बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ १६ गते : प्रदेश ५ हेडलाइन, कहाँ के भयो ?

बिहीबार, १६ जेठ २०७६, २० : ५९
बिहीबार, १६ जेठ २०७६

बजेटमा सबैका मागलाई समेट्न गाह्रो : मुख्यमन्त्री पोखरेल 
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्रोत सीमित र नागरिकका अपेक्षा असाधारण भएकाले आगामी बजेटमा सबैका मागलाई समेट्न गाह्रो हुने बताएका छन् ।

प्रदेश ५ प्रदेश सभाको चौथो अधिवेशन अन्र्तगत सातौं बैठकमा पेश गरिएको विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकतामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै पोखरेलले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले गतवर्षका वार्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बाध्यता भएकाले यो वर्ष धेरै नयां कार्यक्रम थप गर्न गाह्रो भएको बताए । 

प्रदेश सरकारले आवधिक योजना बनाइसकेकाले सोही अनुसारको बजेट बनाउनुपर्ने सरकारको दायित्वलाई बुझ्न सांसदहरुलाई आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले छनौटमा परेका योजनालाई समयमै व्यवथापन गर्न सांसदहरुलाई सुझाव दिएका थिए । 

सो विधेयकमाथि सांसदहरु दिनेश पन्थी, कल्पना पाण्डे, दिपेश थारु, अष्टभुजा पाठक, भगवतीदेवी भण्डारी, फकुरुद्दिन खांनले विभिन्न सुझावहरु राखेका थिए । 

यसअघि तेस्रो अधिवेशनबाट पारित र प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका ८ वटा विद्येयक सभामुख पूर्णबहादुर घर्तीले सदनमा पढेर सुनाएका थिए । 

प्रदेश ५ मा निति तथा कार्यक्रम पारित भएको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । 

अहिलेको सरकारले कम्युनिष्टको बदनाम गरेको : वैद्य
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अहिलेको सरकारले कम्युनिष्टको नाम बद्नाम गरेको आरोप लगाएका छन । 

क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा आज उद्घाटन गर्दै उनले अहिलेको सरकारले कम्युनिष्टको पक्षमा नभएर कम्युनिष्टको  बदनाम गरेकोले विरोध गर्नु पर्ने बताए ।

समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले  लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यले दाबी गरे । 

‘भर्खरै बजेट आएको छ,’ उनले भने, ‘१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ कसरी विकास हुन्छ ?’ प्रश्न गरे । 

ब्यापार घाटा बढ्दै गएको अवस्थामा उद्योग, व्यवसाय र कृषि मैत्री बजेट आउन नसकेको उनले बताए । अहिलको सरकारले मिडियालाई अकुंश लगाउँने विधेयक ल्याएर निरकुंश बन्दै गएको बताउँदै उनले यसका विरुद्ध सशक्त आवाज उठाउन जरुरी रहेको बताए । 

रुपन्देह आसपासका दुई दजर्नभन्दा धेरै परियोजना 
संघीय सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ५ नंं प्रदेशको अस्थायी राजधानी रहेको रुपन्देही तथा आसपासका साना ठूला गरी दुई दर्जनभन्दा बढी परियोजना समेटिएका छन् ।

प्रस्तुत बजेटमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल मेडिकल कलेज, बृहत लुम्बिनी एकीकृत विकास गुरुयोजना, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलगायतका आयोजनाहरु प्राथमिकतामा परेका छन् । 

बजेटमा आगामी वर्षभित्रै निर्माण सम्पन्न हुने क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । पहिलो चरणको काम सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान सुरु गर्नको लागि उक्त बजेट विनियोजन गरिएको हो । 

त्यसैगरी तिलौराकोट, लुम्बिनी, देवदह र रामग्राम क्षेत्रलाई समेटी बृहत लुम्बिनी एकीकृत विकास गुरुयोजना तर्जुमाको लागि १ अर्ब बजेट विनियोजन गरिएको छ । उक्त बजेटले ५ नंं प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

त्यसैगरी तिलोत्तमा नगरपालिकामा दुई सय विगाह जग्गा छुट्टयाई काम अगाडि बढाइएको बुटवल मेडिकल कलेजको गुरुयोजना निर्माणको लागि १० करोड बजेट विनियोजन गरिएको छ । 

प्रस्तुत बजेटमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना, राप्ती कपिलवस्तु डाइभर्सन बहुउदेश्यीय आयोजना, ५ नंं प्रदेशमा नयाँ कृषि अनुसन्धान केन्द्र स्थापना, पाल्पा जिल्लामा मौसम मापन उपकरण (मौसमी राडार) जडान, ऐतिहासिक जितगढी किल्लाको संरक्षण, रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणकार्यमा तीब्रता तथा बुटवल बेलहिया र कोहलपुर जमुनाहलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएका छन् । 

त्यस्तै नवलपरासीको धौबादीबाट फलाम उत्पादन सुरु गरिने, भैरहवा र नेपालगन्जमा अन्तर्राष्ट्रिय चेकपोस्ट स्थापना, नौमुरे बहुउद्देश्यीय आयोजना सुरु, बुटवलदेखि गोरखपुर अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माण, बुटवल नारायण सडकखण्डको निर्माण कार्यमा तीब्रता दिँदै पूर्व र पश्चिमखण्डको डिपिआर सम्पन्न गरी निर्माण कार्य आरम्भ गरिने उल्लेख गरिएको छ ।

सवारी दुर्घटनमा ३ जनाको मृत्यु 
पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउँसो यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । 

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । मृत्यु हुने सबै महिला छन् । एक जनाको सनाखत हुन नसकेको रानाभाटले बताए । 

मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना मापछन् रहेका छन् । अर्की अन्दाजी ३०÷३५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ५२९५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिम नेपाल बस व्यवसायी संघ प्रा.लि.मा रुपान्तरण
देशकै सबैभन्दा ठूलो मानिएको यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी संघले प्रा.लि.मा रुपान्तरण भएको छ ।

नेपाल सरकारको निर्देशन र संघको निर्णय अनुरुप पश्चिम नेपाल बस व्यवसायी संघ प्रालिमा रुपान्तरण भएको हो । 

साबिक पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले गणतन्त्र दिवसको अवसर पारेर कम्पनी रजिष्ट्रार कार्यालयबाट पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को नाममा दर्ता अनुमतिपत्र लिएको जानकारी दिए । 

उक्त कम्पनी नेपालमै सबैभन्दा धेरै संस्थापक सेयर सदस्य भएको कम्पनीको रुपमा दर्ता भएको अध्यक्ष खरेलले बताए । नयाँ दर्ता भएको कम्पनीको अध्यक्षमा खरेल नै रहेका छन् । 

सरकारले यातायात व्यवसायी संस्थाहरुलाई नाफामुखी कम्पनीमा रुपान्तरण हुन जेठ १९ गते सम्मको समयसीमा दिएको थियो । यसका साथै सरकारले ऐन संशोधन गर्दै १ सय जनाभन्दा बढी सदस्यले संस्थापक सेयर लिन नपाउने व्यवस्थालाई यातायात व्यवसायीहरुको हकमा छुट दिएको थियो ।

दाङमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
दागङको तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिँदा रा २ प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो । 

तुलसीपुर–६ लक्ष्मीनारायण मन्दिर नजिक तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा पुन गम्भीर घाइते भएका प्रहरीले बताएको छ । 

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही बताए ।

उनका अनुसार मोटरसाइकलमा पछाडि बसेका सुकौराका देबु दहितको एउटा खुट्टा भाँचिएको छ । ट्रयाक्टरका चालक फरार रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप