बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५ नम्बर प्रदेशमा काँग्रेसको विशेष ध्यान : देउवा, पौडेल र कोइराला ‘बलियो गुट’ बनाउन सक्रिय !

बिहीबार, २३ जेठ २०७६, १६ : २३
बिहीबार, २३ जेठ २०७६

 बुटवल– नेपाली काँग्रेसको १४ औं महाअधिवेशन नजिकिदै गर्दा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सस्दय शेखर कोइरालाले आ–आफ्नो गुट बलियो बनाउन सक्रिय ढंङ्गले लागेका छन् । 

यसका लागि तीनै जना नेताहरुले पाँच नम्बर प्रदेशमा विशेष ध्यान दिएका छन् । 

नेपालको मध्य भाग र नेपाली काँग्रेसका पुराना नेताहरु पनि रहेको यो प्रदेशमा उनीहरुको आगमनमा बाक्लिएको छ । 

यहाँ हुने कार्यक्रमा देउवा समूहले नेताहरु आउनासाथ पौडेल समूह या कोइराला समूहले अर्को कार्यक्रम राख्ने अघोषित प्रतिस्पर्धा नै चलेको छ । 

अर्कोतिर पार्टीका कार्यक्रम पनि रुपन्देहीमा तीव्र रुपमा भएका छन् । जसलाई सम्बोधन गर्न केन्द्रीय नेताहरुलाई नै बोलाउने गरिएको छ । 

महाधिवेशन प्रतिनिधि र अन्य केन्द्रीय सदस्यहरु तथा केन्द्रमा पकड राख्ने नेताहरु धेरै भएका कारण पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई काँग्रेसका देउवा, पौडेल र  कोइराला लगायतका नेताहरुले विशेष ध्यान दिएका हुन् ।

रुपन्देही ‘ट्रान्जिट प्वाइन्ट’ समेत भएकाले अन्य जिल्लामा आउनेजाने नेताहरु पनि रुपन्देहीसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् । ‘यहाँको सन्देश अन्यत्रपनि जाने भएकाले नेताहरु यहाँ बोल्न पनि रुचाउने गर्दछन्’ काँग्रेसका एक नेताले रातोपाटीलाई बताए ।  

काँग्रेसका गतिविधि बढ्नु र रुपन्देही सेन्टर समेत भएकाले नेताहरुको दौडधूप वढेको रुपन्देही क्षेत्र नम्बर ५ का सांसद तथा काँग्रेस नेता  भरत साहले रातोपाटीलाई बताए । 

‘जुन गुटले कार्यक्रम गरेपनि, जुन केन्द्रीय नेता आएपनि पार्टीलाई नै फाइदा पुछ,’ उनले भने । ‘गुटका कार्यक्रमले अन्तत पार्टीलाई बलियो बनाउने हो । छाडेर नेकपा हुने होइन, जे भइरहेको छ, पार्टीको  लागि राम्रै भइरहेको छ’ साहको दावी छ ।  

राजधानी बाहिर कार्यक्रममा पुगेर प्रायः कम समय बाहिर बस्ने सभापति देउवा हालै गुल्मी, कपिलवस्तु र रुपन्देही पुगेका छन् । अर्का नेता पौडेल पनि रुपन्देहीमा तीन दिन बिताएर फर्केका छन् । 

अरुको तुलनामा पाँच नम्बर प्रदेशमा धेरै आउने मध्येमा पर्छन् शेखर कोइराला । हालै उनी यो प्रदेशमा तीन दिन बसेर काठमाडौँ फर्किएका छन् । 

यहाँ आएका केन्द्रीय नेताहरुले पछिल्लो समय औपचारिक कार्यक्रमबाहेक कार्यकर्ताहरुका गुनासा समेत सुन्ने गरेका छन् ।

कार्यकर्ताहरुका अनुसार सभापति देउवा, पौडेल र शेखर कोइरालाले आफ्नो गुटसँगै अर्को गुटमा रहेकाहरुलाई पनि विशेष ध्यान दिँदै भेटघाट थालेका छन् । यसले गर्दा नेताहरु पार्टीभित्रका अर्को गुटका कार्यकर्तासँग पनि सम्बन्ध सुधार गर्न प्रयासरत रहेको देखाउँछ । 

देउवा र पौडेल १३ औँं महाधिवेशनमा सभापतिको मैदानमा  उत्रिएका थिए । उनीहरु १४ औँ महाधिवेशनमा पनि पुरानै प्रतिश्पर्धामा उत्रने देखिन्छ । 

उता, १३ औँ महाधिवेशनमा सवैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य बनेका डा. शेखर कोइराला पनि महाधिवेशनमा स्पेस खोजिरहेका छन् । जसका लागि उनको जिल्ला दौडाहा बढेको छ । 
१३ औंँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचन लड्ने अन्तिम तयारी भएका बेला कोइराला परिवारबाट डा. शशांक महामन्त्री बन्ने भएपछि उनी ब्याक भएका थिए । अहिले पार्टीभित्र छुट्टै शक्ति शंकलन गर्न उनी जिल्ला दौडाहामा जुटेका छन् । 

देशभर आफने छुट्टै नेटवर्क बनाएका शेखर अन्य नेताहरु भन्दा रुपन्देही आउँदा कार्यकर्ताहरुलाई विशेष ध्यान दिन्छन् ।

कुनै समय  गिरीजाप्रसाद कोइराला भैरहवा आउँदा हुने कार्यकर्ताहरुको भीडको झल्को दिने गरी अहिले शेखर आउँदा कार्यकर्ताहरुको भीडभाड हुने गर्छ । अन्य नेताहरु आउँदा जाँदा उनको तुलनामा कार्याकर्ताको भीड कम देखिन्छ । 

कसले के गरे ? 
शेरबहादुर देउवा गुल्मीमा पुगेका बेला एक दिन बसेका थिए । जहाँ रामचन्द्र पौडेलसहित अधिकांश काँग्रेसका केन्द्रीय नेताहरु पुगेका थिए । 

देउवाले आफ्ना कार्यकर्ताहरु भेटघाटसँगै गुल्मीको रेसुङ्गा मन्दिर समेत अवलोन गर्न भ्याए । 

गुल्मीका काँग्रेस नेता महेन्द्र भण्डारीले त्यसक्रममा देउवाले  गुल्मीका कार्यकर्ताहरुको गुनासो सुन्ने र अरुकाबारेमा पनि बुझ्ने प्रयास गरेका थिए । 

यस्तै कपिलवस्तु आएका बेला पनि देउवाले प्राचीन कपिलवस्तु मेलाको उद्घाटन नै गरे । अर्को दिन विजयनगर गाउँपालिकाले आयोजना गरेको सभामा सम्बोधन गरेका थिए । त्यो वेला लुम्बिनीमा बसेका देउवाले धेरै कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए । 

जेठ १८ गते रुपन्देही काँग्रेसको जिल्लनमा सम्मेलन आएका देउवा  होटल टाइगर मधौलियमा वसेका थिए ।

देउवा यहाँ आएको बेला दुई बटा औपचारिक कार्यक्रममा सहभागी भएको जिल्ला सचिव रामकृष्ण खाँणले रातोपाटीलाई बताए ।  देउवाले पहिलो दिन जिल्ला सम्मेलनको सम्बोधन र अर्को दिन बिहान एयरपोर्टमा पत्रकार सम्मेलन गरेका थिए । 

नेपाली काँग्रेस रुपन्देहीका क्षेत्रीय सम्मेलन उद्घाटन गर्न आएका अर्का वरिष्ठ नेता पौडेलले कार्यकर्ताहरुसँग नजिक हुन बिरामी भेट्नेदेखि मन्दिर पुग्नेसम्म काम गरे ।

पौडेल केन्द्रीय सदस्यहरुको जम्बो टोली नै बोकेर यहाँ आएका थिए ।

त्यस क्रममा पौडेलले कार्यकर्ताहरुको घरमै बास बसेर पार्टी गतिविधि र कार्यकर्ताहरुका गुनासा सुनेका थिए । 

नेता पौडेल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवालीकी आमालाई भेट्न लुम्बिनी प्रादेशिक अस्पताल पुगेका हुन् । त्यस्तै उनी लुम्बिनी पुगेर गौतमबुद्धको  जन्मस्थलमा ध्यानमा बस्न समेत भ्याए ।
केन्द्रीय सदस्य शेखर कोइराला पनि कार्यकर्ता भेटघाटमा व्यस्त छन् । रुपन्देही बस्दा प्रदेशसहित अन्य  जिल्लाका सिनियर  नेता कार्याकर्ताहरुसँग भेटघाट गर्न सहज हुने भएर शेखर धेरै रुपन्देही आउनेजाने गरेको काँग्रेस रुपन्देहीका  नेता बिष्णु पोखरल बताउँछन् ।

डा. शेखर कोइरालका स्वाकीय सचिव दिनेश थपलियाका अनुसार जेठ १७ गते नेपाल शिक्षक संघ प्रदेश ५ को प्रथम सम्मेलनमा प्रमुख अथिति बनेर बुटवल आएका शेखरले बुटवल भैरहवा र नवलपरासीका औपचारिक कार्यक्रम र कार्यकर्ता भेटघाटमा तीन दिन बिताएका हुन् । 

१७ गते शिक्षक संघको कार्यक्रममा आएका कोइरालाले बुटवल दिनभर प्रदेशमा शिक्षक संघका नेताहरुसँग बिताए । अनि साँझ भैरहवामा रहेको होटल रेडसनमा बसे । अर्को दिन १८ गते नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनमा उनले सम्बोधन गरे ।

जसका लागि सभापति शेरवहादुर देउवा, महामन्त्री डा. शंशाक, काँग्रेसका संचेतक बालकृष्ण खाँण, प्रवक्ता विश्व प्रकाश शर्मा, पूर्वमन्त्री दीपक गिरी, भरत साह लगायतका नेताहरु पनि सहभागी भएका थिए ।
शेखर सम्मेलनको शुरुमै संक्षिप्त भाषण गरेर नवलपरासीतर्फ लागेका थिए । जहाँ नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको अगुवा कार्यकता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम थियो । कोइरालालाई पूर्वमन्त्री सञ्जय गौतम र सांसद अमरेश सिंहलगायतले साथ दिएका थिए ।

अर्को दिन अर्थात् १९ गते पनि रुपन्देही आएर जिल्लाका सिनियर नेता तथा कार्यकर्तासँग कोइरालाले भेटघाट गरेका छन् । 

कोइरालाई भेट्न सांसद प्रमोद यादवको घरमा पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल,  पूर्व सांसद इस्तिका खान, प्रदेशसभा निर्वाचन लडेका हरि न्यौपाने, विष्णु पोखरल, बुटवल नगरसभापति खेलराज पाण्डेयलगायतको काँग्रेसको ठूलो तप्का पुगेको थियो । 

खानापान सँगै, प्लेन फरक 
कोइराला परिवारका शेखर र शशांक जेठ १८ गते रुपन्देहीमा भएको काँग्रेसको जिल्ला सम्मेलनमा सँगै मञ्चमा थिए । 

मञ्चमा सभापति शेर बहादुर देउवादेखि काँग्रेसका आधा दर्जन केन्द्रीय सदस्य पनि थिए । शेखर जिल्ला सम्मेलनको ठिक अघिल्लो दिन बुटवलमा भएको नेपाल शिक्षक संघ प्रदेश ५ ले आयोजना गरेको सम्मेलनका लागि  प्रमुख अतिथि बनेका थिए । १७ गते नै  कोइराला गौतमबुद्ध एयरपोर्ट आए । अनि जिल्ला सभापति अब्दुल रज्जाकले निम्तो दिए ।  १८ गते सभापति देउवा महामन्त्री शशांक, बालकृष्ण खाँणलगायतका नेताहरु उपस्थित मञ्च पुग्ने अवसर बन्यो । त्यो भने शेखरको पूर्वनिधारित कार्यक्रम थिएन ।

१७ गते आएका शेखर र १८ गते आएका शशांक दुईभाई सँगै खाना खाएका थिए । सभापति शेरबहादुर देउवासँग आएका महामन्त्री डा. शशांक देउवासँग खाना नखाई दाजु शेखर भएको स्थान सांसद प्रमोद यादवको घरमा पुगेका थिए ।  शुरुमा शेखर भैरहवाको होटल रेडसनमा बसेका थिए । जब शशांक रुपन्देही आए अनि दूवै भैरहवामा रहेको संसाद यादवको घरमा भेटघाट भयो । जहाँ कोइराला  दाजुभाइको खानपान पनि भयो ।

त्यहीँ बेला शेर बहादुर देउवा भने  होटल  टाइगरमा पुगेका थिए । शंशाक भने देउवासँग नगई दाई शेखर भएको ठाउँ पुगेका थिए । कोइराला दाजुभाइ खानापछि कार्यकर्तासँगै भैरहवा आँखा अस्पताल अगाडि प्रमोद यादवको घरबाट होटल पवन अगाडि पुगेका थिए ।

त्यसको अर्को दिन बिहान गौतमबुद्ध विमानस्थलसम्म सँगै शशांक र शेखर पुगे । शेखरको ९ःं४५ को टिकट थियो भने डा. शशांकको ९ः३० को टिकट थियो । १५ मिनेट अन्तरमा छुट्टछुट्टै प्लेनमा उनीहरु काठमाडौँ फर्किए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप