शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी कलेजलाई सम्बन्धन दिन लागेकामा  कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित

सोमबार, २३ साउन २०७४, १३ : ००
सोमबार, २३ साउन २०७४

चितवन । विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन् । 

गत असार ६ गतेबाट आन्दोलन गरेका विद्यार्थीले गएको सातादेखि सबै काम ठप्प पारी क्याम्पसको द्वारमै धर्ना दिएका छन् । विद्यार्थी आन्दोलनले सबै काम रोकिएको क्याम्पसका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए । “यसअघिका आन्दोलनमा ल्याबहरु खुल्थे, अहिले ल्याबसमेत खुल्न सकेको छैन”, उनले भने । 

विश्वविद्यालयले सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको आंगिक क्याम्पस स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थालेको अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष विश्वास अम्गाईले बताए । 

असार ६ गतेबाट आन्दोलन थालेका विद्यार्थीे समूह (दुई अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियु) ले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । विद्यार्थीको मागमा सुनुवाइ नै नगरी काठमाडौँमा बसेर थप प्रक्रिया अगाडि बढाएपछि सबै काम ठप्प पारेर सात दिनदेखि धर्नामा बसेको अध्यक्ष अम्गाईले जानकारी दिए । 

विश्वविद्यालयले पहिलोचरणमा नवलपरासीको गैँडाकोटमा दुईवटा, परासीमा एक, झापामा एक, इटहरीमा एक, सप्तरीमा एक सुर्खेतमा एक, टीकापुरमा एक र काठमाडौँमा एक गरी १० वटा निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको विद्यार्थीको भनाइ छ । करोडौँ रकम आर्थिक चलखेल गरी निजी कलेज सञ्चालनको तयारीमा विश्वविद्यालयका पदाधिकारी लागेको आरोप अम्गाईले लगाए । 

विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकालले यस विषयमा तीन वर्ष अगाडिदेखि नै विज्ञापन भएको तर अहिलेको प्रक्रिया नभएको बताए । शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाइरहेकाले रोक्ने स्थिति भएको प्रतिक्रिया दिँदै उनले सम्बन्धनका लागि २४ वटा आवेदन परेकामा १४ वटाको स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाइएको जानकारी दिए । उपकुलपति डा ढकालले आन्दोलन गर्नुभन्दा विद्यार्थीको पढ्न पाउने अधिकार संरक्षणमा ध्यान दिन आग्रह गरे । 

विश्वविद्यालयको सभाबाट पारित भएर विश्वविद्यालयले सातवटा आंगिक क्याम्पसको प्रक्रियासमेत अगाडि बढाएका बेला निजीलाई सम्बन्धन दिन नहुने तर्क गर्नुहुन्छ उपप्राध्यापक अनन्त सुवेदी । उक्त विश्वविद्यालय अन्तर्गत अहिले कास्कीमा एउटा आंगिक क्याम्पस, हेटौँडामा वनविज्ञान संकाय तथा केन्द्रीय कार्यालय, चितवनमा कृषि संकाय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय सञ्चालित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप