बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'समाजवादी पार्टी सरकारबाट नबाहिरिएसम्म एकीकरण हुँदैन'

राजपा नेपालका महासचिव एवम् प्रवक्ता केशव झासँगको अन्तरवार्ता
आइतबार, १२ जेठ २०७६, १० : ५०
आइतबार, १२ जेठ २०७६

तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण हुने भनी दुई दलबीच निरन्तर अनौपचारिक छलफल र वार्ता भइरह्यो तर फोरम नेपालले नयाँ शक्तिसँग एकीकरण गर्यो । एकीकरण भएपछि समाजवादी पार्टी बन्यो । सो पार्टीसँग राजपा नेपाल अझै एकीकरण हुन्छ भनी आशा गरेर बसेको छ र निरन्तर संवादमा छन् । तर राजपा नेपालले समाजवादी फोरम नेपाल बाहिरिनुपर्छ भन्ने एउटै सर्त राखेको छ । समाजवादी पार्टी त्यो सर्त तत्कालै स्वीकार गर्ने अवस्थामा छैन तैपनि राजपा नेपालका नेताहरु एकीकरण हुन्छ भन्छन् । यिनै विषयमा केन्द्रित रहेर राजपा नेपालका तर्फबाट गठन भएको वार्ता समितिका सदस्यसमेत रहेका पार्टीका महासचिव एवम् प्रवक्ता केशव झासँग रातोपाटीले गरेको कुराकानी :

तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण हुने कुरा थियो तर फोरम र नयाँ शक्तिबीच एकीकरण भयो । अब अझै यी दुई दलबीच एकीकरण हुने सम्भावना कति छ ?

–राजपा र अहिलेको समाजवादी पार्टीबीच एकीकरण हुने धेरै सम्भावनाहरु छन् । तत्कालीन फोरम र राजपा नेपाललाई प्राप्त भएको जनमतले यी दुई दल एक हुनुपर्छ भनेको छ । त्यही जनमतले प्रदेश २ मा सहयोग पनि गर्यो । आम मधेसी जनताको चाहना पनि राजपा र तत्कालीन फोरम नेपाल मिल्नुपर्छ भन्ने हो । त्यही भएर यी दुई दलबीच एकीकरण हुन्छ भन्ने कुरामा म ढुक्क छु । चुनाव सम्पन्न भएदेखि नै हामी एकीकरणको प्रयासमा लागेका थियौँ । त्यहीबीचमा तत्कालीन फोरम नेपाल सरकारमा सहभागी भयो । हामीले पनि सरकारलाई समर्थन गरेका थियौँ । तर हाम्रो माग पूरा नगरेपछि हामीले समर्थन फिर्ता लियौँ तर तत्कालीन फोरम नेपाल भने सरकारमै छ । यसका बावजुद अझै पनि एकीकरण प्रयास समाप्त भएको छैन । दुई दलबीचमा एकीकरणका लागि पत्र आदान प्रदान भइरहेको छ । तर कसरी एकीकरण हुने त्यो मुख्य विषय हो । हाम्रो विचार नीति सिद्धान्त सबै मिल्छ । रणनीति र कार्यशैली फरक भएको हुनाले हालसम्म एकीकरण हुन नसकेको हो ।  आजको अवस्थामा उहाँहरु सत्ता पक्ष र हामी प्रतिपक्ष भयौँ । विभिन्न कारणले हामी सरकारमा सहभागी भएनौँ तर अहिले समाजवादी पार्टी, नेपालसँग एकीकरण गर्यौँ भने हामी पनि सत्ताधारी दल हुन जान्छौँ । हामीले जुन अडानका साथ राजनीति गर्यौँ त्यो त अर्थहीन हुन्छ । जनताले हामीसँग गरेको विश्वास समाप्त हुनजान्छ । हामीबीच वार्ता हुँदा हामीले भन्यौँ, एकीकरणका लागि सरकारबाट बाहिरिनुपर्छ । जुन दिन सरकारबाट बाहिरिन्छ, त्यो दिन हामी एकीकरणका लागि तयार मात्र हुँदैनौँ एकीकरण नै गर्छौं ।


नयाँ शक्ति नेपालसँग एकीकरण हुनु ठूलो कुरा होइन । नयाँ शक्ति पार्टीसँग कुनै जनमत थिएन, छैन । त्यही भएर उहाँहरु तत्कालीन फोरम नेपालसँग एकीकरण गर्न बाध्य हुनुभयो । फोरम र राजपा बराबर हैसियतका पार्टी हो । यी दुई दलबीच एकीकरण हुँदा पो एकीकरण जस्तो देखिन्थ्यो ।


राजपा र फोरम नेपालाई एकीकरणका लागि जनमत प्राप्त भएको छ भन्नुभयो तर फोरमको एकीकरण त नयाँ शक्ति नेपालसँग भयो, त्यो कसरी भयो ?

–नयाँ शक्ति नेपालसँग एकीकरण हुनु ठूलो कुरा होइन । नयाँ शक्ति पार्टीसँग कुनै जनमत थिएन, छैन । त्यही भएर उहाँहरु तत्कालीन फोरम नेपालसँग एकीकरण गर्न बाध्य हुनुभयो । फोरम र राजपा बराबर हैसियतका पार्टी हो । यी दुई दलबीच एकीकरण हुँदा पो एकीकरण जस्तो देखिन्थ्यो । यद्यपि यी दुई दलबीच पनि एकीकरण हुन्छ । एकीकरण गर्न उच्चकोटिको प्रतिबद्धता रहेको छ । यी दुई दलको बीचमा अनौपचारिक छलफलहरु पनि भइरहेका छन् । दुवै दलले एकीकरण गर्नुपर्छ भनी म्यान्डेट पनि पाइसकेका छन् । त्यसैले एकीकरण हुने कुरामा ढुक्क भए हुन्छ ।

–वार्ता तपार्इंहरुसँग भयो तर एकीकरण नयाँ शक्तिसँग भयो, यस्तो किन ?

–त्यस्तो होइन, नयाँ शक्तिसँग पनि उहाँहरुको धेरै पहिलादेखि वार्ता भइरहेको थियो । हामीले पनि विभिन्न दलसँग वार्ता गरिरहेका थियौँ । त्यही भएर हामीसँग वार्ता गरेर नयाँ शक्तिसँग एकीकरण गरेको होइनौँ । ती दुई दलका बीचमा एकीकरणका लागि पहिलादेखि नै छलफल भइरहेको थियो, कुरा मिल्यो एकीकरण भयो, यो सामान्य कुरा हो । हामीलाई एकीकरणका लागि पत्र पठाउँदा उता नयाँ शक्तिसँग एकीकरणका लागि धेरै कुरा अगाडि बढिसकेको थियो । राजनीतिक दस्तावेजहरु पनि तयार भइसकेको थियो ।

सरकारबाट बहिरिएपछि मात्र एकीकरण हुने भन्ने पत्र पठाएपछि तत्कालीन फोरम नेपालले भनेको छ – सरकार मुुख्य कुरा होइन, मुख्य कुरा सिद्धान्त र विचार हो, त्यो मिलेपछि अरू सबै कुरा गौण हुन्छ । त्यसैले एकीकरण भएपछि मात्र सरकार छाड्ने नछाड्ने कुरा हुन्छ भन्ने जवाफ पठाएको थियो । त्यसमा राजपा नेपाल पनि सकारात्मक भएको थियो । अहिले किन त्यही अडान दोहोर्याउनुभयो ?

–हामीले त्यतिबेला विचार र सिद्धान्त मिल्नुपर्छ, साथै कार्यशैली पनि मिल्नुपर्छ भनेर पनि स्पष्ट पारेका थियौँ । रणनीति रूपमा तपाईं कसरी अगाडि बढ्नुभएको छ । त्यो पनि महत्त्वपूर्ण कुरा हो । हाम्रो सबै कुरा मिल्छ भन्दैमा एकीकरण हुँदैन । दुई टाउको भएको हाँस थियो । कुरा मिल्दा दुवैजना बाँडेर खान्थे । कुरा नमिलेपछि एउटले विष खाइदिए । त्यसपछि दुवैजनाको ज्यान गयो । यहाँ त्यस्तै हुन्छ । राजपा र तत्कालीन फोरम नेपालको ज्यान एउटै र टाउको दुइटा भए पनि कहिले काहीँ एउटा विष खाइदिँदा दुवैलाई असर गर्न सक्छ । त्यो कुरामा राजपा नेपाल सचेत छ । एउटा सरकारमा र अर्को बाहिर हुँदा मधेसमा असर परेको छ । दुवै दल बाहिर भएको बेला हामीमा जुन बोल्डनेस थियो त्यो बोल्डनेस अहिले देखिँदैन । माग पूरा नभएसम्म हामी सरकारमा जाँदैनौँ भनेका थियौँ र गएका पनि छैनौँ । अहिले पनि सरकारमा सहभागी हुनका लागि हामीमाथि व्यापक दबाब छ । तर माग पूरा नभए सरकारमा नजाने भनिरहेका छौँ । तत्कालीन फोरम नेपाल पनि दुई बुँदे सम्झौता गरेर सरकारमा गएको छ । त्यसको माग पनि पूरा भएको छैन । माग पूरा गराउन अल्टिमेटम दिइरहेको छ तैपनि माग पूरा भएन भने सरकारबाट बाहिरिन्छ । त्यसबेला हाम्रो एकीकरण हुन्छ । समाजवादी पार्टी सरकारबाट बहिरिने कुरा निश्चित छ ।

दोस्रो पत्र पठाउँदा त तपाईंहरुले सरकारबाट बाहिरिने सर्त राख्नुभएको छैन नि, अनि अहिले आएर त्यो कुरा फेरि झिक्नु भयो त ?

–कुराकानी र वार्ताका लागि हामीले सर्त राखेका छैनौँ । त्यो शर्त राखेपछि वार्ता र छलफल नै हुँदैन कि भन्ने लागेर हामीले पत्रमा त्यो शर्त उल्लेख गरेका छैनौँ । यद्यपि सरकारबाट समाजवादी पार्टी बाहिरिनुपर्छ भने कुरामा हामी अडिग छौँ । छलफलका लागि हामीले कुनै शर्त राखेका छैनौँ ।


औपचारिक वार्ता महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुराकानी भइरहेको छ । समाजवादी पार्टीसँग नियमित छलफलमा छौँ । औपचारिक रूपमा नेताहरुसँग छलफल भइ नै रहेको हुन्छ । कतिपय आन्तरिक कुरा हुन्छन्, कतिपय रणनीतिक कुरा पनि हुन्छन् ।


वार्ताका लागि यत्रो समयदेखि प्रयास भए पनि औपचारिक वार्ता सुरु भएको छैन, किन ?

–औपचारिक वार्ता महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुराकानी भइरहेको छ । समाजवादी पार्टीसँग नियमित छलफलमा छौँ । औपचारिक रूपमा नेताहरुसँग छलफल भइ नै रहेको हुन्छ । कतिपय आन्तरिक कुरा हुन्छन्, कतिपय रणनीतिक कुरा पनि हुन्छन् । त्यसैले औपचारिक वार्ता महत्त्वपूर्ण होइन । आनौपचारिक छलफलमा टुङ्गिएपछि औपचारिक वार्ता गर्न समय लाग्नेछैन । एकीकरणको टुङ्गो औपचारिक बैठकबाट नै टुङ्गो लगाउँछौँ । त्यसका लागि अनौपचारिक छलफल भइरहेका छन् ।

भन्नाले समाजवादी पार्टी सरकारबाट नबाहिरिए एकीकरण हुँदैन ?

–हुँदैन, एकीकरण हुँदैन । छलफल र वार्ता हुन्छन् तर एकीकरण चाहिँ हुँदैन । सरकारबाट जबसम्म बाहिरिँदैन तबसम्म एकीकरण हुँदैन । समाजवादी पार्टीसँग कार्यशैली नै मिल्दैन भने एकीकरण सम्भव छैन । एउटा सरकारमा र अर्को सरकार बाहिर रहेर एकीकरण हुँदैन । एकीकरण बराबर हैसियतमा मात्र हुन्छ ।

एकीकरण भयो भने कुन मोडालिटीमा हुन्छ ?

–अहिले मोडालिटीको बारेमा कुनै छलफल नै छैन । एकीकरण हुने कुरा निश्चित भएपछि मात्र हामी मोडालिटीमा छलफल गर्छौं । समाजवादी पार्टीमा दुईजना र हाम्रोमा छजना अध्यक्ष हुनुहुन्छ । एकीकरण गर्दा सबैलाई एड्जस्ट हुने गरी कसरी कुरा अगाडि बढ्छ ? ती सबै विषयमा एकमुष्ट कुरा हुन्छ । मोडालिटी महत्त्वपूर्ण कुरा होइन, एकीकरण गर्नेमा हामी प्रतिबद्ध छौँ । उहाँहरु सरकार छाडेर आएपछि हाम्रो कुरा अगाडि बढ्छ ।

महाधिवेशनको तयारीमा जुट्नुभएको छ । अब राजपा नेपालमा अध्यक्षमण्डलीय प्रणाली नरहने निश्चित भएको छ । त्यसो भए अन्य नेतालाई व्यवस्थापन गर्ने कस्तो विधान बनाउनुभएको छ ?

–अध्यक्ष प्रणालीमा जाने कुरा एक वर्षअघि नै पार्टीले निर्णय गरिसकेको थियो । वैशाखमा बसेको पदाधिकारी बैठकले पनि अध्यक्षमण्डल नराख्ने भनिसकेको छ । त्यसकै आधारमा हामीले तयार गरेको विधानमा अध्यक्षमण्डलको प्रावधान राखेका छैनौँ । एकल अध्यक्ष प्रणालीमा पार्टी सञ्चालन गर्ने कुरा भएको छ । अन्य नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महाधिवेशनबाट तय हुन्छ ।

सरकारसँग मागको विषयमा के भइरहेको छ ? केही कुरा अगाडि बढेको छ जस्तो लाग्दैन ?

–हामीले समर्थन फिर्ता लिइसकेपछि सरकारसँग मागका बारेमा कुनै प्रकारको भेटघाट, छलफल र वार्ता भएको छैन । संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, मुद्दा फिर्ता, बन्दी रिहालगायतका विषयमा राजपा नेपालले नियमित रूपमा संसदमा कुरा उठाइरहेको छ । हामीले प्रत्येक जिल्लामा एक दिने प्रदर्शन गरेका थियौँ । सरकारले सुनेन भने हामीले सङ्घर्षका कार्यक्रम घोषणा गर्छौं । हामी चरणबद्ध आन्दोलनमा छौँ । सदनमा हाम्रो सङ्घर्ष जारी छ । त्यहाँबाट भएन भने हामी सडकमा जान्छौँ । सदनमा आन्दोलन गरेनौँ भने जनताले पत्याउँदैनन् । अहिलेसम्म सडकमा ओराल्ने काम भएको छ, अब सदनमा आन्दोलन गरेर देखाइदिएपछि मात्र सडकमा जान्छौँ । जेठ १५ गते बजेट भाषण छ, बजेट भाषणसम्म हामी अवरोध गर्दैछौँ, बोल्दैछौँ । त्यसबाट पनि भएन भने सदन घेराउ गर्छौं । त्यसबाट पनि भएन भने सडकमा जान्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप