मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तातोपानी नाकाको वास्तविकता : कन्टेनर मात्र गुड्ने, मान्छे आवत–जावत बन्द कायमै

बिहीबार, १६ जेठ २०७६, १६ : १६
बिहीबार, १६ जेठ २०७६

नेपालको उत्तरतर्फ चीनसँगको तातोपानी सिमानाका सञ्चालनमा आएसँगै स्थानीय व्यवसायीहरुले खुसी ब्यक्त गरेका छन् । बुधबार नाका खुला गर्ने बिशेष समारोहमा सहभागी हुन आएका नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अशोककुमार श्रेष्ठले अब फेरी चीनसँग ब्यापार व्यवसाय गर्न पाउने आसा राखे । उनले नेपाल सरकार र चीन सरकारलाई धन्यवाद दिंदै नाका पुनः संचालनले नेपालीलाई फाइदा पुग्ने बताए । श्रेष्ठ जस्तै चीनसँग व्यापार व्यवसाय गर्ने स्थानीय नेपाली व्यवसायी ४ वर्षदेखि बन्द रहेको तातोपानी नाका गत बुधबारदेखि सञ्चालनमा आएपछि उत्साहित बनेका छन् । 

२०७२ सालको विनासकारी भूकम्पले तातोपानी क्षेत्रमा ठूलो भौतिक क्षति पु¥याएको थियो । नेपाल चीन जोड्ने मितेरी पुल, दुवैतर्फका भन्सार कार्यालय लगायत अन्य कार्यालयहरूको भौतिक संरचनामा ठूलो क्षति पुगेर मुख्य नाका बन्द हुँदा नेपाल चीनबीचको व्यापार व्यवसायमा धक्का लागेको थियो । 

भूकम्पपछि नेपालबाट ३ पटक प्रधानमन्त्री स्तरीय र १ पटक राष्ट्रपति तहमा चीनको भ्रमण भएको थियो । अघिल्लो र यस पटकको कार्यकाल गरी प्रधानमन्त्री केपी शर्मा ओली २ पटक र प्रधानमन्त्री रहँदा पुष्पकमल दाहाल प्रचण्डको १ पटक र हालै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपालले चीन समक्ष उठाएको मुख्य मुद्दामध्ये तातोपानी नाकाको पुनः सुचारु पनि एक थियो । सरकारको पहलप्रति चीन सकारात्मक बनेपछि अन्ततः नाका खुला भएको हो । चीन आफैँले मितेरी पुल निर्माण सम्पन्न गरेको छ भने सिमानाबाट ६ किलोमिटर यता लार्चा भन्ने ठाउँमा २० करोड लागतमा सुख्खा बन्दरगाह निर्माण गरेर नेपाललाई हस्तान्तरण समेत गरेको छ ।

नाका सुचारुका क्रममा जेठ १५ गते बुधबार चीनले मितेरी पुलमा एक औपचारिक कार्यक्रम गरेको थियो जहाँ नेपाल सरकारका उद्योग वाणिज्य मन्त्री मातृका यादव, मन्त्रालयका सचिव सहितका पदाधिकारी, सिन्धुपाल्चोकका दुई सांसद् अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ लगायत सहभागी थिए । कार्यक्रममा जनवादी गणतन्त्र चीनका तर्फबाट तिब्बत स्वशासित क्षेत्रका अध्यक्ष छि ताला, चीनका भन्सार उपप्रमुख चाङ चि वन्, तिब्बत सरकारका उपप्रमुख चाङ यान छिन् र नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले मन्तव्य राखेका थिए । नेपालका तर्फबाट मन्त्री मातृका यादवले तातोपानी नाका सञ्चालनमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालमा चीन विरोधी गतिविधि हुन नदिने र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए । चिनियाँ पक्षले पनि नेपाल एक असल छिमेकी देश भएकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्तव्यका कार्यक्रम सकेपछि मितेरीपुलमा आतसबाजी गरेर चीनबाट प्रवेश गरेको ना ६ ख ४७५१ नम्बरको नेपाली कन्टेनरलाई स्वागत गरिएको थियो । पहिलो दिन ४ वटा कन्टेनरमा ऊन भित्र्याइएको थियो । 

नाका पुनः सञ्चालनमा आएपछि सो क्षेत्रमा स्थानीयवासी नेपाल र चीनको झन्डा बोकेर सीमास्थल पुगेका थिए । अब व्यापार व्यावसाय बढ्ने र स्थानीयलाई फाइदा पुग्ने उनीहरूको विश्वास थियो ।

चार वर्षपछि तातोपानी नाका सुचारु भए पनि अझै पूर्ण रूपमा खुलेको छैन । अहिले एक आपसमा सामग्री खरिद बिक्रीका लागि नाका खुलाउन चीन सहमत भए पनि एकअर्का देशका नागरिक आवतजावतका लागि भने अझै खुला गरिएको छैन । कोदारी तातोपानीमा भएको एक कार्यक्रममा सोही क्षेत्रका सांसद अग्नि सापाकोटाले मूल ढोका खुले पनि अझै पूरै ढोका नखुलेको बताए । उनले दुई देशका नागरिक आवत जावतका लागि चीनलाई अझै विश्वास दिलाउन आवश्यक रहेको बताउँदै एक चीन नीति क्रियाकलाप भए तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे ।

७२ सालको भूकम्पअघि सो नाकाबाट नागरिक आवतजावतको पनि व्यवस्था थियो । अहिले नाका खुलेपछि दुई देशबीच व्यापार व्यावसायका लागि सामान भरिएका कन्टेनर भने सहज रूपमा आवत जावत गर्न पाउने भएका छन् ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप