मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : अझै नि गणतन्त्र आएजस्तो भा छैन

बुधबार, १५ जेठ २०७६, ११ : ४३
बुधबार, १५ जेठ २०७६

-अच्युतशाली घिमिरे


आज विकासको मन्द युगमा
उकालो लागिरहेछन् भ्रष्टाचारी
दुब्ला पातला भए जनअपेक्षा
अनि खिया लागे पुराना आशाहरु !

लाग्छ
हिजो आन्दोलनको साइत हेर्ने पण्डितहरु 
आज श्रीपेच भिर्दै भलादमीपनमा
भीआईपी सोच पालिराख्याछन् 
हिजो सडकमा टायर बाल्नेहरु
आज आफ्नो शरीरमा 
माफियाको विज्ञापन छाप्न लाग्या छन् 
हिजो जङ्गलमा क्रान्ति गर्नेहरु
आज काठमाडौँका गल्लीहरुमा 
दलाल पुँजीवादको खुस्बु उडाउन थाल्याछन् 
खै समाजवाद ?
खै लोकतन्त्र ?
खै वर्ग उत्थान ?
हाड नभाको जिब्रोले
जे बोले पनि हुन्छ र ?
नारायणहिटीलाई सङ्ग्रहालय र
शीतलनिवासलाई देवालय 
मान्दैमा हुन्छ र ?
यो गणतन्त्र खै ! के गणतन्त्र ?
जनताको शासन पाएजस्तै भा छैन
अझै पनि गणतन्त्र आए जस्तै भा छैन

विद्याको सर्टिफिकेट बाकसमा कोचेर
अस्ट्रेलिया पलायन भएको 
लक्का जवानलाई सोध 
कहाँ आयो गणतन्त्र ? 
चालीस कटेसी रमाउला 
भन्दै खाडी मुलुक हिँडेको 
विवाहित पुरुषलाई सोध 
कहाँ आयो गणतन्त्र ?
जमनाको रङ्ग बदलियो
र त पसिनाको मोल सस्तियो 
अब उर्लिंदैन सायद
बागमती सेलाइसक्यो,
आखिर
यहाँ विशिष्टताको
हिँडाइ बोलाइ
लच्काइ र हाउभाउसहित
कपालको छाँट र
जुँगाको कटाइले समेत
हामी नेपालीलाई सान्त्वना दिँदैन त
यो गणतन्त्र खै ! के गणतन्त्र ?

तुषाराको विशाल शासनहरुमा
धूलोमा उम्रिने जीवनहरुमा
खोस्रिएर मिल्ने शान्तिहरुमा
घाम र न्यानो हावाको
खोजमा डुलिरहने 
जनताहरुको नाममा
कहिल्यै आएन 
गणतन्त्र ।
आयो होला
सायद
हरेक साल
भविष्य निर्माणको पात्र बोक्ने 
उपन्यास बनेर आयो,
टुहुरा मरन्च्याँसेहरुको नारा बोक्ने
भाषण बनेर आयो,
टुँडिखेलको चौघेरामा 
अनेकौँ तामझाम रमिता बनेर आयो
सपनाहरुको भारी बोकेर
सिंहदरबारबाट सवारी बनेर आयो
अनि धर्मराउँदो विकासलाई
सत्ताको सिरानी बनायो
आसेपासे भ्रष्टचारीकै
कच्चा हाँगो समायो,
हैट
गणतन्त्र त
राजधानीमै हरायो !

दुःख प्रवाहका
छन्द टिप्ने सारङ्गीका धुनमा आएन गणतन्त्र,
गृहस्थी बन्धन र परदेशी मन
बाचिरहेका कठिन चेहेराहरुमा 
आएन गणतन्त्र
मैनबत्तीमा भूगोल देखाउने सत्यहरूमा
पहाडका रुन्चे कथा बोल्ने
अनि
भँगेरा अक्षरहरुमा
आएन गणतन्त्र,
साँच्चै अँध्यारो झुपडीको
रित्तो भित्तेपात्रोमा
जेठ १५ त वर्षैपिच्छे
आयो
तर
गरिबको दैलो टेक्न
कहिल्यै आएन
गणतन्त्र !

-चिकित्सा शास्त्र अध्ययन संस्थान 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप