शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रकाश सपुतको गलबन्दीका ‘भ्युअर्स’ करोड नाघे

बुधबार, २९ जेठ २०७६, २३ : १६
बुधबार, २९ जेठ २०७६

बागलुङ-सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । 

यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गीत अहिले ‘टे«न्डिङ’ नं ६ मा छ । कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो ।

गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । सो गीतको छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको थियो ।

सपुतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं एकमा आएको थियो । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’ को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए । “बोलमायामा पनि स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ थियो । उक्त गीतको भिडियोमा पनि सपुत र अञ्जली अधिकारीको अभिनय छ ।”

परम्परागत रोधीको झल्को दिने गरी गलबन्दी बनाएको सपुतले बताउनुभयो । गीतबाट सपुतको बहुप्रतिभा उजागर भएको छ । मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाइरहेका छन् ।

म्युजिक भिडिओको कथा, सोच र निर्माणपक्ष समेतले गीतलाई न्याय गरेको छ । लोकदोहोरीमा मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । “विशुद्ध मनोरञ्जनका लागि बनाइएको गीत हो”, सपुतले भन्नुभयो, “भिडियोमा मौलिकपन दिने प्रयास गरेको छु ।”

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट संवाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लजालु युवतीका रुपमा म्युजिक भिडियोमा देखा पर्छन् ।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसाबले पनि सपुत सफल देखिएका छन्  । गीतको भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन ।

भाका नेपाल प्रालिद्वारा निर्मित गीतको भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्तजनको अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बन्नुभएका सपुतले सामाजिक मुद्दालाई पनि सिर्जनामार्फत मुखरित गर्दै आएका छन् ।

गतवर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । पछिल्लो समय मौलिक लोक तथा दोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । 

गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ हालसम्म चार करोड ५६ लाख भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप