केन्द्रीय संस्करण

नेताहरु जनताबाट कटेपछि देश र जनताका रहँदैनन्

person explore access_timeजेठ २५, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

दक्षिणी छिमेकीबाट दिनोदिन नेपालको सिमाना मिचिँदा नेपाली राजनेताहरु किन बोल्दैनन् ? सरकार किन बोल्दैन ? सीमाक्षेत्रमा र छिमेकी मुलुकभित्रै पनि समय समयमा नेपालीहरु लुटिँदा कुटिँदा नेपालका राजनेताहरु किन बोल्दैनन् ? सरकार किन बोल्दैन ? छिमेकी मुलुकले विना सूचना र अन्यायपूर्वक बाँध खोलेर नेपाली बस्ती डुवानमा पारेर जनताको बिचल्ली हुँदा नेपालका राजनेताहरु किन बोल्दैन् ? नेपाल सरकार किन बोल्दैन ? एसएसबीले सीमाका तारबार उखेल्दा र सीमाक्षेत्रका नेपाली जनतामाथि हातपात गर्दा, निःशस्त्रहरुमाथि शस्त्र प्रहार गर्दा पनि नेपालका राजनेताहरु किन बोल्दैनन् ? नेपाल सरकार किन बोल्दैन ?

छिमेकी मुलुकले प्रत्यक्ष अप्रत्यक्ष विभिन्न दाउपेच गरेर हाम्रा बालीनाली, उद्योगधन्धा,  बन्दव्यापार सखाप पार्दा र नेपालको अर्थराजनीतिक हातखुट्टा भाँच्न खोज्दा पनि नेपालका राजनेताहरु किन बोल्दैनन् ? किन सावधान हुँदैनन् ? किन नेपाली जनतासँग समस्या शेयर गर्दैनन् ? नेपाल र नेपाली माथि छिमेकी मुलुक भारतको अन्याय अत्याचार व्यापक छ । नसा नसामा पुगेको छ । विगतको नाकाबन्दी त्यसको एउटा प्रकट रुप थियो । नेपालका राजनेताहरुले नाकाबन्दी लाई नाकाबन्दी भन्न सकेनन् । नेपालसरकारले सकेन । यस्तो किन भयो ? यतिसम्मको लाचारभावको अन्तर्निहित रहस्य के थियो ? यथार्थपरक जवाफ दिन राजनेताहरु र सरकार किन तयार हुँदैनन् ? लाग्छ, ‘नेपाली राजनेताहरु आफ्नै निहित स्वार्थमा नाकसम्म डुबेका छन् । नाकैसम्म डुबेपछि बोल्न सकिँदैन । नेताहरुलाई नेपाल र नेपाली जनताको स्वाभिमान संरक्षणभन्दा आफ्नै स्वार्थरक्षण प्रिय छ !’ यो यथार्थ हामी नेपाली जनताले क्रमशः बुझ्दैआएका छौं ।

हाम्रा राजनेताहरु र सरकार पश्चिमाहरुको हेपाइका विरुद्ध पनि बोल्दैनन् । तिनीहरुले हाक्काहाक्की कूटनीतिक मर्यादाविपरीत काम कार्बाही गर्दा पनि बोल्दैनन् । नेताहरुले पश्चिमका कतिपय मुलुकलाई जिम्दैमा जान पाइने स्वर्ग ठानेका छन् । जीवनविलासको विकल्प ठानेका छन् । आपूm र आफ्ना सन्ततिको विलासवैभवको स्वर्ग भड्केला कि भन्ने डरले पनि बोल्दैनन् । नेताहरुलाई नेपालको भाग्यभविष्यप्रति विश्वास छैन । विश्वास छ त विदेशी धर्मप्रचारकहरुको आशीर्वाद, पुरष्कार, उपाधि र पहेँलो पदार्थपानप्रति छ । यसैले पनि बोल्दैनन् । कति नेताले नेपाललाई मौकामा चौका हानेर लाहुर पल्टाउने ठाउँ मात्र ठानेका छन् । यसैभएर पनि नेपालका राजनेताहरु नेपाल र नेपालीका हितभलाइका पक्षमा निष्ठावान् भएर बोल्दैनन् । बोल्नैसक्दैनन् ।

भ्रष्टाचार र तस्करीका बाघचालमा थुनिनुका कारण कति नेताहरुको बोली लटपटिएको पनि छ । यसैले पनि नेताहरु विकृति विसंगतिका विरुद्ध उभिएर बोल्न सक्दैनन् । यदाकदा बोल्न खोज्छन् र पनि बोलीमा ओज हुँदैन । बोलीमा ओज हुन व्यवहार पनि तदनुरुप सफा हुनु पर्छ । त्यो त छैन । व्यवहार सफा बनाउन नसक्नुका कारण पनि बिचरा राजनेताहरु बोल्दैनन् । श्रोताहरु हाँस्छन् भनेर पनि नेताहरु बोल्दैनन् । बोल्छन् त परिधिका कुरा मात्र बोल्छन् । नाइटोका कुरा बोल्दैनन् । 
 नेपालका सत्तासीनहरु नेपाली जनताबाट टाडिने गरेको, व्यक्तिगत तथा दलगत निहित स्वार्थलिप्साका कारण भ्रष्टाचार र तस्करीको जालोबाट अलग्ग रहन नसकेको हुनुका कारण नेपालको अर्थराजनीतिमा यस्तो अपसंस्कृतिको उत्पत्ति र विकास भएको त होइन ? प्रायः राजनेताहरुको वैकल्पिक निवास र आर्थिक कारोवार विकसित मुलुकतिरै व्यवस्थित भइसकेको र राजनेताहरुमा देशप्रेमको भावना निभिनै सकेको हुनुका कारण यस्तो भएको त होइन ? जिज्ञासा जाग्छ ।

नेपालको आफ्नै  विशिष्ट किसिमको भूराजनीतिक सम्वेदनशीलता छ । यो नेपाली जनताले राम्ररी बुझेकाछन् । नेपाली जनता तटस्थता रुचाउँछन् । पन्चशील रुचाउँछन् । नेपाली राजनेताहरु विदेशभ्रमणमा रहँदा नेपाल र नेपालीको यो सम्वेदनशील पक्षलाई किन भसुक्कै बिर्सन्छन् ? जुन देशमा पुग्छन् त्यसै देशका लाचार समर्थक बनेर किन ल्याप्चे ठोक्छन् ? जता हे¥यो त्यतै गम्भीर प्रश्नहरु उभिएका देखिन्छन् ।
    हाम्रा राजनेताहरु यसै त विदेशभ्रमण भनेपछि भुतुक्कै हुन्छन् । यूरोप अमेरिकाको भ्रमणमोह त सर्वोपरि नै छ । कतिका सन्तान त्यहाँ पीआर छन् त कतिले नागरिकता नै लिइसकेका छन् । त्यता पुग्दा कति नेताहरु स्वर्गसमान चकाचौँध नयाँ घरमा पुगेको अनुभूति पनि गर्दा हुन् ।  नेताहरुको छिमेकी मुलुक भारत हेर्ने नीति पनि विशिष्ट नै छ । यूरोप अमेरिका छिर्न नभ्याएका सन्तानलाई प्रविधिक शिक्षा पढाउन र परिवार बिरामी हुँदा सरल सुगम उपचार लिन नेताहरुलाई भारतको अनुग्रह चाहिन्छ । 

कति रोटीबेटीको तर्क अघि सार्छन् त कति संस्कृतिको साइनो जोर्छन् । जोर्ने नै हो भने  संस्कृतिको साइनो उत्तरतिर पनि त्यत्तिकै जोडिन्छ । त्यो चर्चा कसैले गरेको सुनिँदैन । 
नेपालको हालसम्मको राजनीतिमा छिमेकी मुलुक भारत र टाढाको मुलुक अमेरिकालाई हेर्ने बेहोर्ने नेतासंस्कति छुट्टै छ । ती देशका भ्रमणमा रहँदा र ती देशका ग्राहमुखी नेताका अगाडि पर्दा हाम्रा राजनेताहरु समग्र होसमा त रहन्छन् ? जिज्ञासा जाग्छ । विदेशीहरुबाट पाइने खानपान र औपचारिक सम्मानले  हाम्रा राजनेताहरुलाई अवचेतनतिर पु¥याइदिएको अवस्था त बन्दैन ? । त्यति बेला ती देशका खग्गू राजनीतिक खेलाडीहरुले सन्धि, सम्झौता वा विज्ञप्तिका नाममा जे जे लेखेर ल्याए पनि आँखाअगाडि टेबिलमा आइपुगेपछि हाम्रा राजनेताहरु अनायास ल्याप्चे ठोक्छन् । हस्ताक्षर धस्काइदिन्छन् । अन्तर्निहित मर्म यही त होइन ? जिज्ञासा जाग्छ ।

हाम्रा परराष्टमन्त्री ज्ञवालीजी पनि अमेरिका पुग्नुभएको थियो । वहाँ त जनवादी साहित्यकार पनि हुनुहुन्छ । देश र जनताका सुखदुःखका सवालमा लेखिआएका साहित्यकार हुनुहुन्छ । विगतमा विस्तारवाद र साम्राज्यवाद विरुद्धका जुलुसमा नेपाली सडकमा नेपाली जनतासँगै हिँडेका साहित्यकार हुनुहुन्छ । वहाँले पनि कतै कुनै त्यस्तै कागतमा सही धस्काइदिनुभएछ कि ? कसो हो ? साहित्यकारहरु भावुक हुन्छन् भन्ने चलन पनि छ । वहाँ पनि भावुक भइदिनुभएछ कि ? अन्यथा महामहिम अमेरिकी राजदूतले कूटनीतिक मर्यादा बिर्सेर लाखौं लाख नेपालीसँग सोभैm सम्पर्क गर्ने सन्जाल सन्चालन गर्न कसरी सक्नुहुँदो हो र अमेरिकाले नेपाललाई इण्डोप्यासिफिकको नयाँ साझेदार भन्ने जिरह किन गरिरहँदो  हो ? जिज्ञासा जाग्छ ।

‘विगत पन्चायत कालमा सत्तामा पन्च थिए । जनतामा पन्चइतर थिए । सत्तासीनहरुले गल्तीगर्दा जनता सडकमा उत्रन्थे । आज विभिन्न नामका गणहरु सत्तामा छन् । विपक्षमा पनि तिनै त्यस्तै गणहरु छन् । जनता गणहरुमा विभाजित छन् । अहिले सत्तासीनहरुले जे गरे पनि हाइसन्चो छ । सडकमा आउने कोही छैन ।’ सत्ता र प्रतिपक्षमा रहेर खाइपाइआएका गणनायकहरुमा यो भ्रम छ । यो निक्खरा भ्रम हो । 
आज पनि आधारभूत नेपाली जनता सडकमै छन् । युगान्तकारी आन्दोलनमै छन् । नेपालभित्र मात्र होइन सरकारले नेपालमै जीविका नदिएर विदेश धपाइएका लाखौंलाख युवाहरुको चिन्ताप्रवाह पनि नेपालको सडकमै छ । युगान्तकारी आन्दोलनमै छ ।

नेपाली जनतालाई आफ्नो मातृभूमि नेपाल प्यारो छ । यसको भाग्यभविष्य प्यारो छ । हिजोका सत्ताससीनहरुबाट दिक्क वाक्क भएर तिनका विरुद्ध अनेकौं संघर्ष पार गरिआएका नेपाली जनता आजका सत्तासीनहरुबाट पनि नेपाल र नेपालीको अपेक्षित प्रगति हुन्छ भन्नेमा ढुक्क छैनन् । ढुक्क हुन सकेकै छैनन् । यथास्थितिकामी र पश्चगामी सोच समझका सत्तासीन हरेक नेता, मन्त्री  र कर्मचारीका एक–एक क्रियाकलापका हिसावका ठेली कण्ठाग्र पारेर जनता अग्रगमनमा तम्तयार छन् । विगतका आन्दोलनहरुमा बढारिनुपर्ने कसिँगर सवै बढारिएन छ । कसिँगर बढार्न पुगेन छ । जसको प्रतिफल हामी आज यो विकराल विकृति विसंगतिका रुपमा देख्दैबेहोर्दै छौं भन्ने तथ्य जनताले राम्ररी आत्मसात् गरेका छन् । जनता आज पनि आन्दोलनमै छन् । कुनै पनि क्षण सडक जुरुक्क हुन सक्छ ।
नेपाली राजनेताहरु तथा सत्तासीनहरु नेपाली जनताबाट कटेका छन् । यसैले आज नेपाली जनताको नाडी कसरी चलेको छ तिनीहरुलाई थाहा छैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...