केन्द्रीय संस्करण

यसरी हुन सक्छ मानव बेचबिखन र ओसारपसार न्यूनीकरण

person explore access_timeजेठ १५, २०७६ chat_bubble_outline0

-इन्द्रराज भट्टराई

सामाजिक अपराधका रूपमा विद्यमान मानव बेचबिखन र ओसारपसार आधुनिक युगको दासता हो । अझ नेपाल जस्तो आर्थिक रूपमा विपन्न अनि सामाजिक रूपमा अझै पनि अन्धविश्वासमा जकडिएको मुलुकमा यो समस्या विकराल रूपमा रहिआएको छ । विश्व बजारमा अत्यधिक मात्रामा विस्तार भइरहेको मानव बेचबिखन र ओसारपसार हातहतियार र लागूऔषधको अवैध कारोवारसरह सङ्गठित अपराधका रूपमा फैलिरहेको छ, जसको कारण खुला सीमाना भएको छिमेकी मुलुक भारतमा मात्र हैन नेपाल सरकारले घरेलु कामदारका रूपमा जान निषेध गरेको तेस्रो मुलुकमा समेत नेपालका कुना काप्चावाट यौन व्यवसाय तथा श्रमका लागि महिला, किशोरी, बालबालिका तथा पुरुषहरू समेत बेचबिखन र ओसारपसारमा परिरहेका छन् । यसका साथै आन्तरिक रूपमै पनि मनोरञ्जन क्षेत्रका नाममा नेपालका मुख्य सहरमा र राजमार्ग केन्द्रित बजार क्षेत्रमा महिला, किशोरी र बालिकालाई व्यावसायिक यौन धन्दामा लाग्न बाध्य बनाइएको छ । 

हाल मानव बेचबिखनको आयामहरू फेरिँदै गइरहेको छ । विगतमा भारतका दिल्ली र मुम्बईका कोठीहरूमा मात्र हुने बेचबिखन अहिले संसारका विभिन्न मुलुकसम्म फैलिन पुगेको छ । भारतको बाटो हुँदै अफ्रिका र कतिपय युरोपियन देशहरूमा समेत नेपाली महिलाहरूको बेचबिखन हुने गरेको र कतिपय नेपाली पुरुषहरू पनि विभिन्न बहानामा बेचबिखनमा पर्ने गरेको पाइन्छ । केही वर्ष पहिलेसम्म काठमाडौँ वरिपरिका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर लगायतका ठाउँबाट विशेष समुदायका दिदीबहिनी मात्र बेचबिखनमा परेको पाइएकोमा अहिले नेपालका प्राय सबै जिल्लाबाट मानव बेचबिखन हुने गरेको देखिन्छ । पहिले देह व्यापारका लागि मात्र बेचबिखन हुन्छ भन्ने थियो तर हाल आएर मानव अङ्गहरू मिर्गौला, कलेजो, छाला, बोसोको बेचबिखन तथा भाडामा बच्चा जन्माउने आमा (कोखको बेचबिखन) तथा तस्करी सँगसँगै श्रम बजारमा ठगी, श्रम अधिकारबाट वञ्चित एवम् यातना र हिंसाको शिकार हुने क्रम बढिरहेको छ । 

सरकारी निकायबाट प्राप्त तथ्याङ्कअनुसार वि.सं. २०७४ मा रोजगारीको बहानामा वा अन्य कारण दलालको फन्दामा परी भारतीय बाटो हँुदै तेस्रो मुलक पुगेका १२  हजार महिला तथा किशोरीलाई नेपाल सरकारले उद्धार गरी परिवारमा पुनर्मिलन गर्न सफल भएको छ ।  सन् २०१८ मा मात्र आफन्त नेपालले भारत लगायत अन्य मुलुकबाट गरेको १०५ जनाको उद्धार होस् वा नेपाल भारत सीमाबाट गरेको ८२८ जनाको उद्धार वा हालसालै केन्यामा १२ जना नेपाली महिलाहरू एउटा डान्स बारबाट उद्धार गरिएको घटनाले पनि मानव बेचबिखनको भयावह अवस्था देखिन्छ । बर्सेनि दशौँ हजारको सङ्ख्यामा हुने  बेचबिखनको तथ्याङ्कलाई हेर्दा जम्मा ३ सयको हाराहारीमा मुद्दा दर्ता हुनु तथा अनुसन्धानको क्रममा यथेष्ठ प्रमाणहरू जुट्न नसक्दा थुप्रै पीडित÷प्रभावितहरूले न्याय प्राप्त गर्न नसकेका उदाहरण हाम्रो सामु छर्लङ्ग छन् । फलस्वरूप मानव बेचबिखनमा संलग्न सबै अपराधीहरूलाई कानुनी दायराभित्र ल्याउन सकिएको छैन । मानव बेचबिखनका पीडित÷प्रभावितहरू भन्नेवित्तिकै समाजले हेर्ने दृष्टिकोण कानुनी प्रक्रियामा जाँदा झन्झटिलो हुने मानसिकता तथा अनुसन्धानका क्रममा पीडित÷प्रभावित मैत्री व्यवस्था पर्याप्त नहुँदा मुद्दा दर्ताको सङ्ख्या उल्लेख्य हुन नसकेको पाइन्छ, जसको कारण पीडित÷प्रभावितहरू थप पीडामा रहनुपर्ने बाध्यता छ । 

नेपालमा मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्नका निम्ति वि.सं. २०६४ मा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र वि.सं. २०६५ मा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली निर्माण भई लागू भएको छ । त्यसैगरी पुनस्र्थापना गृह सञ्चालन कार्यविधि निर्माणसँगसँगै नेपाल सरकारको प्रत्यक्ष संलग्नतामा १० वटा पुनस्र्थापना केन्द्र र १ वटा दीर्घकालीन सुरक्षित आवास सञ्चालनमा छन् ।  यसका साथै विभिन्न मुलुकका दूतावासहरूमा पीडित÷प्रभावितलाई संरक्षण दिनको निम्ति आकस्मिक आवासगृह स्थापना हुनुले पनि मानव बेचबिखन न्यूनीकरणमा र प्रभावितहरूको संरक्षणमा सकारात्मक प्रयास भएको देखिन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मानव बेचबिखन नियन्त्रण शाखामार्फत विभिन्न कामहरू भइरहेका छन् । यस कामलाई प्रभावकारी बनाउनको निम्ति राष्ट्रिय समिति, जिल्ला समिति र गाउँ समितिको अवधारणा रहिआएकोमा विद्यमान सङ्घीय संरचनाअनुसार ऐन नियमावली संशोधन गरी राष्ट्रिय समिति, प्रदेश समिति  जिल्ला समिति र स्थानीय समिति निर्माण गर्नु आवश्यक देखिन्छ । यसैगरी गत वर्ष गठन भएको नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो हाल पूर्ण रूपमा सञ्चालनमा छ । यसले पनि मानव बेचबिखन नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।
 

विद्यमान ऐन र नियमावलीमार्फत कानुनतः यसको नियन्त्रण गर्ने, आवश्यकताअनुसार कानुनहरूको संशोधन गर्ने, बेचबिखन प्रभावितहरूको उद्धार र पुनस्र्थापना गर्ने तथा उनीहरूले पाउने सेवालाई सहज बनाउँदै सबै सरकारी र गैरसरकारी निकाय एक साथ अगाडि बढ्न सकेमा यो सामाजिक अपराधविरुद्धको हाम्रो यात्रा गन्तव्यमा पुग्नेछ । समाजमा हुने हिंसाका घटनाहरू मानव बेचबिखनका कारक बनिरहेको सन्दर्भमा हामी कोही पनि कुनै पनि बेला यस्ता घटनामा पर्न सक्छौँ भन्ने कुरा मनन गर्दै ‘‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र म हिंसाको प्रतिकार गर्छु’’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गरेर सबै लागेमा हाम्रो समाजलाई मानव बेचबिखन र हिंसा मुक्त बनाउन सकिन्छ ।

निर्देशक, आफन्त नेपाल (मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति सदस्य)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...