू सभापति भएको हैसियतले व्यवस्थापिका संसदमा कुरा राख्ने बताइन् । शिक्षा तथा स्वास्थ्य समिति कसैको बहकाउमा नलाग्ने भन्दै उनले सबै नागरिकको हितमा काम गर्नेे बताइन् । 

कार्यक्रममा सांसद लेखराज भट्ट, अञ्जना विशंखे, निरु पाल, स्वास्थ्य मन्त्रालयका चिकित्सकहरुले सूर्तिजन्य पदार्थ नियन्त्रणको लागि आग्रह गर्ने बताएका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका पदाधिकारी, सांसद, पत्रकार, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप