बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीपीको घरमा लाग्यो ताला !

सरकारले कोइराला निवासबाट सुरक्षाकर्मीको युनिट हटायो
बुधबार, २२ जेठ २०७६, ०९ : ३३
बुधबार, २२ जेठ २०७६

काठमाडौँ । सरकारले मोरङको विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मीको युनिट हटाएको छ ।

मातृका, बीपी र गिरिजाप्रसाद कोइरालालगायत देशलाई विभिन्न समय तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो ।

कोइराला निवासलाई नेपाली प्रजातान्त्रिक आन्दोलन र काँग्रेसको इतिहासको धरोहरका रूपमा लिने गरिन्छ ।  सुरक्षा युनिट फिर्ताको निर्णयबारे स्थानीय प्रहरी–प्रशासनले भने अनभिज्ञता जनाएको छ । यसअघि सशस्त्र प्रहरीका असईको नेतृत्वमा १४ जनाले निवासको सुरक्षा गर्दै आएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी भन्छन्, ‘स्थानीय प्रशासनले सशस्त्र प्रहरीको टुकडीलाई हटाएको होइन । गृह मन्त्रालयले हटाएको होला । यसबारे हामीलाई केही पनि थाहा छैन ।’

निवासकी सहयोगी लक्ष्मी सुवेदीले भनिन्, ‘गत बिहीबार सशस्त्र प्रहरी सरकारले फिर्ता बोलाएको भन्दै सामान लिएर हिँडेपछि निवास सुरक्षाविहीन भएको छ । अहिले साँझ पर्ने साथ हामी घरको मुल गेटमा ताला लगाएर बस्ने गरेका छौँ ।’ सशस्त्र प्रहरीको युनिट हटाइएपछि निवासमा हाल सुरक्षाका लागि कोइराला परिवारका सहयोगी लक्ष्मीसहित चार जना बस्दै आएका छन् ।

‘निवासका कुनै पनि कोठामा कहिल्यै साँचो लाग्दैनथ्यो । लक्ष्मीले भनिन्, ‘प्रहरी हटाएपछि आमा नोना, गिरिजाबाबु र अहिले शेखर कोइरालाले प्रयोग गर्ने कोठामा साँचो लगाइएको छ ।’

यो निवासलाई काँग्रेस र अन्य राजनीतिक दलका नेता र कार्यकर्ताले ऐतिहासिक धरोहरका रूपमा लिँदै आएका छ । काँग्रेसका कतिपय नेताहरू विराटनगर आउँदा यही निवासमा अझै पनि बस्ने गर्छन् । मुलुकका विभिन्न भागबाट विराटनगर घुम्न र शैक्षिक भ्रमणमा आउने टोली एकपटक यो निवासमा पुगेकै हुन्छन् । कोइराला निवास संग्राहलय जस्तो छ । घुम्न पुग्नेहरूका लागि सधैँ खुला छ ।

के भन्छन् शेखर ?

कोइराला निवासबाट सुरक्षाकर्मीलाई हटाएकोप्रति काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले गुनासो गरेका छन् ।


‘म जन्मेदेखि त्यो घरमा ताल्चा लगाएको छैन । अहिलेम ६८ वर्षको भएँ । अब ताल्चा लगाएर बस्नुपर्यो,’ शेखर भने ।


‘सरकारले किन हटायो ? केका लागि हटायो ? मलाई केही थाहा छ । कसैले एक पटक फोनबाट पनि खबर दिएन । यस्तो गर्दैछौँ भनेर । यसमा मेरो केही प्रतिक्रिया छैन,’ शेखरले भने, ‘बिहीबार म विराटनगरमा थिएँ । दिउँसो ३ बजेतिर काठमाडौं फर्किएँ । साँझ ५ बजेतिर त्यहाँ घरबाट फोन आयो, सुरक्षाकर्मी हटाइयो भनेर । किन हटाएको भनेर मैले पनि कसैलाई सोधेको छैन ।’

उनका अनुसार सशस्त्र द्वन्द्वका बेला २०५४ मा निवासको पश्चिम क्षेत्रमा सुतली बम विस्फोट गराइएको घटनापछि सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको थियो ।

‘२०५४ मा निवासको पश्चिम क्षेत्रमा बम विस्फोट भएपछि त्यहाँ सुरक्षाको व्यवस्था मिलाइको हो । हामी त्यो बेला धरानमा थियौँ । अहिले सरकारलाई लाग्यो होला घर सुरक्षित छ । किन सुरक्षा चाहियो । अनि हटाइ दियो,’ उनी भन्छन्, ‘हुन त त्यो घर मेरो हो । म नै बस्छु । तर आम मानिस गइराखेका हुन्छन् । माओवादी पनि आउँछन्, एमाले पनि आउँछन् । सबै आउँछन् । हिमालदेखि पहाड सबै ठाउँका जिल्लाबाट पनि जानताहरु घुम्न आउँछन् । दैनिक ३०–४० जनाजति आउँछन्, घर हेर्छन्, जान्छन् ।’

‘उनले आफू जन्मेको दिनदेखि आजसम्म घरमा ताल्चा नलगाएको शेखरले दाबी गरे । ‘म जन्मेदेखि त्यो घरमा ताल्चा लगाएको छैन । अहिलेम ६८ वर्षको भएँ । अब ताल्चा लगाएर बस्नुपर्यो,’ शेखर भने, ‘घरको सामुन्ने अस्पताल छ । केही पर्यो भने म त्यहाँ हुँदा डाक्टर साप भन्छन् । आउँछन, बस्छन् । खाना खान्छन् । त्यो सबैको लागि खुला घर हो । तर ओली सरकार सुरक्षाका लागि खटेको युनिटलाई हटायो ।’

उनले थपे, ‘त्यो घरको आधिकारीक व्यक्ति म नै हो । घर पनि मेरै नाममा छ । तर त्यो घरले मेरो मात्र थिएन, होइन । त्यसैले घरमा कहिल्यै ताला लाग्दैन थियो । तर अहिले त्यहाँ बस्नेहरु निकै डराएका छन् । पछिल्लो परिस्थितिले झनै डर र त्रास बढाएको छ । उनीहरुले अब ताला लाउँछु भने । अनि मैले पनि हुन्छ ताला लगाइ दिनु भनेको छु ।’

उनका अनुसार यही निवासबाट पिताजी कृष्णप्रसाद कोइरालाले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणालाई नेपाली जनताको वास्तविक अवस्था देखाउन फाटेको भोटोको पार्सल गरेर पठाएको र त्यहीँबाट प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेको मानिन्छ ।

कोइराला निवास

उक्त निवासबाट विश्वेश्वर, मातृका र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीका रुपमा उदाएका थिए । अहिले निवास नोना कोइरालाका छोरा तथा काँग्रेसका केन्द्रीय सदस्य शेखरले प्रयोग गर्दै आएका छन् । कृष्णप्रसादको नासोका रूपमा मानिएको निवास र यसको जग्गा जमिन नोना र गिरिजाप्रसादको निधनपछि पारिवारिक अंशबण्डाका कारण पहिलेभन्दा केही खुम्चिएको छ ।

निवासको दक्षिणपट्टि रहेको आफ्नो भागमा परेको ८ कट्ठा जमिन बीपीका सन्तान प्रकाश, शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि तिनमा अहिले व्यापारिक भवन निर्माण गरिएका छन् ।

निवासको उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको छ । पूर्वपट्टिको जमिन गिरिजाप्रसादकी छोरी काँग्रेस नेतृ सुजाताको भागमा परेको छ । आफ्नो भागको जग्गामा उनले भवन निर्माण गर्न लगाएर जीपी फाउन्डेसनको कार्यालय राखेकी छन् । पुरानो निवासको स्वामित्व हाल केशव–नोनापुत्र डा. शेखर र नीरञ्जनको नाममा छ ।

किन हटाइयो ?

सुरक्षा युनिट फिर्ता गर्न गृह मन्त्रालयको पत्र आएको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी सुरजकुमार श्रेष्ठले बताए ।

‘दिवंगत उच्चपदस्थका घरबाट सेक्युरिटी युनिट फिर्ता बोलाएर नियमित काममा लगाउनु भन्ने परिपत्र छ,’ उनले भने, ‘त्यसअनुसार अरू ठाउँमा पनि हामीले सुरक्षा दिएका युनिटलाई व्यवस्थापन गर्दै लैजान्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप