शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई शैक्षिक ऋणः पढाइ सक्नुस् अनि तिर्नुस्

मङ्गलबार, २८ जेठ २०७६, १५ : ३०
मङ्गलबार, २८ जेठ २०७६

भक्तपुर– रकि गारुको सानैदेखिको सोच रेडियोग्राफी अध्ययन गर्ने थियो । त्यसैले उनी भक्तपुरको सल्लाघारीमा रहेको इवामुरा कलेज अफ हेल्थ साइन्समा भर्ना भए ।  भक्तपुर नगरपालिका वडा नम्बर १ घर भएका उनलाई पढाई पुरा गर्न आर्थिक समस्या हुने भयो । तर केही दिन अगाडिमात्र नगरपालिकाले शैक्षिक कर्जा दिन्छ भन्ने थाहा पाएपछि उनी बुझ्न गए । 

छोराको पढाई पुरा गर्न नगरपालिकाले ऋण दिने भएपछि पुण्यराम र रामप्यारीमा खुसी देखिएको छ ।  त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेका उनी भक्तपुर नगरपालिकाले प्रदान गर्ने शैक्षिक कर्जा पाउनहरुको पहिलो नम्बरमा छन् ।

सोमबार बिहान रातोपाटी प्रतिनिधि नगरपालिकाको कार्यालयमा पुग्दा रकि बुवा पुण्यराम र आमा रामप्यारीसंग ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्दै थिए ।  संघीय सरकारले यो वर्षको बजेटमा खासैं चासो नदेखाएको शैक्षिक ऋण वितरण गर्ने कार्य भक्तपुर नगरपालिकाले भने सुरु गरेको छ । 

भक्तपुर नगरपालिकाले सोमबारदेखि शैक्षिक ऋण दिने प्रक्रियाको थालनी गरेको हो । नगरप्रमुख सुनिल प्रजापतिका अनुसार चौथो नगरसभाबाट पारित भएर आएकाले शैक्षिक कर्जा दिने तयारी थालिएको छ । पहिलो चरणमा ३५ जना विद्यार्थी ऋण पाउने सूचिमा समावेश भएको भन्दै नगरपालिकाले नाम सार्वजनिक गरेको समेत उनले बताए । 

यसरी दिइन्छ ऋण
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर दिइन्छ । ५ लाखसम्म दिइने ऋण लिन एसइईभन्दा माथिल्लो जुनसुकै तहको लागि आवदेन दिन सकिने व्यवस्था गरिएको, नगरप्रमुख प्रजापतिले रातोपाटीलाई भने । जसका लागि ब्याजदर ६ प्रतिशत राखिएको छ । 

प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको बताए । नगरपालिकाले एकाघरका दुईजना साक्षी राखेर विद्यार्थीसँग ऋण सम्झौता गर्छ । तर, नगरपालिकाले दिने ऋणबापतको रकम एकमुष्ट भुक्तानी हुँदैन । 

ऋण लिने विद्यार्थीले पढाइ पूरा गरेपछि क्रमशः चार वर्षभत्र ब्याजसहित भुक्तानी गर्नुपर्छ । पढाइ सकिएको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष बर्षेनी २५–२५ प्रतिशतका दरले भुक्तानी गर्नुपर्ने प्रावधान नगरराजपत्रमै प्रकाशित गरिएको छ । 

हरेक आर्थिक वर्षमा १ सय जनालाई सहुलियत शैक्षिक कर्जा दिने तयारी गरिएको नगरपालिकाले जानकारी दिएको छ । जसमा प्रत्येक वडाबाट १० जनालाई मात्र समावेश गरिने व्यवस्था छ ।

 कसरी हुन्छ भुक्तानी ? 
प्रक्रियामा परेका विद्यार्थी आफुले पढ्न चाहेको कलेज र संकाय खुलाएपछि उक्त कलेजबाट अध्ययन अवधिभर लाग्ने खर्च विवरण सहितको पत्र नगरपालिकाको आर्थिक शाखामा पेश गर्नुपर्दछ । त्यसपछि कलेजको नियमअनुसार नगरपालिकाले किस्ताबन्दी वा एकमुष्ट रकम कलेजको खातामा पठाइदिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

पैसाको दुरुपयोग हुने र ब्याज खाने वातावरण नहोस् भनेर नै सिधै कलेजमा भुक्तानी दिने व्यस्था गरिएको नगरप्रमुख प्रजापतिको भनाई छ । हालसम्म १५ प्रकारका विषय अध्ययनका लागि ऋण माग गर्दै विद्यार्थीहरुले नगरपालिकामा आवेदन दिएका छन् । 

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप