शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा अस्पतालमा बिरामीको चाप धान्ने जनशक्ति छैन

आइतबार, ०१ असार २०७६, १४ : ०२
आइतबार, ०१ असार २०७६

उमा केसी 
रोल्पा– सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ । 

सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।  ‘घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगे । त्यसपछि करीब १८ मिनेट अटोरिक्सामा चढी अस्पताल पुगियो । नाम लेख्नेको लाइन लामो थियो । नाम लेख्ने मान्छे पनि नभएकाले अस्पतालकै गाडी चालकले नाम लेख्दै थिए । धेरै समय लाइनमा बसेँ, अनि बल्लतल्ल नाम लेखाएँ’, एक महिना पहिले खुट्टा भाँच्चिएकी एक महिलाको पीडा हो यो । ‘अस्पताल आएको करीब आठ घण्टापछि मात्र कार्यालय सहयोगीले प्लास्टर खोलिदिए’, रोल्पा नगरपालिका– १० धबाङ भुमकी मनकुमारी वलीले भनिन् ।  । 

नुहाउने क्रममा दुवै कानमा पानी पसेर सुन्न नसक्ने भएपछि रोल्पा नगरपालिका–५ घापाकी रामपुरा पुन जिल्ला अस्पताल रेउघामा आइन् । कानको ड्रेसिङ गर्नका लागि उनी बिहान ११ बजेदेखि लाइनमा बसिन् । कानको ड्रेसिङ गर्ने चिकित्सकको अभावमा दिउँसो ३ बजे मात्र ड्रेसिङ गरिदिएको उनले बताईन् ।  

पछिल्लो समयमा जिल्ला अस्पताल रोल्पामा बिरामीको चाप अत्यधिक बढेको छ । तर दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् । ‘अस्पतालमा जनशक्ति अभाव छ, बिरामीले रोगको उपचार पाउन सकेका छैनन्,’ अस्पतालका निमित्त प्रमुख डा.धनमाया घर्तीले भनिन्, ‘रोल्पाको जिल्ला अस्पतालमा लामो समयदेखि यो स्थायी समस्याजस्तै भएको छ ।’ दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण नहुँदा बिरामीलाई अन्यन्त्र जान सिफारिस गर्न बाध्य रहेको घर्तीले बताइन् । 

दैनिक १०० भन्दा बढी बिरामी सेवा लिन आउने यो अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा पर्ने गरेको डा.घर्तीले बताइन् । जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना हुँदा होस् वा स्थानीय सरकारले आयोजना गरेको शिविर नै किन नहोस्, त्यसका लागि यो अस्पतालबाट चिकित्सक पठाउनुपर्ने हुन्छ । कहिलेकाहीँ अस्पतालमा एक मात्र चिकित्सकले सेवा दिनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनको भनाइ छ । 

योसँगै अस्पतालमा कार्यरत चिकित्सक अध्ययन तथा घरबिदामा बस्दा बिरामीको नाम दर्ता, रसिद काट्ने, नाम वाचन, औषधि वितरणसमेत चिकित्सक आफैँले गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल रोल्पाका मेडिकल अधिकृत डा.प्रकाशबहादुर बुढाले बताए । 

हिजोआज झाडापखला, भाइरल ज्वरो, रुघाखोकीका बिरामीको चाप अत्यधिक रहेकाले पनि चिकित्सकको अभावमा अन्य बिरामीको उपचार प्रभावित हुने गरेको चिकित्सकको भनाइ छ । 
अस्पताल आफैं बिरामी
जिल्लाको १५ शय्याको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् । लामो समयदेखि अस्पतालको व्यावस्थापन सुधार नभएपछि सेवाग्रही बिरामी अन्यत्र जाने गरेका छन् । 

अस्पतालमा गर्भवती जाँच र गम्भीर किसिमको सुत्केरीलाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्दा प्रयोगशाला र ल्याब असिस्टेन्ट कर्मचारी छैन ।  दरबन्दीअनुसारको चिकित्सक र प्राविधिक नहुनुले यो समस्या बल्झेको उनले बताए । 

अस्पतालका मेडिकल अधिकृत डा.प्रकाशबहादुर बुढाका अनुसार दुई मेडिकल अधिकृत, चार नर्स, तीन अहेव, दुई अनमी, चार स्टाफनर्स र दुई ल्याव टेक्नीसियनको दरबन्दी छ । अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारमा छन् । 

‘करारमा आउनेलाई टिक्न पनि समस्या छ,’ उनले भने, ‘आकस्मिक सेवा नपाएपछि सेवाग्रहीले चित्सिकलाई दुव्र्यवहार पनि गर्ने गर्छन् ।’ त्यस्तो अवस्थामा चिकित्सकलाई टिक्न समस्या हुन्छ । गर्भवती जाँच, सुत्केरी र शल्यक्रिया सेवा भए पनि उपकरण र जनशक्ति अभावले प्रभावकारी हुन सकेको छैन् ।

करार दरबन्दीमा रहेका चिकित्सक पनि शिविर, घर बिदा, अध्ययन बिदा, तालीम, प्रशिक्षणमा हिँड्दा अस्पतालमा बस्ने चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुको गुनासो छ । 

चिकित्सक अभावकै कारण ल्यावको रिपोर्ट दिउँसो ३ बजे पछाडि मात्र निकाल्नुपर्ने बाध्यता छ, जसले गर्दा बिरामी लामो  समय कुर्नुपर्ने हुन्छ । हाल १५ श्ययाको जिल्ला अस्पतालमा बिरामीको चापअनुसार दरबन्दी सिर्जना नहुँदा बिरामीले कुर्नुपर्ने बाध्यता र चिकित्सकले हतारहतारमा सबै काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । 

पचास श्ययाको बनाउन प्रयास 
जिल्ला अस्पताल ५० श्ययाको बनाउने प्रयास गरिएको छ । तीन वर्षका लागि नयाँ भवन निमार्ण कार्य सकिसक्ने गरी सम्झौता गरिए पनि कामको गति नै अति सुस्त छ । जसले निर्धारित समयमा भवन निर्माणकार्य सकिनेमा पनि शङ्का छ । 

हाल कर्मचारी समायोजन प्रक्रियाले पनि अस्पतालमा भएका केही कर्मचारीलाई अन्यत्र सरुवा गरिदिएकाले समस्या झन् विकराल बन्न थालेको छ । अस्पतालबाट प्रभावकारी सेवाप्रवाह गर्नका लागि केन्द्रसम्म आफूहरुले पहल थाले पनि कतैबाट सुनुवाइ नभएको अस्पतालका एक चिकित्सकले बताए । 

अब भने जिल्ला अस्पताल रोल्पामा बिरामीको चापअनुसार सेवा प्रभावकारी बनाउनका लागि अस्पताल तुरुन्त ५० श्ययाको हुनुपर्ने र चिकित्सकको दरबन्दी तत्काल थप्नुपर्ने आवश्यक देखिएको छ । 
 
सरकारले सरकारी अस्पतालबाट ७२ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने घोषणा गरे पनि सेवाग्रहीले पाउन सकेका छैनन् । जिल्ला अस्पताल रोल्पामा लामो समयदेखि औषधिसमेत अभाव छ । निःशुल्क भनिएकोमध्ये मुस्किलले ३० प्रकारको औषधि उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप