बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को स्थायी राजधानी र नाम शिफारिस गर्न गठित विशेष समितिको म्याद फेरि थपियो

बिहीबार, ३० जेठ २०७६, १८ : ४१
बिहीबार, ३० जेठ २०७६

बुटवल– प्रदेश नम्बर ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समितिको म्याद फेरि थपेको छ । आज बसेको बैठकले विशेष समितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।

प्रदेशको स्थायी राजधानी र नाम सिफारस गर्न गठन भएको विशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव संकलन गरिसकेको छ । आजको बैठकबाट म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । यसअघि पनि समितिको म्याद २ पटक ३–३ महिना थप गरिएको थियो ।

विशेष समितिका सभापति दिपेन्द्रकुमार पुन मगरले विज्ञहरुको राय लिएर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिनु उपयुक्त हुने भएकाले समितिको बैठकले म्याद थप गर्न गर्ने निर्णय गरेको बताए ।
सभापति मगरका अनुसार समितिले त्रिभुवन विश्वविद्यालयका भूगोल, मौसम, वातावरणविदहरुसँग राय लिन शुरु गरेकोे छ । त्यस्तै सांस्कृतिक तथा सुरक्षाविदहरुसँग राय लिन बाँकी रहेको र उनीहरुसँग पनि राय लिइने उनले बताए ।

विज्ञहरुलाई जिल्ला–जिल्लाबाट आएका सुझावहरुका आधारमा राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तु र कोहलपुरका बारेमा अध्ययन गर्न अनुरोध गरिने बताइएको छ ।  नामका सवालमा लुम्बिनी प्रदेशका पक्षमा अत्याधिक धेरैले सुझाव राखेको तथा सुझावमा बुद्ध प्रदेश, बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरु पनि आएका थिए ।

नामका बारेमा पनि विज्ञहरुसँग राय लिने बताइएको छ । विज्ञहरुले दिने सुझावहरु र जिल्ला जिल्लाबाट आएका सुझावको विश्लेषण गरेर विशेष समितिले राजधानी र नामका लागि सिफारिश सहितको प्रतिवेदन तयार पार्ने र सो काम आगामी ६ महिना भित्रैमा पूरा गरिने समितिका सभापति पुन मगरले बताए ।

संविधानको धारा २८८ मा भएको व्यवस्था अनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप