शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् थाइल्याण्ड बसेर २ सय नेपाली ठग्ने नामुद ठगः पाँच वटा फर्जी नाम, १३ करोड ठगी

शनिबार, ११ जेठ २०७६, १६ : २९
शनिबार, ११ जेठ २०७६

काठमाडौं । थाइल्याण्डमा बसेर करीब २०० जना नेपालीलाई ठग्ने भोजपुरका परशुराम गुरुङलाई प्रहरीले नेपाल फिर्ता ल्याएको छ ।

थाइल्याण्डस्थित नेपाली राजदूतावास लगायत अन्य सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा थाई प्रहरीले उनलाई २०७५ चैत १३ गते पक्राउ गरेकोमा आवश्यक प्रक्रिया पश्चात शुक्रबार नेपाल ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले शनिबार सार्वजनिक गरेको हो ।

कमल, पारस, किम, अधिराज थापा मगर, प्रताप जस्ता ५ फर्जी नामबाट नेपाली युवालाई विभिन्न प्रलोभनमा पार्दै उनले ठगी गर्दै आएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । यस्तै उनले विभिन्न २४ वटा नम्बरसमेत ठगीमा प्रयोग गरेको पाइएको छ ।

ठगीको तरिका

गुरुङले सामाजिक सञ्जालबाट सम्पर्क बढाउने र बैदेशिक रोजगारीमा जाने चाहने व्यक्तिको पहिचान गरी विभिन्न ‘जब अफर’ हरु पठाएर फसाउने गरेका थिए ।

सीआईबीका प्रवक्ता सुदीप गिरीका अनुसार बिदेशमा आकर्षक तलब पाउने प्रलोभन देखाइ उनले नेपाली युवालाई थाइल्याण्ड बोलाउने गरेका थिए । थाइल्याण्ड बोलाउनुअघि उनले आईएमई, सिटी एक्सप्रेस र प्रभु मनी ट्रान्सफरमार्फत रकम लिने गरेको खुलेको  गिरीले बताए ।  थाल्ल्याण्ड बोलाएर पीडितहरूलाई शुरुमा राम्रो व्यवहार गर्ने र पछि चरम शोषण गर्ने गरेको पाइएको छ ।

पीडितहरूलाई चरम शोषण पश्चात थाई प्रहरीलाई उजुरी गर्न समेत नदिई गुरुङले क्यानडाको फ्लाइट हुन्छ भन्दै नेपाल जाने नेपाल एयरलाइन्सको फ्लाइटमा चेक इन गराई सम्पर्कबिहीन हुने गरेको पाइएको छ ।

प्रहरीका अनुसार उनले आफू क्यानडाको क्यानडाको पीआर होल्डर रहेको र क्यानडाको पीआर कार्ड बनाइदिनुका साथै क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुर्याई दिने भन्दै प्रभावमा पार्ने गर्थे ।

त्यसका लागि नक्कली भिसा समेत बनाएर ५ देखि २० सम्म असुल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानबाट उनले करीब १३ करोड ठगी गरेको खुलेको छ ।

थाइ प्रहरीले गोली हान्छ भन्दै अत्याउँथे

अभियुक्तले पिडितहरुलाई भिजिट भिषामा थाइल्याण्डको बैंककसम्म पुर्याएर बैंककमा पुगेपछि कोठामा बन्धक बनाउने गर्थे भने बाहिर निस्कन नदिने, बाहिर निस्किए थाई प्रहरीले गोली हान्छ भन्दै डर देखाउने गर्थे ।  उनले एकान्त स्थानमा रहेको घर, फ्लयाट तथा होटलहरुमा लगि राख्ने र धम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुले नेपालबाट सटही गरी लगेको अमेरिकी डलर समेत जबरजस्ती आफ्नो कब्जामा लिने र पीडितसँग रहेको नगद सकिएपछि नेपालमा रहेका आफन्तहरुलाई समेत सम्पर्क गर्न लगाई एजेन्टहरु मार्फत थप असुल्ने  गरेको पीडितहरुले बताएका छन् । उनीविरुद्ध परेको उजुरीहरुको आधारमा सीआईबीले २०७१ सालदेखि मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।

सीआईबीका अनुसार हालसम्म ५० जना भन्दा बढी पीडितहरुले बिभिन्न समयमा गुरुङको नाममा मानब बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएका छन् भने  २०० जना भन्दा बढिले  ठगिएको भन्दै निवेदन दिएका छन् ।

जसको आधारमा प्रहरीले इन्टरपोलबाट डिफ्यूज नोटिस जारी गर्दै थाईल्याण्डबाट नेपाल ल्याउन २०७२ साल जेष्ठ २२ गते पासपोर्ट रद्ध गरेको थियो ।

त्यसपछि प्रहरीले विभिन्न मिति  र समयमा सम्बन्धित निकायहरुसँग अबिछिन्न पत्राचार तथा समन्वय गर्दै आएकोमा चैत १३ गते उनी थाइ प्रहरीको फन्दामा पक्राउ परेका थिए ।

उनीविरुद्ध हालसम्म मानब बेचबिखन तथा ओसारपसार, संगठित अपराधमा तीन वटा मुद्दा दर्ता भएको छ भने त्यसमा ५२ जना पीडित रहेका छन् । जसबाट अन्दानी ५ करोड बिगो समेत माग भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप