शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर देवकुमार नेपाली भन्छन्, ‘दमाईको छोरालाई नमस्कार गर्न गाह्रो मान्छन्’

बुधबार, २२ जेठ २०७६, १० : १८
बुधबार, २२ जेठ २०७६

बुर्तिबाङ्ग । ‘म यही  वुर्तिबाङ्गमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनु भएको हो,’ बाग्लुङ्गको  ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफ्नो विगत सम्झदैँ भन्छन्, ‘मैले मेरो इतिहास भुल्न सक्दिनँ ।’

मंगलबार  दलित क्षेत्रीय सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्बर–२ ले  वुर्तिबाङ्गमा आयोजनाा गरेको जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवसमा दलित समुदायलाई सम्बोधन गर्दै  मेयर नेपालीले आफूले दलित भएर भोग्नु परेको अपहेलाना र  पिडा सुनाए ।

हाम्रो परिवार निकै गरीव थियो । १३  वर्षको उमेरसम्म खुट्टामा चप्पल लगाउन पाइनँ,’ उनले भने, ‘दलित भएकै कारण हरेक ठाउँमा विभेद र तिरस्कार भोग्नुपर्यो ।’

दमाईले छोएको कपडा नकिन भन्थे 

उनले  विगत स्मरण गर्दै भने, ‘म हुर्केपछि बुर्तिबाङ्ग बस पार्क  क्षेत्रमा  कपडाको दोकान राखेँ । त्यति बेला त्यो दमैले छोएको कपडा नकिन भन्नेहरु थिए । त्यसमा मैले चिनी लगायतका सामान पनि बेच्थें । दमाईले छोएको चिनी नकिन भन्न थालियो  ।’

‘त्यति बेला चिनीको मुल्य २४ रुपैयाँ किलो थियो ।  मेरो पालो मैले २० रुपैयाँ किलो बेच्न थाले । किलामा ४ रुपैयाँ सस्तो बेच्न थालेपछि मैले छोएको चिनी चल्न थाल्यो ।’

दलित र गरिवको पिडा राम्ररी बुझेको बताउँदै उनले दलितहरु पछाडी पर्नुको कारण डर भएको उल्लेख गरे । ‘ठ्याक्कै नडराउनुस् । डराउनु पर्ने कारण नै छैन । हामी के कुरामा कम छौँ ?,’  उनले भने ।

दमाईको छोरालाई नमस्कार गर्न गाह्रो 

‘विगतमा दलित हुनुसको पिडा भोगियो नै, अहिले म मेयर हुँदासमेत दलित हुनुको पीडा खेप्नुपरेको छ,’ उनी भन्छन्, ‘एकथरी मान्छेले भन्ने गरेका छन् – यो दमाईको छोरालाई पनि नमस्कार गर्न पर्ने भयो ।’

‘उनीहरु हेप्न खोज्न तर म हेपिन्न  । म सबै जातजातीको सम्मान गर्छु । तर कसैले कसैलाई हेपको सहन सक्दिनँ ।’

उनले भने, ‘त्यस्ता मानिसहरु आज यो हजारौँ दलितको भीड देखेर  चक्कर आएर ढल्ने भएका होलान् । अनेक जालझेल बुन्दै होलान् ।’

‘मेरा खुट्टा तान्न एउटा जमात ज्यान फालेर लागेको छ । मेयर देवकुमार नेपालीले भ्रष्टाचार ग¥यो भनेर मुद्दा पनि हालियो,’ उनले भने, ‘यो देशमा दलित समुदायबाट जम्मा दुई जना मात्रै मेयर छौँ ।  देशभर मै मात्र एउटा जनप्रतिनिधि हुँ जसले आफुले पाउने तलब सुविधा समेत लिएको छैन । तर फेसबुकमा पनि मेराविरुद्ध जथाभावी लेख्ने गरिन्छ ।’

उनले थप भने, ‘गरेर देखाउनुस्, मित्रहरु गरेर देखाउनुस् । मैले जस्तो सयौँ गरिवका घर छाएर देखाउनुस् । मैले जस्तो  विद्यालयहरुमा शिक्षक कर्मचारी तलव खुवाएर राखेर देखाउनुहोस् । कैयौँ महिला समुहका भवन बनाएर देखाउनुहोस् । विपदमा परेका परिवारको मैले जस्तो ब्यक्तिगत उद्धार गरेर देखाउनुहोस् ।’

कार्यक्रममा राष्ट्रिय दलित आयोगका निर्वतमान अध्यक्ष मन्जित ताम्राकारले दलितहरुको अधिकार कटौती गरिए र  छुवाछुद विभेद कायमै रहेकोले अब दलितहरु बन्दुक बोक्नसमेत पछाडी नपर्ने चेतावानी दिए ।

दलित अधिकारर्की एवम् पत्रकार अशोक दर्नालले अब सडकमा हात थापेर अधिकारको भिख  माग्न नहुने भन्दै कडा आन्दोलनमा उत्रिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा अधिकारकर्मीहरु कुलविर विश्वकर्मा, देवबहादुर सुनार, भुमिराज सेन्च्युरे, विरबहादुर विश्वकर्मा, सामाजिक अभियान्त हेमराज आचार्य, पत्रकार योगेन्द्र  विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।  मुल आयोजक समितिका संयोजक अशोककुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  योगेन्द्र विश्वकर्माको सञ्चालन रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप