बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म कहाँ जन्मेँ म कहाँ आएँ

बिहीबार, २३ जेठ २०७६, ११ : ०९
बिहीबार, २३ जेठ २०७६

म रक्तरञ्जित थिएँ
छटपटिएको थिएँ
एकदम कोलाहल
जताततै कोलाहल
आमाको प्रसव वेदनामा
जमँदै विद्रोही स्वभाव मेरो 
बलियाले निर्धोलाई निमोठेको देखेँ
खेतमा जाँदा बलियाको भागमा ठूलै पानी देखेँ
घाँस दाउरा गर्दा पहिले बलियाकै भारी  देखेँ,
गोठाला जाँदा घाँसमा मुखियाका भैँसी देखेँ
सभामा जाँदा छट्टु नै अगाडि देखेँ,
स्कुलमा पनि भेदभाव, 
छोरी एक भारी घाँसल्याएर स्कुल जान्छे
छोरा ट्युसन पढेर स्कुल जान्छ 
परीक्षामा  भेदभाव, चिट चोराउनु हूर्मत,
जुन पढाइमा जिरो छ उही स्कुलमा हिरो हुन्छ
घरमा हेरौँ उहीँ भेदभाव छ 
छोरालाई मीठो मीठो
छोरीलाई आटोपीठो जे भए नि हुन्छ
छोरालाई राम्रो शिक्षा छोरीलाई घाँस कटाउने
जन्ती गयो ठूलाको भागमा मासु
सानालाई त आँसु हुन्छ हजुर
मैले हेर्दै गर्दा काम नगर्नेका महल छन्
रात दिन काम गर्नेहरुका पेट चाउरी परिरहेछन् 
      लगाइमा भिन्नता बसाइमा भिन्नता
      स्कुलमा विभेद, कलेजमा विभेद
 राजनीतिमा यस्तै, सिन्को नभाँच्ने
नमच्चिने पिङको सयझड्का
हुटिट्याउँले आकाश थामेजस्तै 
भाउ न ताउ सरकारको विरोध
जसै बेला हुन्छ कुबेला भन्छ
यसो गरे नि सुख छैन उसो गरे नि छैन
मेरो शक्ति छैन 
त्यसैले मैले जे गफ छाँटे नि हुन्छ
केवल श्यालको हुइयाँ,
म त आफै बिलाउँछु, आफै हराउँछु 
के गर्ने सहकर्मीको आन्दोलन देख्दा म बरबराउँछु
मलाई माइनस हुने डर हुन्छ 
त्यसैले गालीगलोज गर्छु सरकारको आड्मा 
पार्टी धान्न धौधौ कहिले लेफ्ट कहिले राइट
चाहे वाइड बडी होस्, या त 
निर्मलापन्त बलात्कार र हत्या होस्
एनसेलको लाभ कर होस् या या त सुन काण्ड होस्
एक धार्नीको मन्टो हल्लाए ठीक हुन्छ 
या त एक दिन रातो झण्डा हल्लाएर 
तमासा देखाए ठीक हुन्छ 
उग्र बनेर हिँडे के हुन्छ ?
सँगैका सहकर्मीले हामी लाई उछिन्दा
हामीलाई कति पीडा हुन्छ ? 
सगरमाथा भन्दा गह्रुको मन मस्तिष्क हुन्छ 
बरु सत्ता ठीक तर भन्न भएन
मन मने थाक बुझनेलाई इसारा काफी
यस्तै छ जिन्दगी, जहाँ शक्ति छ 
त्यहीँ हुन्छ भक्ति, 
कसरी हुन्छ जनताको मुक्ति ? 
यदि मन अध्यारै अँध्यारो छ
नैराश्यताले थिचिन्छ मन
यसबेला प्वाँख पनि भारी हुन्छ, 
देख्दैन खुन मैले चाहे कर्णाली डुबोस्
या त सप्तकोसी फुटोस्
अरुण तीन गुमोस् या त अपरकर्णाली 
तर पनि तमासा देखाउनैपर्छ ।
जसको शक्ति उसैको भक्ति
जसको जित उसैको गीत
हामी मात्र ठीक अरू सबै बेठीक     


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झपेन्द्रराज वैद्य
झपेन्द्रराज वैद्य
लेखकबाट थप