बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकल विन्दु सेवा केन्द्रबाट ७ अर्बको उद्योग दर्ता, ऊर्जामा ७ अर्ब ४३ करोड लगानी

बुधबार, २९ जेठ २०७६, १० : ३५
बुधबार, २९ जेठ २०७६

एकल विन्दु सेवा सञ्चालनमा आएयता उद्योग दर्ता गर्ने क्रम बढेको छ । एकल विन्दु सेवा केन्द्रबाट ७ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएको छ । केन्द्रका दर्ता तथा अनुमति शाखाका निर्देशक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत वर्षको जेठको तुलनामा यस वर्षको जेठमा बढी रकमको उद्योगहरू दर्ता भएको हो ।

 गत जेठ १ गते उद्योगमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेको एकल विन्दु सेवाबाट हालसम्म ३५ उद्योग दर्ता भएको केन्द्रले जनाएको छ । यद्यपि, सङ्ख्याको आधारमा भन्ने हो भने गत वर्षको यसै अवधिको तुलनमा यस वर्ष कम हो । गत वर्ष ३६ वटा उद्योग दर्ता भएका थिए । तर सो बेला २९ करोड ९३ लाख रुपैयाँ बराबरको मात्र उद्योग दर्ता भएका थिए । 

निर्देशक विष्णुप्रसाद ज्ञवालीका अनुसार जेठ र असार दुई महिना अािर्थक वर्षको अन्त्य हुने समय भएकाले सो समयमा यसै पनि कम उद्योग दर्ता हुन्छन् । आर्थिक वर्षको अन्त्यमा उद्योग दर्ता गर्दा लेखापरीक्षण एक वर्षकै गर्नुपर्ने लगायतको झन्झट नहोस् भन्नका लागि यस बेला उद्योग खोल्नको लागि जानकारी माग्न आउने र नयाँ आर्थिक वर्ष लागेपछि उद्योग दर्ता हुने गरेको ज्ञवाली भन्छन् । 

ऊर्जामूलक क्षेत्रको उद्योग १३ वटा दर्ता भएको छ । सबैभन्दा बढी लगानी पनि यही उद्योगमा छ । ७ अर्ब ४३ करोड २८ लाख बराबरका उद्योग दर्ता भएका छन् । उत्पादनमूलक उद्योगमा ९ करोड २३ लाखको ६ वटा उद्योग दर्ता भएका छन् । यस्तै पर्यटनमूलक सातवटा उद्योगमा ८ करोड ८७ लाख रुपैयाँको उद्योग दर्ता भएको केन्द्रले जनाएको छ । 
लगानी  प्रवद्र्धन र कानुनी सहजीकरणका लागि जेठ १ गतेबाट एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएको हो । यसमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण,  भिसा सहजीकरण, पूर्वाधार, जन प्रशासन, भन्सार राजस्व, प्रशासन तथा कानुन एकाइ रहेका छन् ।

उद्योग विभागको मातहतको यस इकाइमा ६ अर्ब रुपैयाँसम्मको विदेशी लगानीसम्बन्धी सबै प्रक्रिया पूरा गर्न सकिन्छ भने स्वदेशी लगानीका उद्योगसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ । 

११ महिनामा २६ अर्बको उद्योग आए, ऊर्जामा लगानी बढ्यो 
चालु आर्थिक वर्षको साउनदेखि जेठ २८ गतेसम्म २६ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो कम हो । गत वर्ष २७ अर्ब २६ करोट ६ लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएको थियो । सो बेला ३ सय ९४ उद्योग दर्ता भएका थिए । अहिले उद्योको सङ्ख्यामा वृद्धि भए पनि लगानी रकम भने कम छ । चालु आर्थिक वर्षको ११ महिनामा ४१२ वटा उद्योग दर्ता भएका छन् । यसबाट २१ हजार १ सय २४ जनामा रोजगार सिर्जना हुनेछ । ऊर्जामा मात्रै २० अर्ब २५ करोड ८८ लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएका छन् । उत्पादनमूलक उद्योग, कृषि तथा वन्यजन्तु, निर्माण, खानी, सेवामूलक लगायतका उद्योग दर्ता भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप