कविता : यात्रा
-साकारबाबु सुवेदी
औँसी पस्किएर कसैलाई
म उज्यालो खोज्न हिँडेँ
रातमा ताराहरू
बादलभित्र पसेछन्
अप्ठ्यारा रातहरूमा
आँखा बन्द गरी हिँडेँ
आफैलाई झुक्याउँदै
नाङ्गा पाउहरू ठोक्काउँदै
म रातको उज्यालोमा
अन्धकारसँग हिँडेँ ।
म काँचो लालसाभित्र
दिशाविहीन यात्रामा
परिपक्वता खोज्न हिँडेँ ।
असङ्ख्य जुनकिरीहरूको संसारमा
एक आशादीप खोज्न हिँडेँ
म फिरन्ते जोगीको भेषमा
स्थायित्व खोज्न हिँडेँ
दिशाविहीन यात्रामा
म उद्देश्य बोधका लागि हिँडेँ
चिर निन्द्रामा कसैलाई
कालो कम्बलले छोपेर
म नाङ्गो शरीरले हिँडेँ
रात साह्रै चिसो भएछ
म दिनको खोजीमा हिँडेँ
आफैलाई सम्झाउँदै
नङ्गा पाउहरू बचाउँदै
म रातको उज्यालोमा
अन्धकारसँग हिँडेँ
म मोटो मस्तिष्कभित्र
अन्त्यहीन जीवन पथमा
यथार्थको खोजीमा हिँडेँ
मेघै मेघको संसारमा
बिजुलीको चमक खोज्न हिँडेँ
म मरुस्थलको मृगको भेषमा
तलाउ खोज्न हिँडेँ ।
दिशाविहीन यात्रामा
म परिपक्वता खोज्न हिँडेँ
प्रचण्ड गर्मीमा कसैलाई
अश्रुधाराले नुहाई
म सुक्खा बगरमा हिडेँ
रात साह्रै नै छिप्पिइसकेछ
म आँखा बन्द गरेर हिँडेँ
आफैलाई डोहोर्याउँदै
नाङ्गा पाउहरूलाई बिसाउँदै
म रातको उज्यालोमा
अन्धकारसँग हिँडेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ