शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालकका पसिनामा मालिकको मस्ती

बुधबार, २९ जेठ २०७६, १० : ३८
बुधबार, २९ जेठ २०७६

काले, डल्ले, नेप्टी, पुड्की आदि नाम गरिब, श्रमिक या कम आय भएर श्रममा लादिएका मान्छेलाई रहेछ । हाकिम साब बिहानभरि कुकुरलाई सुसु गराउन र मर्निङ वाक गर्न तल्लीन छन् । घरमा काम गर्ने काली (काल्पनिक) नामकी बाह्र वर्षे बालिकाले चिया र पाउरोटीलाई प्लेटमा हालेर टेबलमा चटक्क सजाएर राखिदिनुपर्छ । दुनियाँले ठूला बिल्डिङमा गर्व गर्छन् । कालीका लागि पाँचतले बिल्डिङको भर्याङमा पोचा लगाउँदा ढाड दुख्ने रोग लागिसकेको छ । खै कसरी खुसी मान्ने ! हाकिमनी साहेबा भर्याङमा पोचा राम्ररी नलगाएको अनि आफ्नो कुर्तामा आइरन बिगारेको बहानामा कर्कस आवाजमा छुद्र गाली वर्षाइरहन्छिन् । हाकिम बालमजदुर दिवसको भाषणका लागि तयार हुँदैगर्दा कुकुरलाई राम्रोसँग मासुभात खुवाउने आदेशसहितका केही सूची कालीका हातमा थमाउँदै चिसो हात पुछ्नका लागि न्याप्किन पेपर मगाउँछन् ।

कालीले हिजोदेखि आजसम्म कति खाई, के खाई कसैलाई केही मतलब त हुँदैन ? अर्थात्, ऊ बिरामी पनि त हुन सक्छे । उसका गाउँका गरिब बाबाआमाले कसरी थाहा पाऊन् ? थाहा भएर पनि ती बबुराले कसरी सान्त्वना दिऊन् ? कालीले बेलुका सबै कामधन्दा सकेर सुत्दा रात छिप्पिएको कुराप्रति कसले सहानुभूति प्रकट गर्छन् र ? बिहान उठेर मालिकको सानो छोरालाई ब्रेकफास्ट तयार पारी टिफिनमा राखिदिन ढिलो हुन सक्ने त्रासमा घडीको सुइरोलाई ४ बजे अघिदेखि नै कालीले पटक पटक हेरिरहने आदत बसाउनै पर्यो ।

वन्दना (मालिककी ठूली छोरी–काल्पनिक नाम) आठ बजेतिर उठेर बाथरुममा स्नान गरेलगत्तै चिसो कपाल फट्कार्दै आफ्नो कोठामा भ्याकुम क्लिनरले राम्रोसँग सफा नगरेको गाली र आमाकै तहसम्म पुगेर छुद्रतापूर्ण गाली वर्षाउँछिन् । कालीलाई चुपचाप सहनुको विकल्प छैन किनकि उसका आमाबाबा गाउँको एउटा कुनामा हावाले झुप्रो उडाइदिएकाले पालमा बसेका छन् । ऊ घरमा आफू पाँच जना दिदीबहिनीमध्ये जेठी छोरी पनि त हो । ऊमुनिका साना बहिनीलाई कालीका कमाइले केही राहत देला भन्ने आशा बाआमालाई पनि हुँदो हो । तब त उसले सहनशील मूर्ति नबनेर के गरोस्, धन्न त्यतिको उत्तम काम पाएकी छे ।

सुन्दा–पढ्दा दासता र शोषणका केही कुरा आजका हुन् जस्तो लाग्दैनन् । आजको युगमा भलै हिजो जसरी र हिजो जतिको क्रूरता नहोला तर दासताले, शोषणका जघन्य कुकृत्यले सामान्य र निरीहको गला निमोठिरहेको छ । भलै यस लेखका घटना र पात्र काल्पनिक हुन् तर हाम्रा बिल्डिङहरूमा, होटलका रछ्यानमा, किचनमा, टेबल पुस्दै गर्दा, माइक्रो बसमा हामीले राम्ररी नियालिरहेकै छौँ । आज पनि छन्– नियमले बाँध्न चाहेर नबाँधेका विषय पुराना बनेनन् । ठूलाठालुलाई नमस्कार गर्यो भने कति जनाले हाम्रो नमस्कारलाई सहज र समान तरिकाले स्वीकार्छन् ? यसो एउटा हात उठायो, आफ्नै सुरमा हिँड्यो– कुलीन चालढालको हुकुमी बडप्पनको प्रतिक्रिया । हामी त एकदम विनम्रतापूर्वक छातीभरि आँट बोकेर श्रद्धापूर्वक सम्मान गर्छौं नि ।

हाम्रो सत्कारको संस्कारभरि सभ्यता छ । इमानदारिता छ तर सत्कार पाउनेमा इमानदारिता आजसम्म देख्न पाइन्न । सत्य हो– आज पनि मालिकवादी सोचको शासनले हैकम लादेकै छ । अफिसमा कर्मचारीको शासक पद्धति र शोषक सोचले सोझा र बोल्न नसक्नेले दैनिक झमेला बेहोर्छन्, हेपाइ बेहोर्छन्, चुपचाप सहन्छन्– यथार्थवाद हो । कति यौन शोषणको सिकार बन्छन् । अत्याचारको सीमा आजसम्म पुरानो बन्नै कहाँ सक्यो र !

 निरङ्कुश भनेर बुझिने राणा शासकभित्रकै एक शासक चन्द्र शमशेरले १९८१ सालमै नेपालमा दास प्रथाको अन्त्य गरे । राणा शासक हुन् तर त्यतिखेरै शोषक पद्धतिको क्रान्तिकारी कदम उठाए । उनले दासदासी बनाउन नपाइने भनेर भाषण मात्र पनि त गरेनछन् नि– सबै दासदासीलाई यसो छानो र मानोको जोहो पनि गरिदिएका रहेछन् । यहाँ कुनै सरकार वा बाहिरको पार्टी र नेताको विषय जोड्नु आवश्यक छैन । सबैजसोमा माथितिर हेर्ने सोचको संस्कार रूढि बनिसकेको छ । सोध्ने मन हुन्छ– आजका शासकमा राजा रजौटा प्रवृत्ति छैन त ?

 उच्च तहका कैयौँ कर्मचारीमा अहम्भावले जकडेकैले साना मान्छेको नमस्कारलाई तिरस्कार गरिन्छ । आफ्नो घरमा काम गर्न राखेका नोकरलाई कुकुरलाई जति पनि माया नगर्ने शासक वर्गले शोषित वर्गलाई दमन गरेका घटना हामीले नियाल्न सक्दैनौँ र ? मानवीय क्रूरता हिजो जसरी नदेखिएर शैली बदलिएको हुन्छ । काम गर्ने कमारोले ‘सर हजुर’ नभनेर ठूलो बोलेर बाँकी जीवन र परिवार धान्ने उपाय कसरी खोज्ने ! सरहका घरबेटीलाई कोठा भाडामा बस्नेले पैसा तिरे पनि दुई जना पाहुना आएका दिन डराउँदै फकाउनुपर्छ । निस्केर जा– भने भने त तत्कालै चाहेर पनि कोठा पाएनन्, त्यसमा पनि एउटा कोठा दिँदैनन् ।

संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको जुन ४ लाई संसारभरि ‘निर्दोष बालबालिका माथिको अत्याचार विरुद्ध दिवस’का रूपमा मनाउन आग्रह गरेको छ । मे १ मा मजदुर दिवसको मनायौँ । बाल दिवस पनि मनाउँदै आएकै छौँ । दिवस मनाउनका लागि भन्दा समाज बनाउनका लागि हुनुपर्छ । नेताले हैन नीतिले देश चल्नुपर्छ । यस्ता विषय नेता र पार्टीका आधारमा होइन आवश्यकता र मानवीय संवेदनाका आधारमा सञ्चालित हुनुपर्छ ।

सोचनीय पक्ष हो– आज बालक शारीरिक, मानसिक, भावनात्मक एवम् संवेगात्मक कुनै पनि कोणमा दबिन्छ । मालिकले नोकरशाही दमन लाद्छ । घरमा काम गर्न सक्ने कर्मचारी छन् भने तिनका बालबच्चाले अभिभावकत्वबाट वञ्चित हुन अभ्यस्त बन्नुपर्छ । एउटा वर्गले जानेर दमन गर्छ, अर्को वर्गले जानेर वा नजान्दै बाध्यताले दमन गर्छ । तर समस्या राज्यको हो, समाधान भेट्टाएर पनि हुँदैन– अपनाउन गाह्रो हुन्छ । आज जागरणका ठूला गफ गर्नेहरूले गिट्टी कुटिरहेको, चालीसौँ केजीको भारी बोकिरहेका अबोध बालकको कलिलो अवस्थाको दृश्यलाई कुन आँखाले हेर्छ ?

राजधानीको मुटु भनिने क्षेत्रमा पुगेर नियालौँ– गाडीको ढोकामा झुन्डिएर चिच्चाइरहेको बालकले टाइसुटमा सजिएका व्यक्तिलाई ससम्मान सिटमा राख्न चाहन्छ । हुन सक्छ, उनी बालहिंसाविरुद्ध नारा लगाइरहने मध्येकै नाइके हुँदा हुन् । मात्र– यतिमै सीमित हो । लेखाइपढाइ गर्नुपर्ने बालकले मजदुरी गरिरहँदा कानुनका पानाभरि सजायलाई सिफारिस गरेर राखिन्छन् । बर्सेनि अद्यावधिक हुन्छ । समयसँगै दासताको बल्छी बदलिरहन्छ । सामाजिक अभियन्ताका आँखामा गान्धारी पट्टी कसरी बाँधिइरहन्छ– सायद तिनको पनि बाध्यता हुँदो हो भनौँ ।

राज्यले दमन नगर भन्छ तर विकल्प र सुरक्षाको पाटोलाई बिर्सन्छ । भएको जागिर खुस्केपछिका दिन सहज हुनुपर्छ भन्ने विषय किन पर्दा पछाडि हुन्छ ? राज्यको आँखामा पर्न सकेसकेनन्, गरिबीले दबिएरै बस्न विवस पारिरह्यो । यता राज्यले कोटालाई समावेशी बनायो तर गरिबीको कोटा कहाँनेर चुक्यो थाहै भएन । यो आजको कोटा पद्धतिभित्रको सीमा रहेछ । समयले कोल्टो फेरिरहन्छ । व्यवस्थाको नाम फेरिन्छ, शैली उस्तै ।

समय दगुरिरहन्छ, राजधानीभित्रैका गरिबका दशादेखि गाउँसम्मका वेदना कहालीलाग्दा लाग्छन् । गरिबीले नै दुर्घटनालाई एकातर्पm मलजल गराउँदो रहेछ भने अर्कातर्पm आजको पछौटेपनको बाह्य आकर्षणले समाज अस्तव्यस्त छ । समाज हिंसा र प्रतिहिंसामा जकडिएकै छ । घरका छततिर पीडा भोगिरहेका र गाउँका पाखामा रोइरहेका बालबालिकालाई अधिकार माग्ने र तिनका आफन्तलाई बाँच्न पाउने हक खोज्न सिकाउने ज्ञान नै पनि छ नहोला ।

अर्को पक्ष बाबाले अर्की ल्याउने झोँकमा बच्चा र परिवारलाई पीडा दिइरहेका हुन्छन् । उजुरी हालौँ भने कमसेकम परिवार नभाँडियोस् भन्ने चाहना हुन्छ । बाध्यताले दमन बिहोर्छ– स्कुलमा गृहकार्य नबुझाउने विद्यार्थी त्यो घरको बालबालिकामध्येकै हुन्छ । विसङ्गतिका पोका खोतल्दा आजको समाजमा बालबच्चाले आमाकै कारणले समेत अन्यायको पराकाष्टा बेहोर्नुपरेका दर्दनाक समाचार सुन्नुपरेको छ । आमाबाबाविहीन अरू कसैको साथमा लाचार भएर, हेपिएर बाँच्न विवस बन्नुपरिरहेको दृश्य पनि कम दयनीय कहाँ हुन्छ । बाबाआमा जीवित भएर पनि एकमुष्ट माया नपाउने पीडामा बच्चा तड्पिन्छ । चाडवाडमा मन रुवाउँछ, सम्झाउँछ, सोच्छ । मात्र पीडित बन्छ ।

निर्दोष बालबालिकालाई अत्याचार गर्ने, आमाले नै आफ्नै सन्तान मार्ने, पराइसँग सम्बन्ध गाँस्ने र खोल्साखाल्सीमा बच्चा फाल्ने अनैतिकताको पराकाष्ठामा समाज विसङ्गत लाग्छ । आजको समाजमा आदर्शताहीन अनैतिकताले कुबुद्धिमय सोचलाई मस्तिष्कमा ठोसेको छ । नैतिक आचरणका ज्ञान आजभोलिका पुस्तामा सिकाउनै छोडियो । नैतिक ज्ञानलाई धर्ममा ठोक्काइयो, सत्यतालाई जबर्जस्ती घृणा गर्न सिकाइयो । नत्र मातृदेवो भवः, पितृदेवो भवः भावना आज कसरी एकाएक वृद्धाश्रमभित्र कोचिए ।

बालबच्चालाई अनाथ आश्रम या बालगृहमा छोडिए । ममताभन्दा पैसा मूल्यवान् बन्दै गर्दा बच्चाले हुर्केर बुझ्ने भएपछि कसरी आमाबाबालाई पैसाभन्दा सन्तति स्नेहलाई ग्रहण गर्नुहोस् भन्ला– पश्चिमा शैलीको अमिल्दो परम्परा ठोसिएको कुरूपता हो । बालश्रम र दमनका विरुद्ध आवाज उठाउनुपर्ने बाध्यतासँग बोध र नियमसम्मत अभियानको आवश्यकता छ । अतः बालहितका पक्षमा मानवीय संवेदनाले संवेदनशीलताको जगलाई बलियो बनाउनुपर्छ ।

लेखकलाई [email protected] मा प्रतिक्रिया पठाउन सकिन्छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’
लेखकबाट थप