बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा हङ्गामा : ब्रिफकेस खोस्नेदेखि भाषण अगावै लिक गर्नेसम्म, यस्ता थिए काण्ड

बुधबार, १५ जेठ २०७६, १२ : ५२
बुधबार, १५ जेठ २०७६

काठमाडौँ । आम नेपाली बजेटको ब्यग्र प्रतीक्षामा छन् । अबको केही घण्टामा मुलुकले आगामी आर्थिक वर्षको (२०७६/७७) आय व्यय (बजेट) को अनुमानित विवरण पाउँनेछ ।

साँझ ४ बजे प्रस्तुत हुने बजेट दुई तिहाइको सरकार (नेकपा)को दोस्रो बजेट हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सो बजेटलाई संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नेछन् ।

मन्त्री खतिवडा स्वयंको पनि यो दोस्रो बजेट हो । उनको पहिलो बजेट चालु आर्थिक वर्षको बजेट हो । २०७५/७६ का लागि उनले १३ खर्ब बराबरको बजेट प्रस्तुत गरेका थिए ।

नेपालमा बजेको इतिहास लामो छैन । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै बजेटको इतिहास सुरु हुन्छ । वि.सं. २००८ सालमा मुलुकले पहिलो बजेट पाएको थियो । सो बजेट सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए । त्यतिबेलाको बजेट जम्मा ५ करोड २५ लाख रुपैयाँको थियो । सवा ५ करोडबाट सुरु भएको बजेटको आकार पछिल्ला दिनमा बढ्दै गयो । आगामी बजेट झण्डै १६ खर्बको हाराहारीमा आउने अनुमान छ । हरेक बजेट जसले सम्पूर्णलाई सन्तुष्टि दिनसकेको इतिहास अहिलेसम्म छैन ।  कुनै न कुनै कोणबाट बजेटको आलोचना हुने गरेको छ ।

यसैबीचमा बजेट आलोचित मात्र होइन निकै विवादित बन्न पुगेको इतिहास केलाउन खोजेका छाँै । ब्रिफकेस च्यात्नेदेखि संसद्मा बजेट पेस हुनु अगावै बेभसाइटमा राखिएका उदाहरण छन् ।

विवादित बजेट

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस खोसियो 

अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा पेश भएको बजेट निकै विवादित थियो । तात्कालीन नेकपा एमालेका तर्फबाट अर्थमन्त्री बनेका पाण्डेले आर्थिक वर्ष २०६६/६७ को बजेट ल्याएका थिए । यसै समयमा मन्त्री पाण्डेले प्रस्तुत गरेको बजेटमा ठूलै हुलदङ्गा मच्चियो । विवादित बजेटका विरुद्ध तत्कालीन एनेकपा माओवादीका सांसदहरु अर्थमन्त्री पाण्डेमाथि जाइ नै लागेका थिए । उनीहरुले मन्त्रीको हातबाट बजेट ब्रिफकेस खोस्नेदेखि मन्त्रीलाई नै सोही ब्रिकेसले प्रहार समेत गरे । जसबाट पाण्डेलाई सामान्य चोट समेत लाग्न पुगेको थियो । 

महेश आचार्यको बजेटमा अर्ब हुनुपर्ने ठाउँमा करोड भएपछि

अर्थमन्त्री महेश आचार्यको पालामा पनि बजेट विवादरहित रहेन । बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको अर्थमन्त्री बनेका महेश आचार्यले २०४८ सालको बजेट ल्याएका थिए । उक्त बजेटमा एक अङ्कको फेरबदल हुँदा संसदमा ठूलै हङ्गामा मच्चिएको थियो । बजेट विनियोजनको एक शीर्षकमा अर्ब हुनुपर्ने ठाउँमा करोड हुँदा सांसदहरु विरोधमा उत्रिएका थिए । अर्थविद् केशव आर्चायका अनुसार सो बजेटमा अङ्कको पछाडिको सुन्नामा गल्ती भएको थियो । यसै विषयलाई लिएर संसद्मा होहल्ला मच्चिँदा मन्त्री आचार्यले संयमित हुँदै कोही पनि कर्मचारीलाई दोष नदिई, आफैले गल्ती स्वीकार्दै माफी मागेका थिए ।

भरतमोहन अधिकारीको बजेट पढ्नुअघि नै लिक

मुलुकमा २०५१ सालमा बहुमतसहितको पहिलो कम्युनिस्ट सरकार बनेको थियो । कम्युनिस्ट सरकारका अर्थमन्त्री बनेका भरतमोहन अधिकारीले २०५१ सालमा ल्याएको बजेट सामाजिक सुरक्षामा केन्द्रित नेपालको पहिलो बजेट हो । यसै समयमा वृद्धभत्ता जस्ता लोकप्रिय सामाजिक सुरक्षा कार्यक्रम ल्याइएका थिए । यसै कार्यक्रममार्फत भरतमोहन अधिकारी मात्र नभएर सिङ्गो पार्टी नै लोकप्रिय बन्न पुग्यो । यस्तो लोकप्रिय बजेटमा पनि केही विवाद देखियो । उनले संसदमो बजेट पेस गर्दैगर्दा वेभसाइटमा लिक भएको भन्दै विवादित भयो ।

बजेटको महत्त्वपूर्ण भाग मानिएको करको विषयसमेत मन्त्री अधिकारीले संसदमा पेस गर्नु अगावै लिक भएको थियो । जुन समयमा बजेटको गोपनीयता भङ्ग भएको भन्दै विरोध गरिएको थियो । यसै विषयलाई लिएर अर्थ मन्त्रालयका तत्कालीन अर्थसचिव रामेश्वर खनालले राजीनामा समेत दिएका थिए ।

गैरराजनीतिक व्यक्ति भन्दै पार्टीभित्रैबाट खतिवडाको आलोचना

अहिलेका अर्थमन्त्री ओली सरकारको तर्फबाट वि.सं. २०७४ साल जेठ २४ गतेबाट मनोनित सदस्यमार्फत् अर्थमन्त्री बनेका हुन् । उनले चालु आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । दोस्रो बजेटसँगै उनको कार्यकाल पनि सकिँदैछ । खतिवडाको बजेटभन्दा गैरराजनीतिक व्यक्तिलाई अर्थमन्त्री बनाएको भन्दै आफ्नै पार्टीभित्रबाट आलोचना भयो । सो आलोचना मत्थर भइसकेको छ । पहिलो बजेटबाट पार्टीभित्रैका नेतालाई चिढ्याएका अर्थमन्त्री यस पटक खुसी बनाउने पक्षमा छन् । यस कारण पनि उनको बजेट पपुलिस्ट हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप