केन्द्रीय संस्करण

नेपालमा गणतन्त्रको गर्भाधान गर्ने त्यो समझदारी

person explore access_timeजेठ १५, २०७६ chat_bubble_outline1

राजतन्त्रको निरंकुशताविरुद्धको आन्दोलनका क्रममा राजनीतिक दलहरुका बीचमा थुप्रै सम्झौता तथा समझदारीहरु भएका छन् । तीमध्ये पनि भारतको नयाँ दिल्लीमा भएको एउटा ऐतिहासिक समझादारीको विशिष्ट महत्त्व र अर्थ छ । खासगरी, तत्कालीन समयमा राजाका विरुद्ध शान्तिपूर्ण जनआन्दोलन गरिरहेका, संसदवादी पार्टीका रुपमा परिचित राजनीतिक दलहरु र शासनव्यवस्थाका विरुद्ध सशस्त्र संघर्ष गरिरहेका तत्कालीन माओवादी पार्टीबीच भारतको राजधानी नयाँ दिल्लीमा भएको उक्त ऐतिहासिक समझदारी बाह्रबुँदे समझदारीको रुपमा चर्चित छ ।

२०६२ मंसिर ७ गते हस्ताक्षर गरिएको सोही समझदारीले सशस्त्र संघर्ष तथा शान्तिपूर्ण संघर्ष गरिरहेका दुई धु्रवमा उभिएका नेपालका राजनीतिक शक्तिहरुलाई एउटै कित्तामा उभ्याएर राजतन्त्रविरुद्ध धक्कासहितको आन्दोलन तथा गणतन्त्रको गर्भाधान समेत गरेको थियो ।

सो समझदारी कस्तो थियो ? त्यसमा के कस्ता कुराहरु लेखिएका थिए ? सो जान्न बुझ्न र थाहा पाउन आजको समयमा पनि सान्दर्भिक नै हुने भएकोले सो समझदारीको पूर्ण पाठ हामीले यहाँ जस्ताको तस्तै राखेका छौं ।

१. आज देशमा लोकतन्त्र, शान्ति, समृद्धि, सामाजिक अग्रगमन तथा स्वतन्त्र सार्वभौम नेपाल आम नेपाली जनताको प्रमुख चाहना हो । त्यसका निम्ति प्रमुख बाधक निरंकुश राजतन्त्र हो भन्ने कुरामा हामी पूर्ण सहमत छौं । निरंकुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले निरंकुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरूले निरंकुश राजतन्त्रका विरूद्ध आ—आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर निरंकुश राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

२. आन्दोलनको शक्तिले संसद्को पुनस्र्थापन गर्ने र त्यसको निर्णयले अधिकार सम्पन्न सर्वदलीय सरकार, माओवादीसँग वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पूर्ण लोकतन्त्र स्थापना गरेर नै देशमा विद्यमान द्वन्द्वको समाधान गर्न सकिन्छ र सार्वभौमसत्ता र राजकीय सत्ता पूर्णरूपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने कुरामा आन्दोलनरत सात राजनीतिक दलहरू पूर्ण प्रतिबद्ध छन् । आन्दोलनरत लोकतान्त्रिक शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्णयले अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिन्छ भन्ने नेकपा (माओवादी) को धारणा र प्रतिबद्धता रहेको छ । यो प्रक्रियागत कार्यसूचीको विषयमा आन्दोलनरत सात राजनीतिक दल र नेकपा (माओवादी) बीचमा संवाद चलाउँदै जाने र साझा सहमतिको खोजी गर्ने समझदारी बनेको छ । उक्त लक्ष्य हासिल गर्न जनआन्दोलनको शक्ति नै एक मात्र विकल्प हो भन्ने कुरामा समझदारी भएको छ ।

३. देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ । त्यसैले हामी निरंकुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको निर्वाचन र पूर्ण लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ संकल्पित छौं । यस प्रक्रियाद्वारा शान्तिपूर्ण नयाँ राजनैतिक धारमा अघि बढ्न नेकपा (माओवादी) प्रतिबद्धता व्यक्त गर्दछ । यसै सन्दर्भमा निरंकुश राजतन्त्रको अन्त्यपछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ । वार्ता प्रक्रियामा समेत भरपर्दो अन्तर्राष्ट्रिय समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौं ।

४. प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक आदि लोकतान्त्रिक मूल्य मान्यताप्रति नेकपा (माओवादी) ले आफ्नो प्रतिबद्धता प्रस्टताका साथ संस्थागत ढंगले सार्वजनिक गर्दै तदनुरूप आफ्ना गतिविधिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

५. नेकपा (माओवादी) ले सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा फर्केर स–सम्मान बसोबास गर्ने, उनीहरूको अन्यायपूर्ण तरिकाबाट कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने र उनीहरूलाई निर्वाध ढंगले राजनैतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

६. विगतका गल्ती कमजोरीहरूको आत्मसमीक्षा र आत्मआलोचना गर्दै भविष्यमा गल्ती कमजोरी हुन नदिन नेकपा (माओवादी) ले प्रतिबद्धता व्यक्त गरेको छ ।

७. सात राजनीतिक दलहरूले विगतमा संसद र सरकारमा छँदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त भएको छ ।

८. शान्ति प्रक्रियालाई अघि बढाउने सन्दर्भमा मानवअधिकारका मूल्यमान्यताहरूलाई पूर्ण सम्मान गर्ने र तिनका आधारमा अघि बढ्ने तथा प्रेस स्वतन्त्रताको सम्मान गर्ने कुरा प्रतिबद्धता गरिएको छ ।

९. जनता र अन्तर्राष्ट्रिय समुदायलाई भ्रम दिने तथा राजाको निरंकुश र अवैधानिक शासनलाई वैधानिकता प्रदान गर्ने कुत्सित उद्देश्यका लागि अघि सारिएको नगरपालिकाको निर्वाचनको घोषणा र संसदको निर्वाचनको चर्चा एउटा कपटपूर्ण चाल भएकाले त्यसलाई आ—आफ्नो ढंगले सक्रिय बहिष्कार गर्ने घोषणा गर्दै त्यस्तो निर्वाचनलाई असफल बनाउन आम जनतालाई आह्वान गरिएको छ ।

१०. जनता र तिनका प्रतिनिधि राजनीतिक दलहरू नै राष्ट्रियताका वास्तविक पहरेदार हुन् । त्यसैले देशको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकताप्रति हामीहरू पूर्ण रूपले प्रतिबद्ध छौं । शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तका आधारमा संसारका सबै मुलुकहरूसँग मैत्री सम्बन्ध र छिमेकी मुलुकहरू खासगरी भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्नु हामी सबैको साझा कर्तव्य हो । परन्तु आफ्नो निरंकुश र अवैधानिक शासन टिकाउन र देशभक्त जनतालाई भ्रम दिन राजा र राजावादीहरूले मण्डले राष्ट्रवादको हौवा खडा गर्ने र राजनीतिक दलहरूको देशभक्तिमाथि प्रश्नचिन्ह खडा गर्ने जुन मित्थ्या प्रयास गरिरहेका छन् त्यसबाट सतर्क रहन हामी सम्पूर्ण देशभक्त जनसमुदायलाई आग्रह गर्दछौं र अन्तर्राष्ट्रिय शक्तिहरू र जनसमुदायलाई नेपालको निरंकुश राज तन्त्रविरोधी लोकतान्त्रिक आन्दोलनलाई हरतरहले साथ दिन अपिल गर्दछौं ।

११. लोकतन्त्र शान्ति, समृद्धि, अग्रगामी सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राखेर भएका हाम्रा यी समझदारीका आधारमा संचालित हुने शान्तिपूर्ण जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आन्दोलनलाई सफल बनाउन हामी नागरिक समाज, पेशागत समुदाय, जनवर्गीय संघ—संगठनहरू सबै जाति र क्षेत्रका जनता, पत्रकार जगत, बुद्धिजीवीहरू र आमनेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।

१२. विगतमा दलहरूबीच भएका अनुपयुक्त व्यवहारहरूको सन्दर्भमा दल विशेषले आपत्ति जनाएका र छानविनको माग गरेका घटनाहरूको सम्बन्धमा छानविन गर्ने र दोषी पाइएमा दोषीलाई कार्वाही गरी सार्वजनिक रूपमा जानकारी गराउने साझा प्रतिबद्धता व्यक्त भएको छ । अब उपरान्त दलहरूबीच समस्या उत्पन्न भए सम्बन्धित तह वा नेतृत्व तहमा छलफल गरेर संवादका माध्यमबाट समस्याहरूको समाधान गर्ने समझदारी भएको छ ।

१. सात दलका तर्फबाट हस्ताक्षरकर्ता

माधवकुमार नेपाल– महासचिव, नेकपा (एमाले)

गिरिजाप्रसाद कोइराला– सभापति, नेपाली कांगे्रस

गोपालमान श्रेष्ठ– कार्यवाहक सभापति, नेपाली कांग्रेस (प्रजातान्त्रिक)

अमिक शेरचन– अध्यक्ष, जनमोर्चा नेपाल

प्रेम सुवाल– सदस्य, नेपाल मजदुर किसान पार्टी

भरत विमल यादव– उपाध्यक्ष, नेपाल सद्भावना पार्टी (आ.)

कृष्णदास श्रेष्ठ– अध्यक्ष, संयुक्त वाममोर्चा

२. नेकपा (माओवादी) का तर्फबाट हस्ताक्षरकर्ता

प्रचण्ड, अध्यक्ष, नेकपा (माओवादी)

कमेन्ट

  1. May 29, 2019, 3:38 p.m. Gitakrishna kharel
    योसंझौता पुन प्रकाश गरेर यीबुदाहरू प्रस्तूत गरेकोमा रातोपाटी प्रति कृतज्ञता प्र्रकटगर्छु ! यीबदाहरूको आधारमा एउटा अराजक अस्थिर राजनितिको जगमा खडागर्न २ पटक संबिधान सभाको चूनाव,गणतन्त्रक त्योपनि संघियता सहितको,खडागरेर सरकारले कार्यान्वित गरेको अस्थामा आईपुग्दा तेतिखेर सप्ता लिप्सारत तर असन्तोषि सातदोवाटोमा उभीएर कुनबाटो हिडे आफुकहा पुगिन्छ भन्ने उदेष्यहीन सातपार्टीका नेताहरू र भारतको दाहिने हात नेकपा(पाओवादी)जसलाई भारतले गॉसबासकपास,हतियार,गोलावारूदको सप्लाई दिएर बलिष्ट एकनेता प्रचन्ड बिच भएको यो संझौता रयसबाट चुवियका पहिलो संबिधान सभाकले छोडेको पूरापात सहित दोश्रो संबिधान सभाले पारित संबिधान , कस्तो वन्योभने "गधाको टाउको " सलहझै हरदम खाउमात्ै भन्ने मत्ताहात्तीको पेट" भएको र रक्सिलेमातिएको माउते गाजाले लठ्ठीएको पिछुवा र थपडीमारे जीन्दगी गुजार्र्दै मालामाल वन्ने,जनप्रतिनिधि हरू विकाशको विगुल फुक्ने माउते , क्रान्तिअधूरो। छ भन्दै ढोल प्रचनड रूपले ढोल पिटनेपि पछुवा ले योगधाकोमुख,हात्तीकोपेट भएको मत्ताहात्तीलाई जेट संझेर २पाईलटकोकल्पना गर्छन् !वास्तबमा ढेलपिटने पछुवा को माउते वन्ने होडको दौडमा गधाकोटाउको,भ्रष्टाचारको पेट भएको मत्ताहात्तीको वि विगीशान्त हुनत प्पाकृत प्रलयनै हुनु पर्छ!जनताकै होशठेगानलागेपछि यी आफै लिलाधारी नेताहूरू स्वत रंगमंन्चबाट खस्कदैछन् !ऐले हामी सर्ब साधारण लाई नेकपाको अस्तित्व त "नखाउभने दिनभरीको शिकार खाउभने कान्छाबऊके अनुहार"मात्रै भएको ! नसंघियता नत यो ७दोबाटे गधाको टाउको हात्तीको पेटभएको मत्ताहात्तीरूप संबिधान नै बच्छ ,! सभन्दा वलियो समयछ हामिले हातको घडीको समय मिलाउदैमा सूर्योदय र सूर्यास्तलाई नियन्त्रण गर्न सक्छौ र? तेसैले हामीहरू पशुपतिनाथसंग कल्याण कामनामात्र् गर्न सक्षम छौ !यसोगर वा तेसोगर भनेर आज्ञा दिन सक्छौ र ?
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...