शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

बिहीबार, १६ जेठ २०७६, ११ : ४१
बिहीबार, १६ जेठ २०७६

इन्सब्रुक (अष्ट्रिया) । अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो ।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताए । उनले नेपालको हिमालहरुको देश भएको र पर्वतारोहण नेपालको पहिचान भएको बताए ।

‘सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो’, उपराष्ट्रपति पुनले भने, ‘त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्नुहुने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ ।’

उनले अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उनको भनाई छ ।

‘अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ’, उनले भने, ‘सगरमाथा आरोहण गरी ख्याति प्राप्त गर्नुभएका अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उपराष्ट्रपति पुनले नेपाल‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । उहाँले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिंदै नेपाल भ्रमणका लागि अष्ट्रियाली नागरिकलाई अपील गरे ।

उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध र सगरमाथा र सम्पदाका कारण जोडिएको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गरे । उनले अष्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान देर बेलेनले अग्रसरता लिएको जलवायु सम्बन्धी शिखर सम्मेलनमा नेपाललाई पनि जोडिने अवसर मिलेको बताए ।

उनले वातावरण तथा जलवायू परिवर्तनका कुरा गर्दा हाम्रा हिमाल तथा पर्वतमाला माथि परेको प्रतिकूल पर्यावरणीय असरलाई पनि बिर्सन नहुने बताए ।

अष्ट्रियाली नागरिकले सगरमाथा आरोहण गरेको ४० वर्ष पूरा

भूपरिवेष्ठित मुलुक अष्ट्रियाका धेरै नागरिकले सगरमाथा लगायत नेपालका हिमालहरु आरोहण गरेका छन् । अष्ट्रियाली पर्वतारोहीले पहिलो पटक सगरमाथा आरोहण गरेको समेत ४० वर्ष पुगेको छ ।

टिरोल प्रान्तको शहरमा आयोजित कार्यक्रममा सगरमाथाको कीर्तिमानी आरोहणका नेता उल्फगाङ्ग नायर्ज लगायत सगरमाथा आरोहीहरु र नेपाली समुदाय तथा अष्ट्रियाली नागरिक गरी करिब पाँच सय जनाको उपस्थिति थियो । नेपाली राजदूतावासबाट आयोजित कार्यक्रममा नेपालका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत सहभागी थिए ।

कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले अष्ट्रियालीले नेपाललाई अत्यन्त माया गर्ने गरेको भन्दै नेपालको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी नेपालको भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी गराउनु हुँदै नेपाल घुम्न आग्रह गरे ।

कार्यक्रममा पहिलो पटक अक्सिजन विना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको किर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का सगरमाथा आरोही जोसेफ इन्वाल्नेरले आफ्नो अनुभूति राख्दै अष्ट्रियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा सगमाराथा आरोही हष्ट्रियालीहरुलाई नेपालको तर्फबाट उपराष्ट्रपति पुन र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप