केन्द्रीय संस्करण

कविता : जिन्दगी दोधारै दोधार बगिरहेछ

person explore access_timeजेठ ११, २०७६ chat_bubble_outline0

सागर विलय

हाँस्दा हाँस्दै झरेका फूलहरु
त्यसै त्यसै ओइलाएका
भुइँबाट टिपेर
बोटमा फेरि जोडी दिऊँ कि ?

मृत रहरहरुलाई
पुनः जिउँदै फर्काऊँ भने
कही आफैलाई खाइदिन्छन् कि भन्ने डर ।

हाँसो नथामिदै बीचैमा
झरेको थियो ओठको मुस्कान
मुस्कुराहट मरेको थियो
जिन्दगीले त त्यसै दिन 
आत्महत्या गरिसकेको थियो
बाहिर दुनियाँदारी रूपमा 
झिँगी झिँगी बाँचेको मात्र हो ।

निद खोसिएको हो
एउटा ओत भत्काइएको हो
चेहराको रङ
अनि तक्दिरको चमक लुटिएको हो ।

एउटा पुरानो भूतबङ्गला जस्तो
यो जिन्दगानीभित्र
तन्त्रमन्त्रले बाँधिएका रहरका भूतहरुलाई
त्यसैभित्र दफनाई राखूँ ?
या चिहान उल्टेर
कङ्कालहरुमा जीवन भरिदिऊँ
आफै अनिर्णयको बन्दी भएको छ जिन्दगी ।

ओठको लाली फिर्ता बोलाएर
ओठैमा थपक्क राखी दिऊँ
नयनको उज्ज्यालो नयनमै भरिदिऊँ
पयरको गीत पयरमै बजाइदिऊँ ।

मनका गहिरा खाडलभित्र
रोई कराई गर्ने
मृत अर्धमृत संवेगहरुलाई
झ्याल ढोका चौदङ्ग खोलेर
स्वतन्त्र भाग्न दिऊँ
या खाडलभित्रै बन्दी बनाएर
हत्या गरिदिऊँ
जिन्दगी दोधारै दोधार बगिरहेछ ।

डडेल्धुरा 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...