शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीले बिहे गर्न नमान्दा प्रेमिकाले हानिन् दुई झापड, आवेगमा गरे हत्या

सोमबार, २० जेठ २०७६, १६ : ३५
सोमबार, २० जेठ २०७६

रुपन्देही–रुपन्देहीको गैडहवा गाउँपालिका–१ स्थित भुजौली बस्ने १८ वर्षीया सबनम नाउँको सोही स्थानका २३ वर्षीय असिरुद्दिन मुसलमानसँग प्रेम सम्बन्ध रहेको थियो । 
उनीहरु विगत छ महिनादेखि मोवाइलमार्फत सम्पर्क हुँदै भेटघाट बाक्लिएको थियो । 

वैशाख महिनाको अन्तिमतिर सबनम नाउँको घरमा बिहेको कुरा चल्यो । सामान्य परिवारकी नाउँ र असिरुद्दिन मुसलमानबीच प्रेम रहेको घरमा थाहा थिएन । जव घरबाट अर्को केटासगै बिहे गर्न बुवाले प्रस्ताव गरे अनि नाउँले आफ्ना प्रेमी मुुसमानलाई  भागेर बिहे गर्न आग्रह गरिन् ।

गाउँघरमै ट्रयाक्याटर चलाउने काम गर्दै आएका उनले अहिले बिहे गर्ने बेला नभएको भन्दै तत्काल बिहे नगर्ने अडान लिए ।

मन परेको केटाले बिहे नगर्ने तर घरमा अर्को केटासँग बिहे गरिदिने तयारी भएपछि नाउँको बैशाख ३० गते साँझ मुसलमानसँग विवाद समेत भएको थियो । सो क्रममा उनले प्रेमीलाई दुई झापड हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

जुन विवादपछि नै नाउँले ज्यान गुमाउनु परेको छ । 
जेठ १ गते बिहान ७ बजे गैडहवा गाउँपालिका–१ भुजौली, (रुपन्देही–कपिलवस्तु जिल्लाको सीमा, सुख्खा खोला) उनको शव फेला परेको थियो । 

प्रहरीले नाउँको हत्यामा संलग्न भएको अभियोगमा प्रेमी गैडहवा गाउँपालिका–१ का २३ वर्षीय असिरुद्दिन मुसलमान र हत्यामा सहयोग गर्ने कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का २१ वर्षिय अस्लाम मुसलमानलाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार जेठ ३० गते सवनमले आफ्नो प्रेमीलाई बिहे गर्न नमानेको भन्दै दुई झापड हिर्काएकी थिइन् ।  त्यसपछि आवेगमा आएर घर नजिकै एकान्त स्थानमा बोलाई असिरुद्दिनले आफ्नो साथीको सहयोगमा सलले सवनमको घाँटी कँसी हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले रातोपाटीलाई बताए ।
हत्यापछि घाँसपातले सोही स्थानमा शव छोपेर उनीहरु भागेका थिए । 
घटना भए पश्चात दुबै जना कपिलवस्तुको पकडी हुँदै फरार भएका थिए ।  भारतीय सीमा नाकामा रहेको असिरुद्धिनको फूपूको घरमा लुकेर बसेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

सामान्यतया गर्मीमा दुईवटा कुर्ता लगाइदैन, तर शव फेला पर्दा मृतकको शरीरमा दुईवटा कुर्ता लगाएको भेटिएको थियो, चोटपटक कतै थिएन ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार पोष्टमार्टमका लागि शव काठमाडौं पठाइए पनि हत्याको सुरुमा कारण खुल्न सकेन । पछि मृतकको छिमेकमा नजिकको मान्छेहरुलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दै जाँदा सवनमको प्रेम सम्बन्ध असिरुद्दिनसँग रहेको पाइएको एसपी थापाले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न मुसलमान र अस्लाम मुसलमानमाथि कर्र्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप