शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाइल्याण्डमा समातिएका 'नामुद ठग'का आफन्त विमानस्थलदेखि सीआईबीसम्म, इन्काउन्टरको शंका !

शनिबार, ११ जेठ २०७६, १७ : २६
शनिबार, ११ जेठ २०७६

प्रहरीले २०७१ सालदेखि थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपोसार आरोप लागेका भोजपुरका परशुराम गुरुङको खोजी गरिरहेको थियो । नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले २०७२ साल असार २९ गते गुरुङविरुद्व ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपोसार गरेको आरोप लागेका उनै परशुराम गुरुङलाई लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्ड प्रहरीले गत चैत १३ गते सोमबार पक्राउ गर्यो । 

थाइल्याण्डस्थित नेपाली राजदूतावासलगायत अन्य सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा शुक्रबार गुरुङलाई नेपाल पठायो । नेपाल पठाइएको गुरुङलाई शुक्रबार साँझ ७ः३० बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विमानस्थलबाटै पक्राउ गर्यो ।  

विमानस्थलबाटै पक्राउ परेका गुरुङलाई सीआईबीले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो । गुरुङले थाइल्याण्डमा रहेर करीब २०० जना नेपालीलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

शुक्रबार गुरुङलाई नेपाल पठाइएको जानकारी पाएपछि सीआईबीका एसपी सुदीप गिरीको टोली विमानस्थल पुगेको थियो । प्रहरी स्रोत भन्छ, ‘गुरुङले आफ्ना परिवार र आफन्तहरुलाई आफू नेपाल आउँदै गरेको जानकारी दिएका रहेछ । विमानस्थलमा गुरुङका आफन्तहरुको भीड थियो ।’

प्रहरीले आफूलाई इन्काउन्टरमा मारिदिन सक्छ भनेर गुरुङले आफ्ना आफन्तहरुलाई विमानस्थलमा बोलाएको हुनसक्ने प्रहरी स्रोतले जानकारी दियो । ‘थाइल्याण्ड विमानस्थलबाटै तामाङ नेपाल आउन नमानेका गुरुङको आफन्त सीआईबी कार्यालयतिर पनि आएको शंका छ,’ स्रोतले रातोपाटीसँग भने । 

आईजीपी खनालको पहलमा समातिएका हुन् गुरुङ
एनसीबी प्रमुख नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालको पहलमा गुरुङलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको पत्रकार सम्मेलनमा डीआईजी शाहीले जानकारी दिए । 

नक्कली पिआर होल्डर गुरुङ अन्तर्राष्ट्रिय संगठित अपराधमा संलग्न रहेको थाहा पाएपछि आईजीपी खनालको विशेष पहलमा गुरुङलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भएको उनले बताए । 

५ वटा फर्जी नाम
कमल, पारस, किम, अधिराज थापा मगर, प्रताप जस्ता ५ फर्जी नामबाट नेपाली युवालाई विभिन्न प्रलोभनमा पार्दै उनले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको सीआईबीका प्रमुख (डीआईजी) निरज शाहीले बताए । यस्तै उनले विभिन्न २४ वटा नम्बरसमेत ठगीमा प्रयोग गरेको पाइएको छ ।

गुरुङमाथि सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाइको प्रलोभन देखाएर ठगी गर्दै आएको आरोप छ । डीआईजी शाहीले भने, ‘विदेशमा आकर्षक तलब पाउने भनि झुक्याइ थाइल्याण्ड बोलाउने र सुरूमा राम्रो व्यवहार गर्ने । पछि बन्दक बनाएर चरण शोषण गर्ने  गरेको खुल्न आएको छ ।’

गुरुङले त्यसपछि थाइ प्रहरीलाई उजुरी समेत गर्न नदिइ क्यानडाको फ्लाइट हो भन्दै नेपाल एयरलाइन्सको फ्लाइट चेक इन गराइ सम्पर्कविहीन हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

‘खतरनाक गिरोहका नाइके’ 
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसार–पसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।

गुरुङले दुवै देशको कानुनलाई दुरुपयोग गरेको डीआईजी शाही बताउँछन् । 

उनले एक जनाबाट ५ लाख २० लाखसम्म दिने गरेका थिए र यसरी उठाएको रकम १३ करोड बढी भएको प्रहरीले जनाएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गुरुङविरुद्व ५२ ओटा मानव ओसार–पसारसम्बन्धी उजुरी परेको जनाएको छ ।

उजुरीमा पाँच करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै पीडितले बिगो बराबरको रकम माग गरेका छन् । 

ठगीको तरिका

गुरुङले सामाजिक सञ्जालबाट सम्पर्क बढाउने र बैदेशिक रोजगारीमा जाने चाहने व्यक्तिको पहिचान गरी विभिन्न ‘जब अफर’ हरु पठाएर फसाउने गरेका थिए ।

सीआईबीका प्रवक्ता सुदीप गिरीका अनुसार बिदेशमा आकर्षक तलब पाउने प्रलोभन देखाइ उनले नेपाली युवालाई थाइल्याण्ड बोलाउने गरेका थिए । थाइल्याण्ड बोलाउनुअघि उनले आईएमई, सिटी एक्सप्रेस र प्रभु मनी ट्रान्सफरमार्फत रकम लिने गरेको खुलेको  गिरीले बताए ।  थाल्ल्याण्ड बोलाएर पीडितहरूलाई शुरुमा राम्रो व्यवहार गर्ने र पछि चरम शोषण गर्ने गरेको पाइएको छ ।

पीडितहरूलाई चरम शोषण पश्चात थाई प्रहरीलाई उजुरी गर्न समेत नदिई गुरुङले क्यानडाको फ्लाइट हुन्छ भन्दै नेपाल जाने नेपाल एयरलाइन्सको फ्लाइटमा चेक इन गराई सम्पर्कबिहीन हुने गरेको पाइएको छ ।

प्रहरीका अनुसार उनले आफू क्यानडाको पीआर होल्डर रहेको र क्यानडाको पीआर कार्ड बनाइदिनुका साथै क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुर्याईदिने भन्दै प्रभावमा पार्ने गर्थे ।

यी हुन् थाइल्याण्ड बसेर २ सय नेपाली ठग्ने नामुद ठगः पाँच वटा फर्जी नाम, १३ करोड ठगी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप