शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेटपछि प्रदेश २ मा होला सरकार हेरफेर ?

बिहीबार, ३० जेठ २०७६, १५ : ५४
बिहीबार, ३० जेठ २०७६

काठमाडौँ । प्रदेश २ मा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकपटक पुनः चर्चामा आएको छ । पार्टीकै प्रदेश सांसदले मन्त्रीहरुको आलोचनासहित नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेपछि मन्त्रीको कार्यशैलीमाथि मात्र प्रश्न उठेको छैन, सरकारमा फेरबदलसम्मको चर्चा चल्न थालेको छ ।

राजपा नेपालका एकजना महासचिव भन्छन्, ‘प्रदेश २ मा रहनुभएका मन्त्रीहरुको बारेमा पार्टीमा शुरुदखि नै आलोचनाहरु भइरहेका थिए । बीचमा सुध्रिने मौका पनि दिएको थियो तर अहिले नीति तथा कार्यक्रममा उहाँहरु निकै आलोचित बन्नुभयो ।’

प्रदेश २ को बजेट आइसकेपछि पार्टीमा मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ । नीति तथा कार्यक्रम ल्याउँदा मन्त्रीहरु व्यक्तिमुखी देखिएको तथा मधेश आन्दोलनको भावनाविपरित गएको आरोप सोही दलका प्रदेशसभाका सांसदहरुले लगाएका छन् ।

कार्यक्रमहरु आफ्नै क्षेत्रमा र आफ्नै गाउँ ठाउँमा मात्र लागेको आरोप उनीहरुमाथि लाग्दै आएको छ । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पार्टीमा रहेका अरु सांसद तथा नेताहरुलाई वेवास्ता गरेको पनि आरोप उनीहरुमाथि छ । ‘सत्तापक्षकै पाँचजना प्रदेशसभा सांसदले नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गरेपछि पार्टीका मन्त्रीहरु कति आलोचित छन् भने कुरा पुष्टि हुन्छ,’ ती महासचिव भन्छन् ।


‘दोष मन्त्रीहरुमा नै देखिएको छ,’ अध्यक्षमण्डलका एकजना सदस्यले भने, ‘नीति ताथ कार्यक्रमपछि आउने बजेट पारित भइसकेपछि प्रदेश २ का मन्त्रीहरुको बारेमा पुनः छलफल गरि केही निर्णय लिन्छौँ ।’


 

संशोधन दर्ता गरिएकोमा दुई जना सांसदले शुरुमै संशोधन फिर्ता लिए पनि बिक्की यादव, डा. रिना यादव र नेत्र विक्रमचन्द साहले फिर्ता लिन मानेनन् । उनीहरुले फिर्ता लिन नमानेपछि सिङ्गै अध्यक्षमण्डल जनकपुर पुगेको थियो । अध्यक्षमण्डलको बैठक त्यही बस्यो । र, सांसद तथा मन्त्रीहरुको कुरा सुन्ने काम भयो ।

‘दोष मन्त्रीहरुमा नै देखिएको छ,’ अध्यक्षमण्डलका एकजना सदस्यले भने, ‘नीति ताथ कार्यक्रमपछि आउने बजेट पारित भइसकेपछि प्रदेश २ का मन्त्रीहरुको बारेमा पुनः छलफल गरि केही निर्णय लिन्छौँ ।’

यता, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले सरकार, बजेट लगायतका विषयमा छलफल भएको र सबै क्षेत्रलाई मिलाएर लग्न पार्टीले निर्देशन दिएको बताए । उनी भन्छन्, ‘मन्त्री नै हटाउने खालको निर्णय त नहोला तर कम्तिमा सचेत गराउने काम हुन्छ ।’ प्रदेशमा मन्त्रीहरुलाई पनि काम गर्न निकै समस्या रहेको बताउँदै उनले कानुन र कर्मचारीको अभावका कारण मन्त्रीहरुले सोचेको जस्तो काम गर्न नसकेको बताए ।

प्रदेशसभा सांसद बिक्की यादवले भन्छन्, ‘मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा देखिएका त्रुटीलाई बजेटमार्फत् सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । नीति तथा कार्यक्रम जस्तो त्रुटी बजेटमा हुँदैन भनि प्रतिबद्धता जनाएपछि हामीले संशोधन फिर्ता लिएका हौँ ।’ पार्टीका शीर्ष नेताहरुले पनि पार्टीभित्र देखिएका आन्तरिक समस्यालाई अध्यक्षमण्डलको बैठक बसेर सुल्झाउने आश्वासन दिएको कारण संशोधन फिर्ता लिएको बताए ।

समाजवादी पार्टी, नेपाल नेतृत्वको सरकारलाई राजपा नेपालले सघाएको छ । सरकारमा राजपा नेपालको तर्फबाट तीनजना मन्त्री र तीनजना राज्यमन्त्री रहेका छन् ।

जितेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री, रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, नवलकिशोर साह सामाजिक विकास मन्त्री रहेका छन् । त्यस्तै, डा. डिम्पल झा भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सुरेशकुमार मण्डल उद्योग, पर्यटन, वन तथा वतावण राज्यमन्त्री र अभिराम शर्मा समाजिक विकास राज्यमन्त्री रहेका छन् ।

यी मन्त्रीहरुमध्ये सबैभन्दा बढी आलोचना रामनरेश राय यादव र नवलकिशोर साहको हुने गरेका छन् । यता, जीतेन्द्र सोनल कम आलोचित भए पनि पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेको र संसदीय दलको नेता भएको नाताले मन्त्रीहरुले काम गर्न नसकेको जिम्मेवारी उनले पनि लिनुपर्ने कुराहरु उठेका छन् ।

प्रदेश २ ले चालु आर्थिक वर्षमा न्यून बजेट खर्च गरेको छ । कर्णाली प्रदेशपछि सबैभन्दा कम काम गरेको दुई नम्बर प्रदेश नै हो । प्रदेश २ ले १५ अर्ब २१ करोड बजेट पाएकोमध्ये २ अर्ब ४५ करोड मात्र खर्च गर्न सकेको छ । समग्र सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप