शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘असुरक्षित’ थिए भारतीय जाली नोटको कारोवारी युनुस

प्रहरीको आशंका – युनुस जानी–जानी पक्राउ परेका हुन्
सोमबार, १३ जेठ २०७६, १० : ५५
सोमबार, १३ जेठ २०७६

जाली नोटका कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका युनुस अन्सारीको ज्यानमाथि पछिल्लो खतरामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नो ज्यानमाथि खतरा भएकै कारण युनुसले पछिल्लो पटक आफूलाई जानी–जानी पक्रन लगाएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

गत जेठ १० गते ७ करोडभन्दा बढी नक्कली भारतीय नोट लिन युनुस आफै त्रिभुवन विमानस्थल पुगेका थिए । त्यही बेला उनलाई नक्कली नोट ल्याएका पाकिस्तानी नागरिकसँगै पक्राउ गरिएको थियो ।

‘विमानस्थलमा युनुसको उपस्थितिले उनी किन यति असावधान बने भन्ने प्रश्न उठेको छ । उनको ज्यानमाथि पछिल्लो समय थ्रेट बढेको थियो । कतै उनी पक्राउ पर्ने उद्देश्यले नै विमानस्थलमा त आएका थिएनन् । यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी स्रोतले रातोपाटीलाई बतायो ।

त्रासमा थिए युनुस

यसअघि पनि जाली नोटको कारोवारमा संलग्न युनुसले पटक–पटक जेल जीवन बिताइसकेका छन् । जेलमै रहेको बेला उनीमाथि हत्याको प्रयास भएको थियो ।

२०७४ साल फागुनमा रिहा भएका उनी पछिल्लो समय आफूलाई सुरक्षित महसुश गरिरहेका थिएनन् ।

भारतीय जाली नोट तस्करीमा उनको संलग्नताले गर्दा भारतीय अण्डरवल्र्डका डन र भातरीय गुप्तचर संस्था ‘रअ’ को थ्रेटमा युनुस लगातार परिरहेका थिए ।

भारतीय मिडियाले भने युनुसलाई अन्डरवल्र्ड डन दाउन इब्राहिमको ‘नजिकको मान्छे’ भनेर चिनाएको छ । युनुसले दाउद र पाकिस्तानी एजेन्सी आइएसआईका लागि काम गर्ने बताएको छ ।

युनुसका पिता पूर्वमन्त्री सलीम मिया अन्सारी हुन् । दुवै जना भारतीय एजेन्सीको ‘रडार’ मा रहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यसपटक जाली भारतीय नोटसहित पक्राउ पर्न अघि उनलाई हत्या गर्ने चेतावनी समेत दिइएको थियो । प्रहरी स्रोतका अनुसार यसअघि जेलमा भएको बेला हत्या गर्ने प्रयास गरेका मनमित सिंह भाटियाले नै उनलाई मार्ने चेतावनी दिएका थिए ।

युनुसले आफ्ना निकटस्तहरुलाई असुरक्षित रहेको कुरा पटक–पटक भन्दै आइरहेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको हो ।

सन् २०११ मार्च १० मा अन्सारीमाथि भारतीय आपराधिक गिरोहका मनमित सिंह भाटिया सुन्धारास्थित कारागारभित्रै पुगेर आक्रमण प्रयास गरेका थिए ।

नक्कली भारतीय रुपैयाँ कारोबारको आरोपमा अन्सारी त्यतिबेला एक वर्षदेखि जेलमा थिए । कारागारभित्र आफन्तलाई भेट्न गएका भनिएका भारतीय नागरिक मनमितले अन्सारीमाथि गोली प्रहार गरेका थिए । हाल उनी जेलमा छन् । प्रहरी उच्च स्रोत भन्छन्, ‘कारागारमा रहेका भारतीय नागरिक मनमितले युनुस अन्सारीलाई नेपाल प्रहरीले केही नगरे आफूले त्यसै नछाड्ने धम्की दिएको पाइएको छ ।’

‘रअ’ को संलग्नता ?

प्रहरी सुरक्षा घेरामा सुरक्षित बसेका युनुसलाई जेलभित्रै पनि खतरा टरेन । ०६७ साल फागुन २६ गते युनुसमाथि जेलभित्रै गोली प्रहार भएको थियो । तीनवटा सुरक्षा घेरा पार गरेर युनुस बसेको ठाउँंमा भारतीय अपराधी भनिएका मनमित हतियारसहित पुग्नुले नेपाल प्रहरीमाथि पनि प्रश्न उठेको थियो ।

त्यतिबेला युनुसलाई भारतीय गुप्तचरी संस्था ‘रअ’ र नेपाल प्रहरीकै सहयोगमा हत्या गर्ने योजना बनाइएको टिप्पणीहरु पनि भए । हत्या प्रयासपछि युनुसका बाबु एवं पूर्वमन्त्री सलिममिंया अन्सारीले ‘रअ’ सँग मिलेर तत्कालिन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीले हत्या गर्ने योजना बनाएको आरोप लगाएका थिए ।

तस्विर हिमाल खबरपत्रिका

यसअघि लाजिम्पाटमा मारिएका जमिम साह र घन्टाघरअगाडी मारिएका फैजान अहमदको हत्यामा पनि मनमित सिंह गिरोहको हात रहेको विभिन्न अनुसन्धानले देखाएको थियो ।

२०६८ असोज ९ गते राजधानीको घन्टाघरअघि अहमदको गोली हानी हत्या गरिएको थियो । घटनामा संलग्न व्यक्तिका आधारमा अन्सारी, शाह र अहमदलाई गोली हान्ने मनमित सिंहको समूह रहेको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरोले निकालेको थियो ।

युनुसलाई कारागारमा गोली हान्ने मनमित सिंह भाटिया, फैजान हत्याका मुख्य योजनाकार पल र जमिम घटनाका योजनाकार त्रिलोकबीच सम्बन्ध रहेको त्यतिबेला नै पुष्टि भएको थियो । जेलमा रहेका मनमितको पक्षमा वकालत गर्न वकिललाई रकम त्रिलोकको समूहले दिएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

युनुस पक्राउको शृङ्खला

युनुस पहिलो पटक २०६६ पुस १७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट पक्राउ परेका हुन् ।

२५ लाख ४४ हजार ५०० नक्कली भारतीय रुपैयाँ र तीन किलो ७०० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । नक्कली भारुसहित अन्सारीसँगै काशीराम अधिकारी, सजाद महमद कुरामा र महमद इकवाल पनि पक्राउ परेका थिए ।

२०६७ असोज ७ गते युनुस अन्सारी, वीरेन्द्र कुमार साह, मुहर अन्सारी, उसा मुदिम अलाम, अफ्ताव अलाम अन्सारी, चोकल महतो, बहक अब्दल बहब, विनोख खत्री र टेक बहादुर कार्कीसहित दोस्रोपटक पक्राउ परे ।

काठमाडौं महानगरपालिका–९ बाट ४० लाख ९० हजार नक्कली भारतीय रुपैयाँसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै प्रहरीले २०७० माघ ९ गते युनुस अन्सारीसहित ३ जनालाई नक्कली भारतीय रुपैयाँसहित ठमेलस्थित पोताला गेष्टहाउसबाट पक्राउ गर्यो । अन्सारी २०७४ फागुनमा रिहा भएका हुन् ।

३ वर्ष नौ महिना जेल सजाय भोगेर रिहा भएका अन्सारी अन्सारी जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा गत शुक्रबार फेरि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नक्कली नोट ल्याउने तीन जना पाकिस्तानी नागरिक र रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली नागरिक गरी ६ जना रहेका छन् ।

कतार एयरको फ्लाइटबाट दोहा हुँदै नक्कली नोटसहित काठमाडौं आएका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका हुन् ।

विगतमा नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी प्रतिबन्धित भारु दुई हजारका नोट लिन रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए । उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप