बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक पानामा छाप ठोक्दा हजार पाना रातो !

खस्रा मान्छेका कुरा पनि खस्रा । म गाउँमा यस्तै खस्रा कुरा सुनेर हुर्केको । मलाई यस्तै मन पर्छ । आफ्नै पसिना उमारेर खानेहरु मनमा एउटा कुरा राखेर मुखले अर्को कुरा भन्न जान्दैनन् ।
बुधबार, २९ जेठ २०७६, ११ : ४६
बुधबार, २९ जेठ २०७६

 यसै हप्ताको कुरा हो । गाउँ गएको थिएँ । गाउँनजिकै एउटा ढिस्कामा उभिएर हेरेँ, कपाल खुइलिएको, ठाउँ ठाउँ खटिरा आएको, बुढो टाउको जस्तो देखिएको थियो गाउँ । गाउमाँ पहिलेको सोन्दर्य र हरियाली कतै थिएन । घरहरु बुढाबुढीलाई भान्छा र ओछ्यान जुटाइदिएर टामाटुमी थिए । कसैका पनि गोठमा गाइभैंसी गोरु थिएनन् । भर्‍याङ्गमुनि कोदाली कोदाला कुट्टा थिएनन् । आँगनमा हलोजुवा थिएन । गाउँभित्र ठाउँठाउँमा पसल भने झकिझकाउ देखिन्थे । डाँडा पाखाहरु मोटर बाटोले कोपरेर क्षतविक्षत थिए । त्यसैबीच ठाउँ ठाउँमा भीरपाखो लफण्ड्याउँदै तलतिर फाल हालेका पहिरोका कुरुप रुप दखिन्थे । मुलबाटो कुरेर शीतल हावा बाँडीबस्ने चौतारीहरु अव एउटै जीवित थिएनन् । पँधेरावरपरका बडे बडे आकाशचुम्बी आम्रवृक्षहरु पनि थिएनन् । कुँडारमा उभिएको सदाबहार कन्तरको रुख पनि अव त बुढो भएछ ।  आलुचा आलुबखडा र आरुका बोटहरु पनि टाक्सिएछन् । एक जना बुढीआमाले भन्नुभयो, “खाए बावु , खाए ! राजनीति गर्नेले हाम्रा छोराछोरी सवै बेचेर खाए !! घरगाउँको रमाइलो जति सवै खाए । तन्नेरीतरुनीहरु गाउँमा एउटै बाँकी छैनन् । माटो चलाउन सक्ने कोही छैन । सब बाँझो छ । छोराछोरीले विदेशबाट दानापानी पठाएसम्म हामी खाने हो । उनीहरुकै ज्यानमा कहाँ कति वेला के हुन्छ थाहा छैन ! यस्तै छ बावु, शहरतिर वृद्धाश्रम हुन्छ भन्छन् नि ! हो, गाउँ वृद्धाश्रम बनेको छ । सवै उजाड छ !”

‘उर्जाजति मोगलान भास्सिए । भ्रष्ट तस्कर र माफियाहरुले गाउँ बस्तीको बनबुट्यान पनि सबै चाटिसके । अनि उराठ लाग्दो पखेरो बाहेक गाउँमा बाँकी के पो रहने भयो र ? त्यसमा पनि असारे विकासले पहाडलाई थिलथिलो पारेको छ । पहाडमा थपक्क मिलेर बसेका ढुंगामाटोलाई जथाभावी डोजर लाएर भत्काएपछि त्यहाँ रैथाने हुने बाढी पहिरो नै त भए । नियमित डुलफिर गरिरहने त डोजर नै त भयो ।

गाउँस्तरीय हरेक जनप्रतिनिधिको घरमा डोजर छ । डोजरलाई कामको अभाव छैन । प्राकृतिक सौन्दर्य जति थिए तिनमा त डोजर लागिसके । अव कृषिका सम्भावनामाथि पनि डोजर लाग्दैछन् !’

सोच्दै हेर्दै गाउँ डुलेँ ।

गाउँमा अहिले मेरो आफ्नो घर थिएन । घरको सम्झनामात्र थियो । सम्झनामा रमाउन र गम खान मिल्छ , बास बस्न र खाना खान मिल्दैन । समय रहँदै म सदरमुकामतिर लागेँ । बाटोमा एक युवा भेटिए अमुकबहादुर । वडाअध्यक्षका भाइ । दाइको अर्को नयाँ डोजर आउँदै थियो । स्वागत र अगबानी गर्न भाइ खटिएका थिए । भाइ पनि दाइका विकासको रहलपहलले तृप्त थिए । उनले भने, “राजनीतिमा लागेका र पार्टीले पत्याएकालाई खाडी भास्सिने इच्छा छैन । गाउँमा यस्ता युवा थोरै छौं । आमदानी मनग्गे छ । दाइलाई विकास गरेरै फुर्सत छैन । म रोडाबालुवाको ठेक्का गर्छु ।  मलाई पनि खाडी भस्सिने इच्छा छैन ।” यसै प्रसङ्गमा उनले एक छिन आत्मप्रशंसाका गीत गाए । म उनको नयाँ श्रोता थिएँ । गीत नसक्किँदै डोजर भेटियो । उनी डोजरसँगै फर्किए ।

खेती छैन । खेतीका लागि गाउँबेसी गर्ने चलन पनि छैन । घरैनिर बैंक पुगेको छ । बुढा आमाबालाई छोराछोरीले पठाइदिएको खर्चपर्च त्यहीँ पुग्छ । न बेसीकाले गाउँ उक्लनु पर्छ न गाउँकाले बेसी झर्नु पर्छ ।

मानिसको ओहोरदोहोर भइरहने मुलबाटो अव मुल सडक बनेको थियो । बेला बेला मोटरबाइक र मोटर हुइँकिन्थे । मानिसहरु त्यति भेटिन्थेनन् । खेती छैन । खेतीका लागि गाउँबेसी गर्ने चलन पनि छैन । घरैनिर बैंक पुगेको छ । बुढा आमाबालाई छोराछोरीले पठाइदिएको खर्चपर्च त्यहीँ पुग्छ । न बेसीकाले गाउँ उक्लनु पर्छ न गाउँकाले बेसी झर्नु पर्छ । त्यसमा पनि हुनेखाने जति सवै बेसी झरेका थिए । अव गाउँबेसी भन्ने चलन नै हराउँदै थियो । एक किसिमले  गाउँको रीतिस्थिति नै बदलिएको थियो ।

बेसी पुगेपछि मैले पनि बस भेटेँ । सदरमुकामतिर लागेँ । बस टाढैबाट आएको थियो । यात्रीहरु कोेचाकोच थिए । धेरैजसो बाटो कच्ची थियो । उबडखाबड थियो । बस छिनछिनमा भ्यागुतोको शैलीमा उफ्रन्थ्यो । यो पनि विकासको एउटा मोडेल हो क्यार ।

सदरमुकाममा ओर्लेँ । कार्यालय परिसरतिर लागेँ । कर्मचारी सबैका गाला राता थिए । चिनेकालाई सोधेँ, “किन ? के भयो ?” “त्यो इटहरीको मेयर द्वारिकाले हामीजस्तै कर्मचारीको गाला चड्कायो । हामी पनि रन्थनिएकाछौं । अव हामीलाई जसले जतिखेर पनि चड्कन दिन सक्छ । अव पव्लिकको पनि भरै भएन नि हैन र ? हाकिम सापहरु कसैको पनि काम गर्ने मुड छैन !”

सिडिओ अफिसनिर एक जना वयोवृद्ध काका भेटिनुभयो । “भ्रष्टाचारले त मुलुक खायो बावु, तिमी यता कहिले आयौ ? एः साँच्चि कहाँको एकजना मेयरले भ्रष्टाचारीको गाला चड्कायो भन्छन् नि ! जताजाउँ त्यसैको चर्चा छ । बहादुर रहेछ मेयर । जनताको सच्चा प्रतिनिधि त त्यस्तो हुनुपर्छ । आफु घुस नखाने  । अरुले घुस खाए चड्कन दिने । काँक्रो चेरलाई मुड्कीको शास्ती !”

परिसरबाट सडकमा निस्केको मात्र थिएँ साथीका छोरा भेटिए । उनी सदरमुकामकै क्याम्पस पढ्थे । हतारमा देखिन्थे । “नमस्कार काका, कहिले आउनुभयो कुन्नि ? हामी त भोलि एउटा गोष्टी गर्ने तैयारीमा दगुरेका छौं । इटहरीका मेयर द्वारिका चौधरीले ऐतिहासिक महत्वको महान् काम गर्नुभएछ । भ्रष्टलाई यसरी नै त चड्काउनु पर्छ । हामी वहाँलाई अभिनन्दन गर्ने तैयारीमा छौं !

कुनै पनि अत्याचार सुन्नेको सहनशीलता र बेहोर्नेको सहनशीलतामा फरक हुन्छ । सुन्ने सहनशीलताको निरर्थक गीत गाएर सरकारले भ्रष्टहरुलाई छाडा छाडिदिएपछि दुःख बेहोरेर आजित भएको जनता कार्बाही गर्न आफै पनि बाध्य हुन्छ । कानून हातमा लिएर राजनेता र कर्मचारीले भ्रष्टाचार गर्न मिल्ने, सार्वभौम जनता वा जनताका सच्चा प्रतिनिधिले कार्बाही गर्न नमिल्ने यस्तो पनि हुन्छ ? हामी यस सेरोफेरोका जनपक्षीय बुद्धिजीवीहरु जुटाएर व्यापक छलफल गर्दैछौं । काका पनि फुर्सत मिलाएर पस्नुस् न यही वहुमुखी क्याम्पस हो ।” विद्यार्थी युवाले एएटा निमन्त्रणापत्र मलाई पनि थमाए ।

एक जना अलि दुब्ला किसानले ठङ्कारो आवाजमा भने, “हामीकहाँ पनि इटहरीका जस्तै मेयर भइदिएको भए हुन्थ्यो नि । भ्रष्टाचारी हाकिमलाई पटापट चड्कन दिन पाए मल पाइन्थ्यो कि ? मलाई त अव हाकिमलाई भेटेँ भने आफै लबटो उठाएर चड्काइदिउँ कि जस्तो लाग्या छ । जे पर्ला पर्ला !”

बजारतिर अगाडि बढ्दैथिएँ, मल खोज्न आएका र नपाएर दिक्क बनेका किसानहरु भेटिए । सदरमुकाम वरिपरिका किसानहरु नगदेबाली लाउँछन् । त्यसको आफ्नै बजार छ । एक जना किसानले भने, “आजसमेत तीन पटक धाइयो । मल छैन । मल भित्रभित्रै गायव । हैन के गर्न खोज्याहुन् यी कर्मचारीहरुले ?” अर्का एक जना अलि दुब्ला किसानले ठङ्कारो आवाजमा भने, “हामीकहाँ पनि इटहरीका जस्तै मेयर भइदिएको भए हुन्थ्यो नि । भ्रष्टाचारी हाकिमलाई पटापट चड्कन दिन पाए मल पाइन्थ्यो कि ? मलाई त अव हाकिमलाई भेटेँ भने आफै लबटो उठाएर चड्काइदिउँ कि जस्तो लाग्या छ । जे पर्ला पर्ला !”

 “चड्कन दिउँ कि दिउँ कि लाग्नेले कहिल्यै दिँदैन । दिनै सक्दैन । चड्कन दिन त द्वारिका चौधरीको जस्तो साहस चाहिन्छ । बहादूर जन्म्या रैछ !” अर्का किसानले भने ।  “भोलि एक पटक आउँ । हो, केही नलागेपछि अव हामी पनि अव लबटो उध्याउने हो । सवैलाई चिनिसकियो । स्साला धमिराहरु ! भोलि पनि पाइएन भने देखाजाला !!” किसानमध्येका तन्नेरीको भनाइ थियो ।

खस्रा मान्छेका कुरा पनि खस्रा । म गाउँमा यस्तै खस्रा कुरा सुनेर हुर्केको । मलाई यस्तै मन पर्छ । आफ्नै पसिना उमारेर खानेहरु मनमा एउटा कुरा राखेर मुखले अर्को कुरा भन्न जान्दैनन् ।

आज यसरी सदरमुकाम घुम्दै र भेटिएकाहरुको कुरा सुन्दैमा साँझ पर्‍यो । परिचित  एउटा लजमा छिरेँ । त्यहाँको डायनिङ्हलमा पनि द्वारिका चौधरीकै चर्चा थियो । सबैका मुखमा द्वारिका । चिल्ला गाला जति रिस गर्ने । फुस्रा गाला जति अभिनन्दन गर्ने । गालाकै वर्गसङ्घर्ष । राष्ट्रिय मिडियाका पत्रकार एक जना पनि आइपुगे त्यसै लजमा । साथमा दुई जना स्थानीय पत्रकार पनि थिए । राष्ट्रियवालाले भने, “हेर्नुस्, पत्रकारलाई पनि धम्की दिनु अति भएन त ? नाकको डाँडी भाँच्न एक करोड छुट्ट्याएको छु भन्छ बा ! यस्तो भएपछि पत्रकारिता कसरी गर्ने ?”

एक जना फुस्रा गालाले प्रतिक्रिया दिँदै भने, “मेयरले भ्रष्ट कर्मचारीको गाला चड्काएपछि पत्रकारहरु सोध्न पुगे । ‘किन चड्काएको गाला ?’ मेयरलाई सोधे । ठिकै छ । ‘कानुन हातमा लिएर यसरी भ्रष्ट कर्मचारीको गाला चड्काउन पाइँदैन’ भने । त्यो पनि ठिक्कै छ । पत्रकारले त्यो चड्कन खाने भ्रष्ट कर्मचारीलाईचाहिँ किन केही सोधेनन् ? ‘भटाभट भ्रष्टाचार गर्नपाउँदा कस्तो लाग्थ्यो ? चड्कन खाँदा कस्तो लाग्यो ?’ कर्मचारीलाई पनि सोध्न सकिन्थ्यो नि । ‘कानून हातमा लिएर भ्रष्टाचार किन गरेको ?’ कर्मचारीलाई पनि सोध्न सकिन्थ्यो । कसैले सोधेको सुनिएन !”

चिल्ला गालाहरु बलात् हाँसे । हाँस्नु ठट्टा ठानेरै होला फुस्रा गाला पनि हाँसे ।

भोलिपल्ट शुक्रबार थियो । गर्मीमा यतातिरको विद्यालय बिहान चल्थ्यो । सदरमुकामका विद्यालयमा पढाउने शिक्षकहरु मेरा पुराना साथी पनि थिए । आएका बेला भेटेर जाउँ भन्ने लाग्यो । बिहानी भ्रमणकै सिलसिलामा विद्यालय परिसर पुगेँ । गेटभित्र छिरेँ ।

विद्यार्थीहरुको अतिरिक्त कार्यक्रम चल्दै रहेछ । अभिवादन आदानप्रदानपछि सिट पाएँ, बसेँ । ७ र ८ कक्षाबीच गाउँखाने कथा प्रतियोता रहेछ । अरु कक्षाका विद्यार्थी श्रोतादीर्घामा थिए । विद्यार्थी सङ्ख्या धेरै । कार्यक्रममा लाउडस्पीकर पनि थियो । कार्यक्रम चल्दै गयो । विद्यार्थीहरुको प्रस्तुति रसदार थियो । आपसमा आक्कलझुक्कल कुरा गर्दै र सुन्दै थियौँ । एक जना विद्यार्थीको एउटा गाउँखाने कथाले हामी सवैको ध्यान तान्यो । यो कहिल्यै नसुनेको नौलो थियो ।

“एक पानामा छाप ठोक्दा हजार पानामा रातो, के हो ?”

मधुरो आवाजमा प्रधान अध्यापकले भन्नुभयो, “कार्यालयमा बसेर कति चिठी पत्रमा छाप ठोकियो । लेटर प्याडकै अगाडिका पानामा छाप ठोकियों । एक पानामा छाप ठोक्दा हजार पानामा रातो कसरी लाग्छ ?

मधुरो आवाजमा प्रधान अध्यापकले भन्नुभयो, “कार्यालयमा बसेर कति चिठी पत्रमा छाप ठोकियो । लेटर प्याडकै अगाडिका पानामा छाप ठोकियों । एक पानामा छाप ठोक्दा हजार पानामा रातो कसरी लाग्छ ? यसको लाक्षणिक अर्थ के हुन सक्ला ?” अलमलमा हामीले आपसमा मुखामुख गर्‍यौं ।

विद्यार्थीहरुले कथाको गाँठो फुकाउन धम्यौल गरे । सकेनन् । अनि ‘ पास् !’ भनियो । हामी ध्याननिष्ठ भएर सुन्दै थियौं ।

प्रश्नकर्ता विद्यार्थीले औपचारिक गाथागायनपछि गाँठो खोल्ने क्रममा भने, “इटहरीका मेयर द्वारिका चौधरीको चड्कन ! उनले एक जना भ्रष्ट कर्मचारीका गालामा ठोकेको चड्कन– छापले मुलुकका हजारौं हजार भ्रष्ट कर्मचारीका गाला राता भए । हो कि होइन ?”

“हो !” भन्दै विद्यार्थीले बोधको ताली पड्काए । विद्यालय प्रधानाध्यापकले आफ्ना विद्यार्थीको प्रतिभाप्रति मक्ख परेको अनुहारले भने “कुरा त हो नि !”

हेर्दाहेर्दै छिनभरमा तिनै प्रधान अध्यापकका गाला पनि राता भए । शायद ती पनि खस्रागाला वर्गका थिएनन् ।

२६ जेठ ०७६, काठमाडौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप