केन्द्रीय संस्करण

अलबिदा प्रोफेसर चाई !

person explore access_timeजेठ २१, २०७६ chat_bubble_outline0
दिवंगत प्रोफेसर चाई

स्लोभेनियाको एउटा होटलमा ब्रेकफास्टमा मलाई देख्नेबित्तिकै टोक्यो युनिभर्सिटीका प्रोफेसर इदागावाले सोध्नुभयो, दुखद् समाचार सुन्नुभयो ? अहँ, मैले त त्यस्तो केही सुनेको छैन । मेरो जवाफसँगै उहाँले अपत्यारिलो खबर दिनुभयो – हिजो मात्र प्रोफेसर चाईको दुखद् निधन भयो । खबरले मेरा खुट्टा लगलग काँपे, हातमा समातेको प्लेटमा कम्पनको महसुस भयो । नजिकैको टेबलमा गएर बसेँ, ब्रेकफास्ट भरी म निःशब्द भएँ, कसैसँग बोल्न मन लागेन । विगतमा सम्झनाहरु मानसपटलमा घुमिरहेँ । केही दिन पहिला इमेलमार्फत सम्पर्क भएको थियो । स्लोभेनियामा हुने यस सम्मेलनमा उनलाई भेट्ने आशा थियो । बज्रपातको खबरलाई सहजै स्वीकार्न सकिनँ । समाचार गलत होस् भन्ने लागिरह्यो, तर मेरो चाहानाले हुने केही थिएन । पीडा कम गर्न नजिकको मानिससँग समाचार आदान प्रदान गरे ।  

जर्मनीबाट विद्यावारिधि गरेपछि सन् २००१ मा पोस्टडक्टरेटका लागि उनीसँग काम गर्न सुरु गरेको थिएँ । जापानको चुकुवास्थित एक सरकारी राष्ट्रिय अनुसन्धान केन्द्र, नेसनल इन्स्टिच्युट फर मटरिएल साइन्समा । त्यसपछि उनीसँग लगातार मृत्युसम्म काम गरे । उनीसँग २५ भन्दा बढी सोधपत्र प्रकाशित छन् । मृत्युभन्दा ७ दिन पहिला मात्र एउटा शोधपत्र प्रकाशनका लागि पेश गरेको छु । मेरा लागि उनी सहकर्मी मात्र रहेनछन् भन्ने महसुस मृत्युपछिको पीडाले गराएको छ । आफन्तभन्दा बाहिरको मृत्युमा अहिले जस्तो पीडा भएको थिएन । 

सन् १९८२ मा ठोस पदार्थका दुई रूप (क्रिस्टल र एमर्फस) मात्र हुन्छ भन्ने वैज्ञानिक मान्यतालाई तोड्दै इजरायली वैज्ञानिक डान सेक्टम्यानले ठोस पदार्थको तेस्रो रूप पनि हुन्छ भन्ने पत्ता लगाए– जसलाई क्वासिक्रिस्टल भनिन्छ । यस आविष्कारका लागि सेक्टम्यानले सन् २०११ मा रसायनशास्त्रमा नोबेल पुरस्कार पाए । उनको आविष्कारको लगत्तै प्रोफेसर चाइले स्थिर क्वासिक्रिस्टल प्रयोगशालामा बनाउन सफल भए । तब मात्र यी नयाँ पदार्थका भौतिक तथा रासायनिक गुणहरुको प्रयोगात्मक अनुसन्धान गर्न सम्भव भएको थियो । उनले उत्पादन गरेका विभिन्न खालका क्वासिक्रिस्टललाई प्रयोग गरेर अहिले सयौँ वैज्ञानिकहरु अनुसन्धानमा छन् । क्वासिक्रिस्टलका पर्यायवाची जस्ता थिए उनी । कतिपयले उनी सेक्टम्यानसँग नोबेल पुरस्कारका साझेदार हुनुपर्ने ठान्छन् । अनुसन्धानका धरोहर भएर पनि उनमा कुनै बडप्पन थिएन । सरल र मिजासिला थिए । उनी झुक्न सक्ने फलेको वृक्ष थिए । जापानको राजाबाट विभूषित हुँदा उनलाई अफ्ठ्यारो लागेको थियो रे । उनको सरलता र शालीनताबाट मैले धेरै सिक्न सकेँ ।   

काममा उनले कहिल्यै बोसको जस्तो व्यवहार गरेनन् । कहिल्यै दबाब दिएनन् । कामका लागि कुनै समयसीमा तोकेनन्, नतिजाको माग गरेनन् ।  प्रयोगशालामा कति बेला आउँछ जान्छ उनले चियो चर्चाे गरेनन् । जापानमा यस्तो वातावरण बिरलै पाइन्छ । उनले गरे त केवल प्रोत्साहन र हौसला । वैज्ञानिक सम्मेलन, सेमिनारमा भाग लिन, वैज्ञानिकहरु बीच सञ्जाल स्थापना गर्न उनले मलाई सधँै सहयोग गरे । एउटा सफल अनुसन्धानकर्ता बन्न यी क्रियाकलापले कति महत्त्व राख्दो रहेछ, मैले पछि अनुभूत गरे । उनले अनुसन्धानमा दिएको स्वतन्त्रताले बढी जिम्मेवारी भएको महसुस गराउँदो रहेछ । सायद यसैले होला उनीसँग काम गरेकाहरु विरलै असफल भएका छन् । 

उनी नेसनल इन्टिच्युड फर मटरिएल साइन्स छाडेर तोहोकु युनिभर्सिटी गए । तलब सुविधा कम लिएर पनि उनी युनिभर्सिटीलाई रोजेका थिए । युनिभर्सिटीमा अझ बढी वैज्ञानिक खोज गर्न सकिन्छ भन्ने लागेको थियो । पैसामा उनलाई कुनै लोभ थिएन । पछि मैले पनि त्यो राष्ट्रिय अनुसन्धान केन्द्र छाडेर लिभरपुल युनिभर्सिटीमा आउने निधो गरेँ । भर्खर वरिष्ठ अनुसन्धानकर्ताको पदमा स्थायी नियुक्ति पाएको थिए । मेरो निर्णयले मेरा अर्का सहकर्मी डा. सिमोदा त्यति खुशी थिएनन् । छोराहरुको पढाइका लागि म लिभरपुल जानुपरेको तर डा. सिमोदा बेखुशी हुनुभएको कुरा मैले प्रोफेसर चाईलाई बताए । उनको छोटो जवाफ थियो– म तिम्रो ठाउँमा भएको भए पनि यही नै निर्णय गर्ने थिए । आफ्नो परिवारको खुशीको लागि हामीले कहिलेकाहीँ पेसामा कम्प्रोमाइज पनि गर्नु पर्छ । उनले डा सिमोदालाई सम्झाएपछि मैले सहज वातावरणमा छाडे । हरेक भेटमा उनले  छोराहरु, श्रीमतीको बारे सोधिरहन्थे, आफ्ना परिवारको बारे पनि कुरा गर्थे । यस्तै व्यक्तिगत कुराहरुले उनीसँगको आत्मीयता झन गाढा हुँदै गयो । हरेक भेटमा उनले डिनर वा लन्चमा निमन्त्रमा गर्थे । मलाई मन पर्ने इजागायामा हामीले थुप्रै पटक पिएका छौँ । 

सन् २०१६ मा उनी र म मिलेर क्वासिक्रिस्टलको १३औँ विश्व सम्मेलन नेपालमा आयोजना गर्याै । डा सेक्टम्यानसहित २२ देशका १०० भन्दा बढी वैज्ञानिकले भाग लिएका थिए । सम्मेलनको तयारीका लागि उनी मसँगै काठमाडौँमा पुगेका थिए । यसै क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सम्मेलनको उद्घाटन गर्न निमन्त्रणा दिएका थियौँ । सम्मेलनको क्रममा उनले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए । पाएको जिम्मेवारीलाई गम्भीरताका साथ लिन्थे । सम्मेलन कहाँ कसरी हुँदैछ– आफ्नै आँखाले हेर्न चाहन्थे । सन् २०१५ मा आएको भूकम्पपछि सुरक्षाको हिसाबले नेपालमा सम्मेलन गर्न हुँदैन कि भन्ने प्रश्न पनि उठेको थियो । तर सम्मेलन गरेर नेपाललाई सहयोग गर्नुपर्छ भनेर तर्क उनले गरे । अरू अन्तर्राष्ट्रिय सल्लाहकार समिति सदस्यहरुलाई पनि सम्झाए । नेपालका लागि र मेरा लागि पनि त्यो सम्मेलनले धेरै अर्थ राख्थ्यो । उनी नभएको भए नेपालमा त्यो सम्मेलनमा सम्भव थिएन । 

नेपालको सम्मेलनमा उनी श्रीमतीका साथ आएका थिए । उनको सेक्रेटरी नोरिको युवुता पनि आफ्नी सानी छोरीको साथमा थिइन् । नोरिको सन् २००१ देखि प्रोफेसर चाईसँग चुकुवामा काम गर्थिन् । पछि चाईसँगै तोहोकु गइन् र अन्तिम दिनसम्म पनि उनलाई सहयोग गरिन् । उनीसँग काम गर्न मानिस कति लालायित हुन्छन् भन्ने नोरिको उदाहरण हुन् । उनको बारेमा कसैले नराम्रो टिप्पणी गरेको मैले सुनेको छैन । 

यही वर्षको फेब्रुअरी मा ६०औँ जन्म दिवस मनाए लगत्तै मार्चको सुरुमा उनलाई फोक्सोको क्यान्सर लागेको पत्ता लागेको रहेछ । क्यान्सरले तेस्रो चरणमा प्रवेश गरिसकेको रहेछ । सायद उनलाई त्यस दिनदेखि नै छिटै मर्छु भन्ने लागेको थियो । क्यान्सर लागेको कुरा आफ्ना सहकर्मी, विद्यार्थी र कर्मचारीलाई समेत भन्न रुचाएन । सायद आफ्ना कारणले अरूलाई दुःख र पीडा नहोस् भन्ने चाहन्थे उनी । आफ्ना लागिभन्दा पनि अरूका लागि समाजका लागि बढी  सोच्थे । 

जीवनको अन्तिम दिनसम्म पनि उनी सक्रिय भएर काम गरे । मृत्युको हप्ताको बुधबार तोहोकुमा आफ्ना विद्यार्थी र सहकर्मीलाई भेटेर बिहीबार ताइपेईको एउटा विश्वविद्यालयमा मन्तव्य दिएका थिए रे । शुक्रबार अनुसन्धानसँग सम्बन्धित केही कम्पनीसँग बैठक गरेका उनीले शनिबार श्रीमतीको काखमा ताइपेईको एउटा होटलमा अन्तिम सास लिए । धेरै यात्रा नगर्न र आराम गर्न श्रीमतीले गरेको अनुरोधलाई अवज्ञा गर्दै उनले भनेका रहेछन्– मेरो जन्मभूमि ताइवानका लागि धेरै गर्नुछ । पछिल्लो समय ताइवानका लागि केही गर्न उनी सक्रिय रहेछन् । स्कुल सकाएर उनी युनिभर्सिटी पढ्न ताइवानबाट जापान पसेका थिए । जापानको नागरिक बन्न उनलाई कानुनले नछेके पनि ताइवानकै नागरिक हुन चाहेको कुरा केही वर्ष पहिले उनले बताएका थिए ।  

म पनि उनी जस्तै मनभरी देशको माया बोकेर परदेशलाई कर्मभूमि बनाएको मानिस । लाग्छ हामी चरनमा गएका गाई हौँ, दिउँसो जहाँ जहाँ गए पनि साँझ घर फर्किनु पर्ने ।  कुनै दिन देश फर्काैंला र मातृभूमिलाई सेवा गरौँला भन्ने इच्छा छ । तर प्रोफेसर चाइलाई जस्तै ढिला हुने त होइन डर पनि लाग्न थालेको छ । प्राविधिक कारणले ताइपेईमा हुने अन्त्येष्टिमा प्यारो प्रोफेसरलाई श्रद्धाञ्जली दिने इच्छा पूरा हुन सकेन । माफ गर्नु होला, प्रोफेसर चाई, तपाईं सधैँ हाम्रो माझ रहिरहनु हुनेछ । अलबिदा  ।

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...