केन्द्रीय संस्करण
याैन र जीवन

यौनसुखमा असमानताबारे कुरा गर्न हामी कति तयार ?

person explore access_timeजेठ २३, २०७६ chat_bubble_outline0

प्रियंका दुबे / बीबीसी

गत हप्ता ट्वीटरमा ट्रेन्ड गरिरहेको #अर्गेजमइनइक्वालिटी ह्यासट्यागले ध्यान खिच्यो ।

कण्डम बनाउने एक कम्पनीले सुरु गरेको ‘अर्गेजम इनइक्वालिटी’ (चरमसुखमा असमानता) अभियानमा आफ्नो हालैको बयानका कारण भारतीय अभिनेत्री स्वरा भास्कर विवादमा आइन् ।

तर यो मामलाले भारतमा महिलाको यौन स्वास्थ्य र लैङ्गिक समानतासँग सम्बन्धित विभिन्न प्रश्न तेर्सिए ।

वास्तवमा ‘अर्गेजम इनइक्वालिटी’ माथि कुरा गर्दै स्वराले एक प्रायोजित सर्वेक्षणको हवाला दिँदै भारतमा करिब ७० प्रतिशत महिला यौनसम्बन्धका बेला चरमोत्कर्षसम्म पुग्दैनन् भन्ने जानकारी दिइन् । स्वराको यो बयानलगत्तै दुईवटा कुरा भए ।

पहिलो, ट्वीटर–फेसबुकसमेत सबै सोसल मिडियामा उनले घटिया टिप्पणीसहित ‘सेक्सिस्ट ट्रोलिङ’ को सामना गर्नुपर्यो भने दोस्रो, यसै सोसल मिडियामार्फत् पहिलो पटक भारतमा ‘अर्गेजम इनइक्वालिटी’ जस्तो गम्भीर र महत्वपूर्ण मुद्दामाथि कुराकानी सुरु भयो ।

एकातर्फ महिलाले यो मुद्दालाई सोसल मिडियामा उठाउनुलाई साहस र हिम्मतदेखि डर, दुःख र उदासीसम्म जोडे । यस्तै, दोस्रोतर्फ उनीहरुले यो मसलामा गरिमामय ढङ्गले कुरा गर्नका लागि उपयुक्त शब्दावली नभएको पनि बताए ।

पछिल्लो एक हप्तादेखि लगातार सोसल मिडियामा तैरिरहेको यो प्रकरणले कम्तीमा एउटा सटिक प्रश्न त उब्जिएको छ । के भारत अर्गेजम इनइक्वालिटीमाथि कुरा गर्नका लागि तयार छ ?

यो जटिल प्रश्नको जवाफको खोजीका लागि मैले लण्डनदेखि लखनऊ र लखिसरायसम्मका आफ्ना महिला मित्रसँग कुराकानी गरेँ ।

मलाई याद छ, सन् २०१६ मा अक्टोबरको त्यो अल्छी लाग्दो अपरान्हमा मेरी एक साथी अफिसको मुनी बनेको रेष्टुरेन्टमा खाजा खाइरहेका बेला पत्रिका पल्टाउँछिन् र अचानक अचम्मित हुन्छिन् ।

त्यसपछि उनले एउटा समाचार देखाउँदै मलाई भनिन्, ‘सर्वोच्च अदालतले आफ्नो एक निर्णयमा श्रीमानलाई लामो समयसम्म सेक्सका लागि अस्विकार गर्नु ‘क्रुरता’ भएको र यसलाई सम्बन्धविच्छेद माग्ने आधारसमेत मानेछ ।’

‘महिलाले पुरुष पार्टनरलाई अस्विकार गर्नु क्रुरता हो र पुरुष पार्टनरले जुन वर्षौंदेखि आफ्नो महिला साथीको चरमोत्कर्षको ख्याल गर्दैनन्, त्यसलाई के भन्ने ? के त्यो क्रुरता होइन ?’ उनले व्यंग्यात्मक लवजमा हाँस्दै मलाई सोधिन् ।

१९ औं शताब्दिका बेला सबैभन्दा पहिले महिलाको यौनिकतालाई ‘निष्क्रियता’ सँग जोड्ने डाक्टर सिग्मन्ड फ्रायडले सायद कहिले पनि सोचेका थिएनन् कि अर्को पूरा शताब्दिसम्म महिलाको यौनिकतालाई बच्चा जन्माउने प्रक्रियासँग मात्र जोडिनेछ ।

तर, सन् २०१९ का भारतमा मसँगै जन्मिएका, हुर्किएका, जागिरे र बेरोजगार सबै महिलाले ‘महिला निष्क्रियता’ सँग जोडिएका सबै विचारलाई एक सामान्तवादी पुरुषको कल्पना बताउँदै थुप्रै मामलामा उनीहरुका पुरुष साथी उनीहरुको ऊर्जासँग मेल हुन नसक्ने बताउँछन् ।

एक विवाहित र निकै पुरानो महिला मित्रले यसलाई पितृसत्तात्मक सोचसँग जोड्दै भन्छिन्, ‘मैले यो महसुस गरेको छु कि यदि महिलाले सेक्समा अलिकति पनि रुची देखाए उनलाई जन्म–जन्मान्तरसम्म प्रेम गरिरहने दाबी गर्ने उनको आफ्नो पुरुष साथी नै सबैभन्दा पहिले उनलाई शंकाको दृष्टिले हेर्छ । एकातर्फ जहाँ पुरुष प्रेमका २६ कला बताउँदै बेडमा ‘माचो’ बन्ने गर्छ भने उता महिलाले एकपटक मात्र चरमोत्कर्षको माग गरिन् भने उनलाई तुरुन्त ‘स्लट’ (एकभन्दा बढी यौन पार्टनर भएकी महिला) घोषित गरिन्छ । ’

उनले भनिन्, ‘भारतीय समाजको हामीबाट यो अपेक्षा छ कि हामी चुपचाप आफ्नो शरीरलाई सेक्सका लागि पुरुषलाई अर्पित गरिरहौं र परिवारले चाहेको जती बच्चा जन्माइरहौं । यदि हामीले आफूलाई बच्चा जन्माउने मेसिन इतर एक मानिस ठानेर थोरै सुखको माग गर्यौं भने सबै पहाड एकैसाथ हामीमाथि बज्रन्छ ।’

लामो समयसम्म एक असन्तुष्ट विवाहमा बसेर निकै मुश्किल सम्बन्धविच्छेदबाट गु्ज्रिएकी मेरी एक परिचित साथीका अनुसार महिलाले पनि लामो समयसम्म आफ्नो यौनिक उपेक्षालाई कानूनी सम्बन्धविच्छेदको आधार मान्न पाउनुपर्छ ।

महिला पुरुषबीचको सम्बन्धलाई कालो र सेताको बाइनरीमा हेर्न सकिँदैन । यो एउटा निकै संवेदनशील, जटिल र ग्रे स्पेस हो । भारतमा महिलाको मानसिक बनावटलाई पारम्परिक रुपमा यसरी ‘प्रोग्राम’ गरिएको हुन्छ कि उनीहरु वर्षौंसम्म शारीरिक रुपमा असन्तुष्ट हुँदा पनि एक दुःखी विवाहमा बाँचिरहन, बच्चा जन्माइरहन विवश हुन्छन् तर सुखका लागि कहिले पनि मुख खोल्न दिँदैन ।

एकातर्फ जहाँ पुरुषले सेक्सलाई अधिकार बताउँदै अस्विकार गर्दा सम्बन्धविच्छेदसम्म माग्न सक्छ भने हाम्रा वरिपरिका धेरैजसो महिलालाई यो पनि थाहा छैन कि चरामोत्कर्ष के हो । र यो यति संवेदनशील मुद्दा हो कि तपाईं समाजमा कसैसँग पनि भन्न सक्नुहुन्नँ कि तपाईं शारीरिक असन्तुष्टिका कारण अलग्गिन चाहनुहुन्छ । वास्तवमा यसलाई कारण नै मानिँदैन ।

यो दुःखको कुरा हो कि हामीले आँखाले देख्ने हिंसालाई मात्र हिंसा मान्छौं । जबकी विवाहमा लामो समयसम्म कुनै पनि पार्टनरलाई चरमोत्कर्षबाट वञ्चित गर्नु पनि एक प्रकारको हिंसा नै हो ।

अब प्रश्न यो उठ्छ कि एकातर्फ महिलाविरुद्ध वर्षैपिच्छे बढिरहेको यौन–घरेलु हिंसाको आँकडा र अर्गेजम इनइक्वालिटीमाथि आवाज उठ्ने बित्तिकै महिलाको तर्कमाथि चारित्रिक सर्टिफिकेट चिप्काएर सुन्नै नसिकने शब्दले गाली गरेर यसलाई खारेज गर्ने भारतीय समाजको यो पाखण्डपूर्ण विरोधाभासको मुख्य जड के हो ?

उत्तर हो – पितृसत्तात्मक र सामन्तवादी सोच ।

पुरुष महिलाका साथै उनीहरुको यौनिकतालाई पनि नियन्त्रित गर्न चाहन्छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.