केन्द्रीय संस्करण

व्यङ्ग्य : आरिसेको आन्दोलन

person explore access_timeजेठ २५, २०७६ chat_bubble_outline0

माधव पोखरेल ‘गोज्याङ्ग्रे’
 

हामी नेपाली अरू जस्तो आरिसे हैनौँ । दक्षिण कोरिया अमेरिका, चीन भारत, पाकिस्तान भारत, इरान, इराक जस्तो आरिसे छैनौँ । मात्र यति हो आफ्नै छिमेकी वा साँध सधियारले केही गर्न खोज्यो वा गरिहाल्यो भने आँखा तरेर हेर्छौं र आरिसको आन्दोलनलाई आँखाको सङ्केतले वा भनौँ शान मान वा भानले तानातान गरेर आफै बडेमानको बन्छौँ । आन्दोलन हरेक प्रकारको हुन्छ, सताका र भताका लागि, खुशी व्यक्त गर्न र आरिस पोख्नका लागि । हामी साँच्चै आन्दोलन गर्छौं, आफ्नो आङको भैँसी नदेखी अर्काको आङको जुम्रा देखेर । हाम्रो मनभित्रको आँखा साँच्चै तेजिलो छ, त्यसैले हामी अर्काको शरीरका सूक्ष्म कुरा पनि देख्छौँ र आन्दोलनको घोषणा गर्दछौँ । जुन आन्दोलनको कहिल्यै निष्कर्ष निस्कदैन र सयमा दुई सय प्रतिशतको आरिस त्यहाँ सलबलाइरहेको हुन्छ । समाज न हो हरेक प्रकारका विचारसँग गाँसिएको हुन्छ । 

     बाझनीति आरिसको आन्दोलन हो । अर्काको आरिस गर्नेले आफै पछि पर्नुपर्ने हुन्छ । राजनीतिमा पनि आरिस हुन्छ । तर राजनीतिको आरिस क्षणिक हुन्छ । एकछिन गाँड कोतराकोतर गर्यो फेरि केही क्षण पछि हात मिलाएर गाँस पनि मिलाउँछन् । देखभेटमा हाइहलो टाढाटाढा हुँदा वाकयुद्ध पनि आरिसेहरूको आन्दोलन नै हो । उदाहरण नै दिनुपर्दा अमेरिका र दक्षिण कोरियालाई लिन सकिन्छ । यी दुई मुलुकका राष्ट्र प्रमुखबीच भेटमा कुराभन्दा पनि टाढा टाढा भएका बेला आरिसका कुरा बढी हुन्छन् । 

रिस खा आफू आरिस वा बुद्धि खा अर्को भनेझैँ अर्काको आरिस गर्नेहरु नहुने कुरामा आफैलाई आफैले सिफारिस गर्छन् । राजनीतिदेखि बाँचनीतिसम्मको दौरानमा हैरान भएकाहरुको आरिसे प्रवृत्तिले समाज मात्र होइन, मुलुकलाई नै गाँजेको छ । एउटै घरका परिवारभित्र पनि दाजु भाइ, देवरानी जेठानीबीच होस् वा नन्दभाउजू वा सौता सौता बीच पनि बडो गजब तरिकाले आरिसको झल्को पाइन्छ । छरछिमेक बीचको त कुरै नगरौँ किनभने छिमेकीका घरमा मासु पकाउँदा आरिसले घुटुघुटु थुक निलेर बस्ने हामी नै हौ । अर्काको घरको मीठो बास्ना सुँघ्दै थुक निल्दै गर्ने पुरानो संस्कारमा हुर्केका हामी एकले अर्कालाई आरिस गरेरै पनि उन्नाइसबाट बीसमा चढनुको साटो अठार सत्रतिर झरिरहेका छौँ । 

आरिसको पोको बोकेर नहिँड्ने को होला र ? फेरि कोही कोही त आरिसको पोकोसँगै मनभित्र पापको फोको बोकेर बोको बनेर पनि हिँड्ने गर्छन् ।  
        समाजले यस्ता मान्छे पनि सदियौँदेखि पालेका छन् । साँच्चै भन्ने हो भने समाज नै यस्तै यस्तै खाले आरिसेको समूहले चलाएका छन् । भनौँ कोखामा दाँत र पिठ्युँमा हात हुनेहरुको बाहुल्यताले गर्दा आरिसेहरुको आन्दोलनले समाजमा स्याउँस्याउँती समाज खाने किराहरु जन्माएको छ । जुन किराहरु तपार्इं हाम्रो खेतबारीदेखि भान्सा कोठा, चोटासम्म पुगेर यात्रा गर्छन् । अझ राजनीतिभित्रको आरिसको कुरा गर्ने हो भने त कुरा गरिसाध्य नै हुँदैन । कुरै नबुझे पनि बरु हामी राजनीतिभित्रको आरिस ओकल्न बाध्य हुन्छौँ । जुन आरिसले हामी आफैलाई थाहै नपाई खाइरहेको हुन्छ । 

रिस खा आफू बुद्धि खा अर्को भनेझैँ हाम्रो आरिसले हामीलाई नै होचो बनाएको हुन्छ र घोचो खान्छाँै । आरिसेहरुको आन्दोलनले जहाँसुकै र जुनसुकै ठाउँमा पनि प्रभुत्व जमाउन खोज्छ तर त्यसको विधिविधानमा केही कमी कमजोरी हुन्छन् र त्यसले सफलता पाउन सक्दैन । अर्काको रिसले आफ्नो क्षति पुग्ने कुरामा होस् नराख्ने आन्दोलनकारीहरुले आन्दोलनमा राख्ने मागहरु भाग बण्डामा आधारित हुन्छ । बसिखानेहरु गरिखानेको आरिस गर्छन् । अराजनीति गर्नेहरु राजनीति गर्नेहरुको आरिस गर्छन् । कामीहरु बेकामीको आरिस गर्छन । बेकामीहरु कामीहरुको आरिस गर्छन् । मूर्खहरु विद्वानहरुको आरिस गर्छन् । कर्मचारीहरु सदाचारीहरुको आरिस गर्छन् । व्यभिचारीहरु ब्रह्मचारीहरुको आरिस गर्छन् । राष्ट्रवादीहरु अराष्ट्रियतत्वको आरिस गर्छन् । जनताहरु र किसानहरु नेताको आरिस गर्छन् । सता पक्षका नेताहरु आफ्नो प्रतिद्वन्द्वीहरुको आरिस गर्छन् । ससाना विषयका कुरालाई लिएर तिललाई पहाड बनाउँदै हिमालदेखि तराईसम्म पुर्याउँछन् र आरिसेको आन्दोलन सुरु गर्छन् । 

गर्दा पनि नहुने नगर्दा पनि नहुने यो आरिसेहरुको आन्दोलनले झण्डोत्तोलन भने कहिल्यै गरेको देखिँदैन । सधैँ आरिसको पोको डोकोमा बोकेर अर्काको स्वतन्त्रता खोसेर गरिने आन्दोलनको निष्कर्ष उत्कर्षमा कहिल्यै पुग्दैन । बाहिर समाजको कुरा गर्ने अनि भित्रभित्र व्यक्तिगत स्वार्थमा रमाउने नीतिगत विचारबाट आन्दोलन हाक्नेहरुको हैसियत पनि बुझिएकै हो । आन्दोलनको अर्थ नबुझ्ने र यसको प्रयोगका बारेमा अनभिज्ञहरुले नै आन्दोलनको परिभाषालाई बङ्ग्याएर आन्दोलनलाई नङ्ग्याएका छन् । जसका कारण आन्दोलन सधैँ बिरामी भएर ओछ्यानमा सुतिरहन्छ । न कसैले यसको उपचार गर्छन् । गर्छन् त केवल आवश्यकता परेका बेलामा मनपरि तवरले उपयोग मात्र । आन्दोलनको उपयोग गरेर जीवन रमाइलो बनाउनेहरुको कुनै कमी छैन समाजमा । 

अर्काले मीठो मसिनो खाएको देख्दा पनि आरिस गरेर आन्दोलन गर्ने, राम्रो लुगा लगाउन नहुने, गाडी चढेर हिँड्न नहुने, समाजसेवामा लाग्न नहुने, सतामा जान नहुने, भत्ता खान नहुने, राज्यले दिएको सेवा सुविधा उपभोग गर्न नहुने । कस्तो अचम्म आरिसेहरुले आन्दोलन चर्काइहाल्नुपर्ने कस्तो नियत हो  ? प्रतिपक्षी हुनु पर्यो भन्दैमा आफ्नो आङको भैँसी नदेखेर अर्काको शरीरको जुम्रा देखेँ भनेर आरिसको आन्दोलन गर्ने मनोवैज्ञानिक संस्कारको जरोले समाजलाई गाँजेको छ । पहिले आफ्नो आङमा टाँसिएको भैँसीलाई हटाएर अर्काको जिउको जुम्रा मार्ने संस्कार किन नबसालेको आरिसे आन्दोलनकारीहरुले ? बिनास काले विपरीत बुद्धि भनेको यही नै हो जस्तो लाग्छ मलाई त ।

अब अरू केही होइन यी आन्दोलनकारीहरुका विरुद्धमा अर्को आन्दोलन नछेडी नहोला जस्तो छ । श्रीमती पोइला हिडे पनि आन्दोलन , छाडा कुखुरा, कमिला वा किरा फट्याङ्ग्रा मरे पनि आन्दोलन । नेपालमा अति सस्तो यो आन्दोलन त मूल्यहीन पो भएको छ । हुने र गर्नुपर्ने कुरामा आन्दोलन गर्न जान्या होइन, नहुने र नचाँहिने कुरामा बिनासितिको आन्दोलन गरेर राज्यको मथिङ्गल तताएर कचिङ्गल निकाल्न के रहर लागेको हो ? नेपालको इतिहास हेर्दा पनि एउटा कुरा के सत्य हो भने नेपालको उत्पत्ति भएदेखि आजसम्म बाइसे चौबिसे राजाहरुले एक राज्यविरुद्ध अर्कोले अर्काको राज्य हत्याउनका लागि पनि आन्दोलन मात्र होइन लडाइँ समेत गरेका थिए । यसरी परापूर्व कालदेखि चलिआएको परम्परा बचाउनका लागि र उक्त संस्कार जीवित राख्न पनि यो आन्दोलनलाई सबै पक्षले निरन्तरता दिएको हो कि जस्तो पनि लाग्छ ।

आरिसेहरु समाजबाट टाढिन यसो गरेका हुन् वा समाजमा स्थापित हुनका लागि त्यो उनीहरुकै गर्भभित्र छ । अब अर्काको गर्भभित्रको कुरा कसरी जान्नु र आरिसेहरुको आन्दोलनका बारेमा इतिहास खोतल्नु । इतिहास खोतल्दा खोतल्दै युग बित्छ जसरी महाभारतको युद्धको समय बितेको थियो । त्यसरी नै आरिसेहरुको आन्दोलनको पनि समय घर्किंदै जान्छ तर निकास निस्कँदैन । 

वास्तवमा भन्ने हो भने नेपाल आरिसेहरुको जमघट भएको ऐतिहासिक थलो हो । पृथ्वी नारायण शाहका पालादेखि एकापसमा आरिस गर्दै आएका हामी नेपालीहरुले हाम्रो आफ्नै आरिस गरेर गाँड कोराकोर गरिरहेका छाँै । सता नपाउँदा पनि आरिस, भता नपाउँदा पनि आरिस, गोता पाउँदा पनि आरिस नपाउँदा पनि आरिस । भनौँ हामीसँग सम्पूर्ण कुरामा आरिसको पोको भोको बनेर यत्रतत्र दौडिरहेको हुन्छ । नेतादेखि कार्यकर्तासम्म र कार्यकर्तादेखि हामी मतदातासम्म आरिसको पोको डोकाका डोका ढोका ढोकामा चाहारिरहेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...