माल्यालाई २८ दिनभित्र ९४५ करोड भारु तिर्न बेलायती अदालतको आदेश
बेलायतको हाइकोर्टले विजय माल्यालाई बेलायती बेभरेज कम्पनी डिआजियोको १३.५ करोड डलर (९४५ करोड भारु) तिर्न आदेश दिएको छ । अदालतले शुक्रबार यो फैसला दिएको हो । माल्या २८ दिनमा उक्त रकम भुक्तानी गर्नुपर्ने छ ।
यो मामिला डिआजिओद्वारा माल्याको कम्पनीको अधिग्रहण मामिलासँग जोडिएको छ । माल्याका वकिलका अनुसार डिआजियोले मौखिमरुपमा भारतमा विवाद नसुल्झेसम्म आफ्नो रकम तिर्न दाबी नगर्ने बताएको थियो । कोर्टले यसलाई खारेज गरेको थियो ।
फैसलाको समय माल्या अदालतमा उपस्थित थिएनन् ।
२८० करोड भारु भुक्तानी मामिलामा अलग मुद्दा चल्नेछ ।
डिआजियोले माल्या, छोरा सिद्धार्थ र परिवार सम्बन्धित दुई कम्पनीमाथि भुक्तानी दाबी गरेको थियो । डिआजियोले फेब्रुअरी २०१६ मा मान्याको कम्पनी युनाइटेड स्प्रिट्स लिमिटेडमा कन्ट्रोलिङ हिस्सेदारी खरिद गर्न रकम तिरेको थियो । तर कम्पनीले शेयर प्राप्त गर्न सकेन । माल्याको कम्पनीको केही सेयर ऋण वसूली प्राधिकरण (डीआरटी)ले कब्जामा लिएको थियो ।
यसमा मामिलामा छुट्टै ४ करोड डलरको दाबीको मुद्दा पनि चल्नेछ । डिआजियोले माल्यालाई सिधै यो रकम दिएको थियो । यसअनुसार कम्पनीले माल्यासँग १७.५ करोड डलर तिर्न दाबी गरेको छ ।
मान्याको प्रत्यर्पण मामिलामा २ जुलाईमा बेलायतको हाइकोर्टमो सुनवाई हुनेछ । यसमा एक पटक अपिल खारेज भइसकेको छ । लन्दनको वेस्टमिन्सटर अदालतले पछिल्लो वर्ष माल्याको प्रत्यपर्णको स्वीकृति दिएको थियो । त्यहाँको गृहसचिवले पनि यसबारे मन्जुरी दिएका थिए तर यसविरुद्ध माल्यले हाइकोर्टमा अपिल गरेका थिए ।
माल्यामाथि भारतीय बैंकहरुको ९ हजार करोड भारु ऋण रहेको छ । उनको किङ्गफिसर एयरलाइन्सले बैंकबाट ऋण लिएको थियो ।
सन् २०१६ मा माल्या लण्डन भागेका थिए । मुम्बईको विशेष अदालतले उनलाई भगौडा घोषित गरिसकेको छ ।